ताजा अपडेट »

लकडाउनमा महङ्गियो फलफूल र तरकारीको मूल्य

मंगलबार, ०२ बैशाख २०७७, १८ : १६
34 Shares

बुटवल । कोरोना भाइरस (कोभिड–१९) को  महामारीको कारण  बजारमा फलफूल र तरकारीको मूल्य वृद्धि भएको जनगुनासो बढेको छ । नेपाल सरकारले चैत्र ११ गतेबाट लागू गरेको लकडाउनका कारण यतिबेला तरकारी तथा फलफूलको मूल्य दोब्बर बढेको स्थानीय उपभोक्ताले गुनासो गर्न थालेका हुन ।

बुटवलमा  भारतबाट आयात हुने फलफूल र तरकारीमा पनि  कोरोना भाइरस आउने सम्भावना बढेको भन्दै उपभोक्तालाई  बजारमा निस्कन नपाइने र घुम्ती पसलबाटै आफ्नो घरको गेटबाटै उपभोक्ताले किन्न पर्ने नियम बनाइएको बुटवल उपमहानगरपालिका वडा नं १७ का वडा अध्यक्ष  सन्तबहादुर रानाले बताए । उनले वडामा उत्पादन हुने सागसब्जी स्थानीय व्यापारीले मात्र अनिवार्य रुपमा हातमा पञ्जा लगाएर टोलटोल घुमेर ठेला वा अटो रिक्सामा राखेर लकडाउनको बेलामा सेवा दिने गरिएको समेत जानकारी दिए । बजारमा अपरिचित व्यक्तिले बेच–बिखन गरेको सागसब्जी तथा फलफूूल खरिद नगर्न बजारमा माइकिङ गरिरहेको समेत रानाले बताए ।                      

कोरोनाको सन्त्रासपछि ग्रामीण क्षेत्रबाट शहरमा बजार गर्न आउने ग्राहकको संख्या घटेको छ । बजारमा चहलपहल समेत घट्दै गएको व्यापारी बताउँछन् । बुटवल उपमहानगरपालिका १७ रानीगञ्जमा ठेला व्यापारी  दिपक राजकोटीले बुटवलमा कृषि उपज थोकबजार केन्द्र बन्द भएपछि मूल्य आकाशिएको र स्थानीय बासिन्दाले पनि लकडाउनको मौका छोपेर महङ्गी बढाएको बताए ।

बुटवलमा बसोवास धेरै र वरपरको स्थानीय क्षेत्रमा उत्पादन कम भएकाले मूूल्य बढेको बताए ।  फलफूल तथा तरकारी पसल सञ्चालन गर्दै आएका स्थानीय एक व्यापारी दिलु पन्तले बजारमा केही मात्रामा स्थानीय क्षेत्रमा उत्पादन भएका केरा, खरबुजा, काँक्रो मात्र पाइएको बताउँदै अन्य तरकारी, फलफूलहरु भारत र चीनबाट आयात हुने तर बजारमा नआउँदा स्टक सकिएपछि बिक्री वितरण नभएको बताए । उनले दिएको बजार मूल्य अनुसार बुटवलमा केरा रु. १५०, दर्जन, खरभुजा रु. १४५ प्रतिकिलो, खिरा रु. ८०, टमाटर ६०, लोकल टमाटर रु.९०, लोकल पाल्पाली काँक्रा रु.८०, आलु रु.६०, साग प्रतिमुुठा रु.२५, काउली, सिमी रु.१२०केजी, प्याजरु.८०, निम्बु प्रतिगोटा रु.१०, लसुन रु.४००केजी, हरियो खुर्सानी रु.२२० केजीमा बिक्री वितरण गरिएको बताए ।

उनले लकडाउनसँगै यो मूल्य अझै बढ्ने सम्भावना रहेको र स्थानीय बासिन्दाले आफ्नो घरको सागसब्जी साइकलमा आफैले बेचबिखन गरेको हुनाले बुटवलमा मूल्यको एकरुपता नभएको समेत बताए । बुटवलमा कृषि उपज थोक बजार केन्द्र छ । त्यसमा भित्र र बाहिर गरी करिब १ सय फलफूल र तरकारीका थोक व्यापारी छन् । दैनिक करिब २ करोड रुपैयाँको तरकारी कारोबार हुने गरेकोमा हाल भारतीय बजारबाट आयात ठप्प भएको र जोखिम बढेको भन्दै बन्द भएपछि मूल्य आकाशिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।