ताजा अपडेट »

मूख्यमन्त्रीको भिडियो सम्वाद : कोरोना विरुद्ध समन्वय र सहकार्य गर्न निर्देशन

शुक्रबार, २८ चैत्र २०७६, २० : ४२
10 Shares

बुटवल । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे शुत्रबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारी समेत रहेका स्थानीय तहका प्रमुखसँग एकीकृत भिडियो संवाद गरेका छन् ।

पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्रीले कोरोना नियन्त्रणमा आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गनिर्देशन गरेका थिए । पालिका प्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा बसेका नागरिकको अवस्था बारे जानकारी गराएका थिए । दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी गराउँदै आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाउन उनिहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराको मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रेस सल्लाहकार सेरबहादुर केसीले जानकारी गराए ।

स्थानीयस्तरमा राहत कोष बनाई व्यवस्थित गर्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले आग्रह गरेक छन् । दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न समुदायलाई खाद्यान्न लगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएको र त्यसको पहिलो व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने मुख्यमन्त्रीले बताए । पालिकाले व्यवस्थापन गर्न अप्ठारो भएमा आवश्यक सहयोग प्रदेशले गर्ने उनले बताए ।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएको उनले जानकारी गराए । भैरहवामा प्रयोगशाला परिक्षण शुरु गरिएको, नेपालगञ्ज र दाङमा छिट्टै प्रयोगशाला परिक्षण हुने बताए । त्यसैगरी र्यापिड टेस्ट शुरु गरिएको र क्वारेन्टाइनमा बसेकाको र्यापिड टेस्ट गरिने, ज्वरो आएका र आइसोलेसनमा रहेकाको स्वाब परिक्षण गरिने गरी व्यवस्था मिलाइएको पनि मूख्यमन्त्रीले जानकारी गराएका थिए ।

अहिले खेती स्याहार्ने र लगाउने बेला भएकाले सामाजिक दुरी कायम गर्ने गरी खेती स्याहार्ने र लगाउने व्यवस्थाका लागि सहजीकरण गर्न र केही समस्या आए ध्यानाकर्षण गराउन मुख्मयन्त्रीले पालिका प्रमुखहरुलाई आग्रह गरेका छन् । दाताले सिधै राहत वितरण गर्न थालेको र यसले समस्या ल्याउने भन्दै मुख्यमन्त्रीले रोक लगाउन निर्देशन दिए । राहत वितरणको आवश्यक समन्वय पालिकाले गर्ने र वडा मार्फत राहत वितरणको व्यवस्था गर्दा प्रभावकारी हुने उनले बताए । कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै उनले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गरे ।

संवादमा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य एवम् बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किष्मतकुमार कक्षपति, महासंघका केन्द्रीय सदस्य एवम् अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, गाँउपालिका राष्ट्रिय महासंघ, प्रदेश ५ अध्यक्ष एवम् गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त, महासंघको प्रदेश सचिव एवम् प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी, महासंघको प्रदेश सदस्य एवम् रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट, नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा सहभागी भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।