ताजा अपडेट »

हिमपातले चौँरी व्यवसायी चिन्तित डेढ सय मरेको अनुमान

शुक्रबार, १७ फागुन २०७५, ०७ : ३१
8 Shares




फागुन १७ ,लमजुङ। अविरल हिमपातले हिमाली जिल्ला मनाङमा चौँरी मरेपछि किसान चिन्तित बनेका छन् । किसानका अनुसार मनाङमा हिमपात भएको एक महिनाभन्दा बढी भयो ।
हिमपहिरोमा परेर, हिउँले पुरिएर, रुख ढलेर र खाना नपाएर चौँरी चरण क्षेत्रमै मरेपछि किसान चिन्तित भएका हुन् । हिमपात भइरहेको ठाउँमा चौँरीको अवस्था बुझ्न नसकिएको किसान बताउँछन् । नासों ४ ओडार गाउँका सुरेश थकालीले आफ्ना ११ वटा चौँरी मरेको बताउनुभयो । उहाँले ९० वटा चौँरी पाल्नुभएको थियो ।

उहाँले भन्नुभयो, माघ १० गते रातिदेखि ठूलो हिमपात भयो । चरन क्षेत्रमा जान सकिएन । हिउँ कम भएपछि ४÷५ दिनअघि गएर चौँरी गाउँ नजिकै ल्याएको छु । उहाँका सालो दुधबहादुर गुरुङले ४५ वटा चौँरी पालेकोमा पाँचवटा मरेको र १० वटा हराएको बताउनुभयो ।
नासों गाउँपालिका ९, दानाक्युका वडअध्यक्षसमेत रहनुभएका सोनाम लामाले आफ्नो ७५ वटा चौँरीमध्ये ४५ वटा मात्रै जिउँदै रहेको बताउनुभयो । नौवटा मरेको र २१ वटा हिउँले पुरिएको बताउनुभयो । एउटा याकको एक लाख २५ हजार रुपियाँसम्म पर्छ । करिब २० लाख रुपियाँ घाटा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, बाँकी भोकै छन् । दुब्लाएर मर्न लागेका छन् । ऋणधन गरेर पालेको थिएँ । घाटा लाग्यो । 
तिल्चेका धर्मजंग गुरुङले तीन जना मिलेर ५५ वटा चौँरी पालेकोमा दुईवटा मरेको र ११ वटा बेपत्ता रहेको बताउनुभयो । नासों गाउँपालिका २, का वडा अध्यक्ष भीमबहादुर गुरुङले नाचै गाउँलेको मात्रै डोना ताल नजिकै तीन सय चौँरी रहेकोमा अहिले अत्तोपत्तो नभएको बताउनुभयो । गाउँबाट दुई दिन लाग्छ । माघे सङ्क्रान्तिमा झरेका गोठाला हिमपातका कारण जान सकेनन्, उहाँले भन्नुभयो, अब त्यो चौँरीको के आश गर्न सकिन्छ र । आर्थिक उपार्जन होला भनेर पालेको थिएँ, साह्रो नोक्सान भयो । 
तत्कालीन पशुसेवा कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार मनाङका ४ वटै गाउँपालिकामा दुई सय गोठमा तीन हजार एक सयभन्दा बढी चौँरी छन् । तल्लो भेगको नासों र चामे गाउँपालिकामा ७० भन्दा बढी चौँरी मरेको र चार सय जति सम्पर्कविहीन रहेको अगुवा किसान सुरेश थकालीले बताउनुभयो । उहाँले भन्नुभयो, सबै क्षेत्रमा गरेर डेढसय मरेको अनुमान छ । त्यत्तिकै मात्रामा हिउँले पुरिएको हुनसक्छ । 
मनाङ, ङिस्याङ र नार्पाभूमिमा हिमपातका कारण बढी मात्रामा चौँरी प्रभावित रहेको किसान बताउँछन् । मनाङ गाउँका सोनाम छिरिङ घलेले खाना नपाएकाले आफ्नो र छिमेकी छङ्दु गुरुङको गरी १२ वटा चौँरी मरेको बताउनुभयो ।

छिमेकी साथै टंकी मनाङ, भ्राका, याकखर्क, खाङ्सार, पिसाङ, ङावललगायतका स्थानीयले पालेका याकचौँंरी हिउँमा पर्नुका साथै खाना नपाएर मर्न थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, कति मरे, हराए भन्ने एकिन छैन । माथिल्लो क्षेत्रमा बढी नोक्सान भएको छ । किसानले प्राकृतिक प्रकोपका कारण मरेको भन्दै क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् तर कहाँ माग्न जाने भन्ने जानकारी उनीहरूलाई छैन । -बेलिना थापा /गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।