ताजा अपडेट »

गुल्मीको बढीघाट खोलामा बन्दै गरेको पक्की पुल बाढीले भत्कायो

विहीबार, ०४ बैशाख २०७७, ०७ : ४३
2 Shares

गुल्मी । गुल्मीमा बुधबार पानी परेसँगै बढीघाट खोलामा आएको बाढीका कारण बन्दै गरेको पक्की पुल भत्किएको छ । बाढीका कारण गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत वडा नम्बर ३ र ७ जोड्नका लागि बन्दै गरेको पक्की पुल दोस्रो पटक भत्किएको हो । यस अघि उक्त पुल ०७५ साल १ वैशाखमा ढलानका क्रममा भत्किएको थियो ।

अविरल वर्षाको कारण गएको वर्ष ढलानकै क्रममा यो पुल भत्किएको थियो । भत्किएको पुलको आठ महिनापछि फेरि निर्माण कार्य सुरु गरिएको थियो । पुलको गएको चैत मसान्तमा तल्लो ढलान सकिएको थियो । बुधबार साँझपख बढीघाट खोलामा आएको बाढीका कारण पक्की पुल भत्किँदा ठूलो क्षति पुगेको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए। तीन वर्षअघि सङ्घीय सरकारको पाँच करोड १७ लाख लागतमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले यो पुल निर्माणको जिम्मा पाएको थियो । यो पुलको लम्बाइ ५५ मिटर रहेको छ ।

बाढीले पौदीअमराई र कल्यार जोड्ने पक्की पुलमा समेत क्षति पुर्‍याएकाे छ । बाढीले पुलको तल्लो ढलानमा क्षति गर्नुका साथै फर्मा, फलामका पाइप, जेनेरेटर, हुइम पाइप समेत बगाएको छ।त्यसैगरी छल्दी खोलामा आएको बाढीले इस्मा गाउँपालिका र धुर्कोट गाउँपाालिका अन्तर्गत चौरासी–धुर्कोट जोडने पक्की पुल पनि उच्च जोखिममा रहेको निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले जानकारी दिए।

त्यस्तै गुल्मीमा बुधबार निस्ती खोलामा आएको बाढीले चण्डेश्वरी हेभी इक्युपमेण्ट कन्स्ट्रक्सनको लु १ त २४८२ नम्बरको ट्याक्टर समेत बगाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।