ताजा अपडेट »

कोरिया जान फेरि मौका

शुक्रबार, १७ फागुन २०७५, ०७ : ३९
44 Shares



फागुन १७ ,काठमाडौँ। दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रूपमा काम गरेर फर्किएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुल्ने भएको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो ।
यस आवेदन दिन चाहनेले १७, १८ र १९ गतेसम्म आवेदन दिनसक्ने छन् । आवेदन दिन चाहनेहरू काठमाडौँमा रहेको ईपीएस कार्यालयमै आउनुपर्ने वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले जनाएको छ । शाखाका अनुसार चैत ११ गते उक्त परीक्षा तालिका सार्वजनिक गरिनेछ । 
ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले सीबीटी आधारित परीक्षामा सहभागी हुने व्यक्तिले नामावली नै कोरियाको मानव संसाधन विकास (एचआरडी) ले पठाउने पनि जानकारी दिनुभयो । यसका लागि कोरियामा वैधानिक भएर काम गरेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका व्यक्तिहरू कम्प्युटर परीक्षाका लागि योग्य हुन्छन् । यसमा सामेल हुन कोरियाबाट फर्किंदा ‘एलाइन्स रजिस्ट्रेसन कार्ड’ कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्ने पनि सो शाखाले जनाएको छ ।

शाखाका अनुसार सन् २०१० जनवरीदेखि वैधानिक भएर कोरियाबाट फर्किएका श्रमिक कम्प्युटर भाषा परीक्षामा सहभागी हुन पाउने छन् । यस वर्षदेखि कार्यक्षमता र फर्किएका श्रमिकको अवधि हेरेर अङ्क पाउने प्रणाली पनि लागू गरिने सो शाखाका सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरियाबाट तीन वर्ष काम गरी फर्केका ३९ वर्ष ननाघेका व्यक्ति मात्र सहभागी हुन पाउनेछन् । 
प्रत्येक दिन २८÷२८ जनाको चार सिफ्ट गरेर ११२ जनाको परीक्षा सञ्चालन हुनेभएको छ । यस परीक्षामा उत्तीर्ण हुने सबै कोरिया जान पाउनेछन् । सन् २०१८ मा तीन हजार जनाले परीक्षा दिएका थिए । यो परीक्षा उत्र्तीण गर्ने अधिकांश व्यक्ति कोरिया जान्छन् । शाखाका अनुसार सन् २०१२ देखि शुरु सीबीटीमा आधारित परीक्षा उत्र्तीण गरेर अहिलेसम्म छ हजार नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगिसकेका छन् ।

२०२० देखि सबैका लागि कम्प्युटरमा परीक्षा
वैदेशिक रोजगारका लागि कोरिया जान चाहने युवाले सन् २०२० देखि भने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) प्रणालीबाट कोरिया भाषा परीक्षा दिनुपर्नेछ । 
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जानेले कागजमा आधारित परीक्षा (पीबीटी) प्रणालीको साटो कम्प्युटरमा आधारित परीक्षा दिनुपर्ने व्यवस्था गर्न लागेको जनाएको छ । 
ईपीएस कोरिया शाखाले सन् २०२० मा ईपीएसमार्फत दक्षिण कोरिया जानेका लागि सीबीटी प्रणालीबाट भाषा परीक्षा लिने व्यवस्था गर्ने तयारी भइरहेको जनाएको छ । ईपीएसमार्फत नेपाली श्रमिक लैजाँदै आएको कोरियास्थित मानव संसाधन विकास विभाग (एचआरडी) को माग अनुसार उक्त प्रणालीमार्फत परीक्षा दिलाउने व्यवस्थाको तयारी गरिरहेको ईपीएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारी जानकारी दिनुभयो । 
उहाँले उक्त प्रणालीमार्फत परीक्षा सञ्चालनको तयारी भइरहेको र सन् २०२० मा ईपीएसमार्फत कोरिया जानेले कम्प्युटर अर्थात् सीबीटी प्रणालीमार्फत परीक्षा दिने व्यवस्थाको तयारी भइरहेको पनि जानकारी दिनुभयो । 
कम्प्युटर प्रणालीमार्फत परीक्षा सञ्चालनका लागि भवन निर्माणाधीन रहेको र सन् २०१९ जुनसम्म निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ । भवन निर्माण कार्य नेपाल सरकारले गर्नेछ भने भित्री संरचना कोरिया सरकारले गर्ने गरी सहमति भएको छ । उक्त भवन निर्माणका लागि नेपाल सरकारको करिब ११ करोड रुपियाँ लागतमा सम्पन्न हुने अनुमान गरिएको छ । 
उक्त भवनमा सीभीटीमार्फत परीक्षा सञ्चालनका लागि आवश्यक कम्प्युटर, फर्निचरलगायतका सबै संरचना र सजावटका लागि कोरिया सरकारको पनि त्यत्ति बराबरको लागत लाग्ने अनुमान गरिएको छ । -सीता शर्मा /गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।