ताजा अपडेट »

मन्त्री अधिकारीसहित सातैजनाको शव काठमाडौँमा

विहीबार, १६ फागुन २०७५, १४ : ०४
6 Shares

फागुन १६,काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव काठमाडौँ ल्याइएको छ ।

ताप्लेजुङको सुकेटार विमानस्थलबाट शव लिएर आएको नेपाली सेनाको हेलिकप्टर त्रिभूवन विमानस्थलमा अवतरण भएको छ । त्रिभूवन विमानस्थलबाट शवहरु पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

बुधबार सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएका मन्त्री अधिकारीसहित चारजनाको शव बुधबार बेलुका नै नेपाली सेनासहितको उद्धार टोलीले सुकेटार विमानस्थल ल्याएको थियो । बाँकी तीनजनाको शव बिहीबार बिहान विमानस्थल ल्याएपछि केही घण्टा मौसम खराब भएका कारण हेलिकप्टर उड्न सकेको थिए ।

सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको हो ।-केन्द्रविन्दु

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।