ताजा अपडेट »

कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेशले गरेका काम र आगामी योजना बारे सर्वदलीय बैठक

शनिबार, २९ चैत्र २०७६, १९ : ४८
4 Shares


बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेशले गरिरहेका काम र आगामी योजना बारे सर्वदलीय बैठक राखेर जानकारी दिएका छन् । मुख्यमन्त्री पोखरेलले तीन तहका सरकारले अहिलेसम्म गरेका काम र योजनाबारे जानकारी गराउँदै सबैको सहकार्य र सहयोगबाट नै कोरोना विरुद्धको लडाई जित्न सकिने बताए ।


बाँके, दाङ, बुटवल र भैरहवामा चार वटा आइसियु सहितको कोरोना विशेष अस्पताल तयार गरी उपचार शुरु गरेको बैठकमा जानकारी गराए । त्यसैगरी भैरहवामा प्रदेश प्रयोगशालामा कोरोना भाइरसको परिक्षण भइरहेको केही दिनमै नेपालगञ्जमा पनि परिक्षण हुने र दाङमा पनि पिसिआर मेशिन ल्याउन प्रक्रिया अघि बढेकोले छिट्टै हुने समेत बैठकमा जानकारी गराएका थिए । उनले नेपाल भारत सीमा क्षेत्रमा कडाई गरिएको र सशस्त्र प्रहरी बलको आवश्यक संख्या थप गरी परिचालन गरिएको बताए । स्थानीय तहहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन र क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको बताए ।

सर्बदलीय बैठकमा प्रदेशसभा नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, संसदीय समितिका सभापति दधिराम न्यौपाने, हरि रिजाल, कांग्रेस सचेतक निर्मला क्षेत्री, प्रदेश सभा सदस्य फकरुद्दीन खान, विजय जयसवाल, समाजवादीका प्रदेश सभा सदस्य सन्तोष पाण्डे र राजमो प्रदेशसभा सदस्य तारा जिसी सहभागी रहेको थियो ।

बैठकमा सहभागीहरुले कोरोना विरुद्धको लडाई सरकारको मात्रै नभएर सबैको साझा भएकाले सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।