Jan 31, 2023
बुटवल । बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले बैठक भत्ता बापत लिने छ महिना बरबरको रकम राहत कोषमा जम्मा गर्ने भएका छन् । बुटवलले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा उक्त रकम जम्मा हुनेछ । उपमहानगरका कुनै पनि जनप्रतिनिधिले तलब सुविधा लिएका छैनन् । उनीहरुका लागि कार्यपालिका बैठकको भत्ता मात्रै उपलव्ध हुँदै आएको छ । सोही बापतको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
उपमहानगरको हालै बसेको संकटकालिन (आपतकाल) व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको थियो । बैठक भत्ता बापतको एक लाख ४२ हजार रुपैयाँ हुन आउँछ । यसैगरी बुटवल उपमहानगरपालिकाका कर्मचारीहरुले पनि पारिश्रमिकको केही हिस्सा रकम विपद् व्यवस्थापन तथा राहत कोषमा जम्मा गर्ने भएका छन् । उपमहानगरका ३ सय ६ जना कर्मचारीहरुले एकमुष्ट ११ लाख दुई हजार ९ सय ३७ रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए । बुटवलको राहत कोषमा यसअघि ५० लाख रुपैयाँ जम्मा भइसकेको छ । विभिन्न संघसंस्था र नागरिक अगुवाहरुलेसमेत उक्त कोषमा करिब १० लाख रुपैयाँ जम्मा गरेका छन् ।
राष्ट्रिय बाणिज्य बैंक बुटवल खस्यौली शाखामा रहेको उपमहानगरको राहत कोषको खातामा रकम जम्मा भएको हो ।बुटवल उपमहानगरपालिकाले नगरका सबै वडाहरुमा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने श्रमिकका घरपरिवारको लगत संकलन गर्दै पहिलो चरणको राहत प्याकेज वितरण गरेको छ । लकडाउन सुरु भएपछि दैनिक ज्यालादारीमा जान नपाएका बुटवलका १९ वटा वडाहरुबाट हालै ६ हजार ५ सय श्रमिकका घरपरिवारको लगत संकलन गरिएको थियो । तिनै परिवारलाई पहिलो चरणको राहत प्याकेज वितरण गरिएको बुटवलका प्रमुख सुवेदीले जानकारी दिए । उपमहानगरपालिकाले एक परिवारका लागि तत्कालका लागि १५ किलो चामल, २ किलो दाल, १ किलो नुन र १ लिटर तेल राहात स्वरुप वितरण गरिरहेको र सो काममा विभिन्न निजी क्षेत्र र सहयोगीहरुलेसमेत सहकार्य गरेका छन् ।
प्रतिकृया दिनुहोस्