ताजा अपडेट »

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: टुँडिखेलमा श्रद्धाञ्जलि

शुक्रबार, १७ फागुन २०७५, ०७ : ४६
8 Shares


मन्त्री अधिकारीको पोखरामा अन्त्येष्टि

फागुन १७ ,काठमाडौँ। ताप्लेजुङको सिस्नेभीरमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको अन्तिम श्रद्धाञ्जलि कार्यक्रम शुक्रबार बिहानका लागि तय गरिएको छ ।
प्रतिकूल मौसमका कारण ताप्लेजुङको सुकेटार विमानस्थलबाट बिहीबार १२ बजे मात्र शव लिएर काठमाडौँका लागि हेलिकप्टर उडेको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शव पोस्टमार्टममा समय लागेकाले बुधबार ३ बजेका लागि तय गरिएको श्रद्धाञ्जलि कार्यक्रम स्थगित गरी शुक्रबार बिहान ८ बजेका लागि राखिएको छ ।
दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधनमा बिहीबार देशभर राष्ट्रिय शोक मनाइको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । 
शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीका अनुसार शवलाई व्यवस्थित रूपमा नउठाइएका कारण शव परीक्षणमा जटिलता रहेको छ । शव पहिचानका लागि डाटा कलेक्सन र एनालाइसिसमा समय लाग्ने तर रातभर बसेर भए पनि शव परीक्षण सम्पन्न गरिने डा. वस्तीले जानकारी दिनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार, दुर्घटनामा निधन भएका सातै जनाको शव अपराह्न काठमाडौँ ल्याइएको र पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको थियो । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा सातै जनाको शव राखिने छ । 
अन्तिम श्रद्धाञ्जलिपछि आफन्तजनलाई शव जिम्मा लगाइने र मन्त्री अधिकारीको शवलाई पार्टीकै व्यवस्थापनमा हेलिकप्टरमार्फत् पोखरा लगिने कार्यक्रम रहेको सचिव श्रेष्ठले जानकारी दिनुभयो । 
उहाँका अनुसार, पोखराको अन्त्येष्टि कार्यक्रममा सहभागी हुन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याललगायत जानुहुने छ ।
तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनपछि पाथीभरा देवीको दर्शन गरी काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको सिस्ने भीरमा हेलिकप्टर दुर्घटना भएको थियो । 
एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

देशभर पार्टी झण्डा झुकाइने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले फागुन १६ गते देशभरका पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यसैगरी, तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने र फागुन २३ गते काठमाडौंमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ । मन्त्री अधिकारीको अन्त्येष्टी फागुन १७ गते गृहनगर पोखरामा गरिने जनाइएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हेलिकप्टर दुर्घटनामा आफ्नो संरक्षक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी को निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ । 
यस्तै, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शोक प्रस्ताव पारित गरेको छ भने नेपाल प्रज्ञा–प्रतिष्ठानले पनि मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गरेको छ । 
ताप्लेजुङ समाचारदाता चन्द्र पन्दाकका अनुसार, ताप्लेजुङको सुकेटार विमानस्थलमा बिहानदेखि नै हिमपातका कारण शव पठाउन कठिन भएको थियो । बिहीबार बिहानै पठाउने तयारी गरिएको भए पनि प्रतिकूल मौसमका कारण मध्याह्न १२ः०८ बजेपछि मात्रै मन्त्री अधिकारीसहित सात जनाको शव काठमाडौं पठाइएको थियो । 
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार, बुधबार सबै शव घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ल्याउन सकिएको थिएन । जसका कारण बिहान सबेरै शव काठमाडौं पठाउन सम्भव नभएको जनाइएको छ । शव ल्याउने कार्य गर्दागर्दै अँध्यारो भएको र घटनास्थलमा बेलुका हिमपात समेत भएका कारण उठाउन बाँकी रहेको तीनवटा शव बिहीबार बिहान ७ः४५ बजे मात्रै सुकेटारमा नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको प्रजिअ भण्डारीले जानकारी दिनुभयो ।
-दीपक श्रेष्ठ /गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।