ताजा अपडेट »

भलाई कोषद्वारा राहत कोषमा ६ लाख ५१ हजार सहयोग

शनिबार, २९ चैत्र २०७६, १७ : २७
30 Shares

बुटवल । विश्वभर फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले ६ लाख ५१ हजार रकम सहयोग गर्ने भएको छ । सहयोग रकम मध्ये ५ लाख रुपियाँ लुम्बिनी प्रादेशिक अस्पतालको विकास र स्तरोन्नतीका लागि उपलव्ध गराइने कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए ।
अध्यक्ष फुल्लेलका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालका लागि संघसंस्थाहरुको संजालमा ५ लाख रुपियाँ प्रदान गर्ने निर्णय कोषले गरेको छ ।

भलाई कोषले बुटवल उपमहानगरपालिकाको राहत कोषमा यसअघि नै एकलाख ५१ हजार रुपियाँ सहयोग गरिसकेको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना अस्पताल बनाउन यसको स्तरउन्नती प्रक्रिया प्रदेश सरकारले अघि बढाएकाले सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष फुल्लेलले जानकारी दिए । रुपन्देहीमा क्रियाशिल संघ संस्थाहरुको संजालको बैठकले यसअघि नै कोरोना विरुद्धको अभियानको लागि संयुक्त रुपमा रकम संकलन गर्ने निर्णय गरेका थिए ।

जसअन्तर्गत यातायात मजदुर तथा व्यवसायी भलाई कोषले ५ लाख, पश्चिम नेपाल बस व्यवसायी प्रालिले पाँच लाख रुपियाँ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघले ३ लाख ५१ हजार दरले सहयोग प्रदान गर्ने निर्णय यसअघि नै भएको थियो । कोषका अध्यक्ष फुल्लेलले कोरोना संक्रमण रोक्न संस्थाले सक्दो सहयोग गरिरहेको भन्दै लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्न सकिए महामारीजन्य यस्ता रोगहरुको उपचारमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।