ताजा अपडेट »

राहत प्रभावकारी बनाऊ

बुधबार, ०३ बैशाख २०७७, १० : ४८
2 Shares

संकटमा राहत,प्यासमा पानी हो । अर्थात् अत्यन्तै प्यासमा प्रदान गरिएको पानीले प्यास मात्र मेट्दैन जीवन बचाउन पनि महत्वपूर्ण हुन्छ । त्यसैले अत्यन्तै प्यासमा त्यो पानी अमृत बन्दछ । यतिबेला विश्वभर महामारीका रुपमा फैलिरहेको र एक लाख भन्दा बढी मानिसको ज्यान लिएको कोरोना (कोभिड–१९) ले विश्व संकटमा छ । नेपाल सरकारले पनि यसको नियन्त्रण र रोकथामका लागि लकडाउन गरेको छ । नेपाल लकडाउनका २० दिन बढी भएका छन् । लकडाउनका कारण घर बाहिरका सम्पूर्ण क्रियाकलापहरु करिब ठप्प छन् । यस्तो अवस्थामा नियमित तथा दैनिक ज्यालादारी गरेर बिहान–साँझ छाक टार्ने,नियमित काम गरेर मात्र जिविकोपार्जन गर्ने वर्गका परिवारलाई निकै संकट परेको छ । त्यसैगरी केही आर्थिक संकलन र बचत नभएका परिवारहरुलाई पनि खाद्यान्न लगाएतका अत्यावश्यक सामग्री जोहो गर्न गार्हो हुने अवस्था आइसकेको छ ।

२० दिनबढी भएको लकडाउन र अब थपनिे लकडाउनमा मध्यमवर्गिय परिवारलाई पनि संकट हुने देखिएको छ । लकडाउनसँगै सुरुवातमै विभिन्न संघ–संस्थाले विपन्न वर्गलाई राहतको आवश्यकता महसुस गरी वितरणको थालनी पनि गरेका थिए । त्यसैगरी स्थानीय,तह,प्रदेश सरकार र संघीय सरकारले पनि राहत प्रदान गर्ने घोषणा गर्दै आ–आफ्नो स्थानबाट थालनी गरेका हुन् । राहतकै लागि तीनै तहका सरकारले कोषको स्थापना गरेका छन् । प्रदेश तथा संघीय सरकारले कराडौंको राहत कोष स्थापना गरेका छन् भने स्थानीय तहले पनि लाखौंको कोष स्थपनासँगै तीव्र संकलन गर्दै आएका छन् । रुपन्देहीका १६ स्थानीय तहहरु मध्ये अधिकांशले कोष स्थापना गरेको जानकारी भएको छ । मुुख्यतया बुटवल उपमहानगरपालिका ,तिलोत्तमा नगरपालिका,सैनामैना नगरपालिका,देवदह नगरपालिका राहत संकलन र वितरणमा अग्रपंत्तिमा रहेका छन् । तिलोत्तमा नगरपालिकाले केही दिनअघिमात्र ५० लाख बढी संकलन भएको र सो बाट २० लाखबढी वितरण गरिएको विवरण समेत सार्वजनिक गरेको थियो ।

एकद्वार प्रणाली मार्फत राहत वितरण अभियानमा लागेको तिलोत्तमा नगर कोरोना नियन्त्रण रोकथामा तथा राहत व्यवस्थापन र वितरणमा अब्बल भूमिकामा रहेको छ । त्यसैगरी बुटवल उपमहागरपालिकाले पनि कोरोना नियन्त्रण रोकथाममा सक्रिय हुँदै राहत वितरणलाई व्यवस्थित बनाउने प्रयत्न गरिरहेको छ । सैनामैना ,देवदह , सिद्धार्थ नगरपालिकाहरुले पनि राहत वितरणलाई सक्रिय रुपमा निरन्तरता दिएका छन् । त्यसैगरी गाउँपालिकाहरुले पनि स्थानीय स्तरमा राहत वितरणलाई निरन्तरता दिइरहेका छन् । रुपन्देहीमा रहेका १० गाउँपालिकाहरु अधिकांशले सक्रिय रुपमा राहत वितरणमा लागेका छन् । राहत वितरणमा गाउँपालिकाको प्रभाव बढी देखिएको छ भने नगरपालिकाका वडाहरु प्रभावकारी देखिएका छन् । यता प्रदेश ५ कै राजधानी भएको रुपन्देही जिल्ला,बुटवलमा भने प्रदेश सरकारको राहत संकलन जारी छ । प्रदेशको विपद् कोषमा विशेषगरी बैंकिङ्ग तथा वित्तिय क्षेत्र , उद्योग/व्यवसायीहरुको आर्थिक सहयोग गर्ने क्रम बढ्दो छ । प्रदेश सरकारको राहतबारे अहिल्यै जानकारी छैन ।

यसरी विभिन्न संघ–संस्था र तिनै तहका सरकारले राहत संकलन गर्दापनि वास्तविक तथा आवश्यक कैंयौं वर्ग सामु राहत पुगेको छैन । राहतमा राजनीति ,भ्रष्टाचार,भेद्भाव,अनियमित्ता, ठगी, अन्याय जस्ता गुनासाहरु आइरहेका छन् । यस्ता समाचार र गुनासाहरु यस अघि अर्थात् महाभूकम्प ,तराइमा बाढी जस्ता प्रकोपमा पनि आएका थिए । तर, निरन्तरता दुःखद हो । किनकी यतिबेला गाउँ–गाउँमा सिंहदरबार अर्थात् सरकार छन् । स्थानीय सरकारले वास्तविक मजदुर ,विपन्न सजिलै पत्ता लगाउन तथा पहिचान गर्न सक्छ । हरेक वडाबाट वडा कार्यालयले सही तथ्यांक लिन सक्छ । त्यतिमात्र नभई स्थानीय जनप्रतिनिधि स्थानीयसँग प्रतक्ष्य सम्पर्कमा रहेका हुन्छन् । तसर्थ यस्तो अवस्थामा पनि वास्तविक हकदार बञ्चित भएर दलिय,सत्ता निकट,पहुँचवाला, धनाढ्यले राहत लिनु र अक्षम्य अपराध हो । दैनिक ज्यालादारी गरेर खाने,विपन्न वर्ग , संकटमा भोकै भएका जो कोहीले पाउने कानूनी तथा नैतिक अधिकार हनन् गरेर उनीहरुको भाग कुनै धनाढ्य ,पहुँचवाला तथा राजनीकि तथा सत्ताधारीले लिन्छ भने त्यस्तालाई कानूनी दायरामा ल्यानु पर्दछ । तसर्थ विभिन्न संघ–संस्था,तह,सरकार लगाएत सरोकारवालाले यो विपद्को घडीमा राहतलाई उचित व्यवस्थापन गरी आवश्यक वर्गलाई वितरण गर्न जरुरी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।