ताजा अपडेट »

मूख्यमन्त्रीको शुभकामना सन्देश, कोरोना विरुद्ध एकिकृत रुपमा बढ्न आह्वान

सोमबार, ०१ बैशाख २०७७, ०९ : २८
4 Shares

बुटवल । प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले नयाँ वर्ष २०७७ सालको शुभकामना शन्देश जारी गर्दै कोरोना विरुद्धको अभियानमा एकिकृत रुपमा अगाडी बढ्न आह्वान गरेकाछन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा रहेको भन्दै मुख्यमन्त्री पोखरेलले नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन तीन सातादेखि मुलुक लकडाउनमा जारी रहेकाले लकडाउनभित्रै नयाँ उत्साह र उमङ्गका साथ घरमै बसेर नयाँ वर्ष मनाउन आग्रह गरेका छन् ।

‘सरकारले मुलुकलाई लकडाउनमा राख्ने निर्णय बेलैमा गरेकाले समुदायमा संक्रमण बढेको छैन । संक्रमित १२ जनामध्ये एक जनाबाहेक सबै बाहिरबाट आएका व्यक्तिमा संक्रमण देखिएको छ ।’–मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देशमा भनिएको छ । ‘कोरोना विरुद्धको संघर्षमा तीन तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । राजनीतिक, प्रशासनिक र सुरक्षा निकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको छ । यो महामारी विरुद्धको संघर्षमा देखिएको राजनैतिक समझदारीले काममा जुटिरहेकाको मनोबल बढाएको छ ।’

कोभिड १९ विरुद्धको संघर्षमा चिकित्सकसहितका स्वास्थ्यकर्मी नै अग्रमोर्चाका योद्धा रहेको भन्दै मुख्यमन्त्रीले उनीहरुको मिहिनेत र उच्च मनोबललाई आफूले उच्च सम्मान व्यक्त गरेको बताएका । ‘अहिलेसम्म हामी सुरक्षित छौं । तर, जोखिमबाट मुक्त छैनौं । कोरोनाविरुद्ध लड्दै प्रदेशलाई सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छौं ।’–मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देशमा भनिएको छ । ‘कोरोनाविरुद्ध प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रूपमा काम गर्न मेरो अध्यक्षतामा गठन भएको सङ्कट व्यवस्थापन केन्द्र सक्रिय छ ।’
कोरोनाविरुद्धको लडाइँमा प्रदेशले उपचार संयन्त्र र संरचनालाई प्रभावकारी बनाएको भन्दै मुख्यमन्त्री पोखरेलले रुपन्देहीको बुटवल र भैरहवा, दाङको बेलझुण्डी र बाँकेको खजुरामा आइसियुसहितको कोरोना विशेष अस्पताल तयार गरेको बताएका छन् । भैरहवामा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परिक्षण गर्न थालिएको भन्दै पोखरेलले छिट्टै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने बताए । उच्च सतर्कता र सावधानीका कारण अहिलेसम्म प्रदेश ५ मा कोरोना संक्रमित बिरामी नभेटिएको भन्दै मुख्यमन्त्री पोखरेलले भारतसँग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरीको परिचालन चुस्त बनाइएको र प्रदेश ५ सँग सीमा जोडिएका प्रदेशसँगको सीमा नाकामा पनि कडाई गरिएको बताएका छन् ।

लकडाउन लामो हुँदा दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्नेहरुले कठिनाइ व्यहोर्नु परेको प्रदेश सरकारले बुझेको भन्दै मुख्यमन्त्री पोखरेलले यो कठीन समयमा कोही नागरिक भोकै बस्न पर्ने अवस्था नआउने बताएका छन् । ‘स्थानीय तहले पहिलो चरणमा दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतको आवश्यक प्रबन्ध गर्ने व्यवस्था मिलाइएको छ । यो समय खेती स्याहार्ने र लगाउने समय हो । खेती स्याहार्ने र लगाउने काम सामाजिक दुरी कायम गरी गर्न सकिन्छ । लकडाउन लम्बिदै जाँदा पर्ने समस्याको समाधानका लागि आवश्यक प्रबन्ध गरिने छ’, मुख्यमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ । ‘भारतलगायत तेस्रो मुलुकबाट आएका सबैजना क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको छ । जो क्वारेन्टाइनमा बस्नुभएको छ, तपाईहरुको र्या्पिड टेस्ट शुरु भएको छ ।’

प्रदेश सरकारले कोरोना नियन्त्रण तथा उपचार कोष स्थापना गरेको भन्दै मुख्यमन्त्री पोखरेलले यो कोषमा प्रदेश सरकारले १० करोड रुपैंया जम्मा गरेको जानकारी दिए । ‘विभिन्न व्यक्ति र संस्थाले कोषमा योगदान गरिरहनु भएको छ । प्रदेश सरकारले कोषमा १० करोड जम्मा गरेको छ । म यो संकटको बेला कोषमा योगदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै कोषमा योगदान गर्न विभिन्न संघ–संस्था, व्यवसायी, पेशाकर्मी र आमजनसमुदायमाहार्दिक अपील गर्दछु’, मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देशमा भनिएको छ ।

संक्रमण फैलन नदिन व्यक्तिबीचको सामाजिक दुरी सबैभन्दा ठूलो औजार भएको भन्दै मुख्यमन्त्री पोखरेलले लकडाउन सोही प्रयोजनका लागि भएको बताएका छन् । यस महामारी विरुद्धको संघर्षमा नागरिकको सहयोग निकै महत्वपूर्ण रहने भन्दै पोखरेलले राज्यले लिएका निर्णय नागरिकको जीवन रक्षाका लागि हुन् भन्ने बुझाई स्थापित भएको बताएका छन् । ‘नयाँवर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’–मुख्यमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।