ताजा अपडेट »

कृषिजन्य उत्पादन ढुवानीका लागि प्रदेश ५ मा कृषि एम्बुलेन्स

शुक्रबार, ०५ बैशाख २०७७, १७ : ०३
6 Shares

बुटवल । लकडाउनका कारण कृषि तथा कृषिजन्य बस्तु ढुवानीको लागि सहज बनाउन प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कोभीड–१९ को विषम परिस्थितीमा किसानहरुले उत्पादन गरेको कृषि तथा पशुजन्य खाद्य बस्तुको आपुर्ती तथा विक्रि वितरणको लागि मन्त्रायले शुक्रबार अनलाईन पत्रकार सम्मेलन गरी अनुदानमा उपलब्ध गराएका ३४ वटा र थप मन्त्रालयका सरकारी १० वटा गरी कुल ४४ वटा पिक अप भ्यान लाई ‘कृषि एम्बुलेन्सको’ रुपमा उपलब्ध गराउने जानकारी गराएको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले उत्पादक किसान, सहकारी संस्था तथा व्यवसायीहरुलाई सहुलियत दरमा तरकारी, फलफुल, दुध, माछा, मासु तथा अन्य उपभोग्य सामग्रीको उपलब्धतालाई सहज बनाउन ४४ वटा पिक अप भ्यान परिचालन गर्न लागिएको जानकारी गराए । मन्त्रालयका सचिव तेज बहादुर सुवेदीका अनुसार किसानहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई सहज रुपमा विक्रि वितरण तथा ढुवानीका लागि वातावरण मिलाउन मन्त्रालयले यो निर्णय गरेको हो ।
यसरी व्यवस्थापन गर्न लागिएको पिकअ भ्यानको सवारी साधानको न्युनतम भाडा कृषि उद्यमी तथा कृषि सहकारीहरुले नै व्यहोर्ने छन् । गाडीको लागि आवश्यक ईन्धन कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रले व्यहोर्ने छन् । यसरी ति ज्ञान केन्द्र र पशुसेवा विज्ञ केन्द्रले आर्थिक रुपमा व्यहोर्न नसकेमा थप बजेट मन्त्रायले दिने छ ।

यस्तै मन्त्रायले कोभिड–१९ को संक्रमण रोक्नको साथै अत्यावश्यक कृषि तथा पशुजन्य खाद्यवस्तुको आपूर्ति तथा वितरण र उत्पादन सामाग्रीहरुको शुलभ आपुर्तीको सुनिश्चित गर्न र खासगरी साना किसानहरुलाइ यसको प्रभाव न्युनीकरण गर्न कृषि ज्ञान केन्द्र र भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले अगुवाइ गरी ढुवानी र वितरणको ब्यवस्था गर्न आग्रह गरेको छ ।

कोभिड १९ को प्रभाव न्युनीकरणको लागि आबश्यक समन्वय गर्न मन्त्रालयमा उपसचिव सुरेशचन्द्र आचार्य (९८५११२०४८०) लाई तोकिएको र मातहत सबै कार्यालयहरुमा एक÷एक जना सम्पर्क अधिकृत तोक्ने ब्यवस्था मिलाइएको छ । प्रत्येक जिल्लामा १/१ वटा सम्पर्क कार्यालय तोक्ने र उक्त कार्यालयले मन्त्रालयले तयार गरेको ढुवानी साधन ब्यवस्थापन प्रणाली मार्फत ढुवानी साधनहरुको परिचालन गर्न पास उपलब्ध गराउने र स्थानीय प्रशासन र सुरक्षा निकायसंग समेत समन्वय गर्ने ब्यवस्था मिलाउने जनाइएको छ ।

सवारी साधन परिचालन गर्दा अनाबश्यक हिंडडुल कम गर्न सकभर चार चक्के ढुवानी साधन परिचालन गर्ने र उत्पादन स्थलबाट कृषकहरुले सोझै टोलटोलमा खुद्रा ब्यापारी र उपभोक्तासम्म पुर्याउने ब्यवस्था मिलाउने जनाइएको छ । यस्तै मन्त्रालयले वर्तमानको कठिन परिस्थितिमा बाली लगाउनको लागि किसानहरुलाइ बीउ मल रोग तथा कीटनाशक बिषादी चल्ला दाना तथा चारा घांस परालको आपूर्ति ब्यवस्था मिलाउने र समयमै बाली थन्काउने तथा बाली लगाउने कार्यमा सामाजिक दुरी कायम राखी समयमै गर्ने गराउने ब्यवस्थाको लागि आबश्यक समन्वय गर्ने छ । गाउँ टोल तथा सहरी क्षेत्रमा भिड कम गर्न उत्पादक तथा वितरकहरुलाइ टोल टोलमै पुगि सोझै खुद्रा पसले वा उपभोक्तालाइ बिक्री गर्ने ब्यवस्था मिलाइने भएको छ ।

कृषि तथा पशुपंक्षीजन्य खाद्यवस्तु तथा उत्पादन सामाग्रीको ढुवानीमा कुने अवरोध भए कृषि ज्ञान केन्द्र पशु सेवा बिज्ञ केन्द्रले स्थानीयस्तरमा नै प्रशासन र सुरक्षा निकायसंग समन्वय गरी सहजिकरण गर्ने र यस बारेमा कृषक कृषि उद्यमी तथा ब्यवसायीहरुलाइ पनि रेडियो टेलिभिजन मार्फत जानकारी गराउने छ । यस्तै मन्त्रालयबाट कृषि तथा पशुजन्य उत्पादन र उत्पादन सामाग्रीको आपुर्ति र वितरणको लागि अनलाईन पास तथा ट्रयाकिड्ग सिस्टम लागु गरिएको छ । सम्बन्धित ज्ञानकेन्द्र तथा विज्ञकेन्द्रबाट सोही अनुसार कार्यन्वयनमा सहजिकरण गरिने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।