ताजा अपडेट »

च्याउकै चिन्तन

शुक्रबार, २८ चैत्र २०७६, १६ : २७
48 Shares

एउटी आँटिली महिलाको विगत,वर्तमान र भविष्यको शाहसिक कथा


जानुका उनको पार्टीमा टेक नाम थियो । खास नाम भने दिलकुमारी रोका मगर हो । तत्कालीन नेकपा(माओवादी) मा समाहित भएर उनले देश र नागरिकको मुहार फेर्न अनि आर्थिक समृद्धिका लागि आफ्नो ज्यानको बाजी थापेकी थिइन् । यो कुनै मजाकको विषय थिएन ।
अचेल दिलकुमारी जीवन जिउने नयाँ बाटोमा छिन् अर्थात् च्याउ खेती गरेर आर्थिक समृद्धिको ढोका अघार्न तल्लीन छिन् । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ३ मा रहेको भूतखोलादेखि लामेदमारसम्मका १७ जना दिदीबहिनीहरुलाई गोलबन्द गरेर अर्गानिक च्याउ पकेट क्षेत्र तिनाउ–३ बनाएकी छिन् । उनलाई नैना क्षेत्री, टुका थापा जस्ता साथीहरुले सहयोग पुराएका छन् ।

यस आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको दुईलाख रुपैयाँबाट सोही समूहलाई च्याउ खेती गर्न आवश्यक प्लाष्टिक,जाली र स्प्रे मेसीन खरीद गरी च्याउ उत्पादन,प्रवद्र्धन र बजारीकरणका लागि पहल गरिन् । भदौको अन्तिमदेखि फागुनको अन्तिमसम्म च्याउ खेती गर्दा गाउँकै समूहमा करिव पैतीस लाख भित्रिएको छ । आर्थिक समृद्धिको यात्रामा यो कुनै चानेचुने रकम होइन । श्रीमानका कोट र सर्टका पाकेटमा पैसा छाम्नु पर्ने दिनको अन्त्य र आर्थिक समृद्धिका लागि आफ्नै अधिकार मूलमन्त्रसहित उनीहरुले अर्गानिक च्याउ खेतीको थालनी गरेका थिए । आज सो मन्त्र आफूहरुका लागि व्यवहारिक बनेको छ ।

समूहले च्याउ उत्पादनका लागि आवश्यक सामग्री सबैसँगै खरीद गरेपनि उत्पादनका लागि समूहका सदस्यहरुले आफ्नै स्थानमा श्रम,सीप र समय प्रयोग गर्दछन् । गाउँमा यस्तो समूह बनाएर अर्गानिक च्याउ खेती थालेको तीन वर्ष पनि पुगेको छैन । पहिला आ–आफूले जे–जस्ता जानेका थियौं,त्यस्तै गथ्यौ तर अहिले समूहमा अर्गानिक च्याउ खेती थालेपछि बीउबीजन खरीद र च्याउको बिक्रीमा ठगिनु परेको छैन–दिलकुमारी भन्दैथिइन् ।
रोल्पाको दुर्गम खुमिल गाउँमा जन्मिएकी दिलकुमारी अर्घाखाँची,कपिलबस्तुको शिवपुरहुँदै शान्ति सम्झौतासँगै दोभानको भूतखोलामा आइपुगिन् । त्यसपछि सुरु गरिन् च्याउखेती । उनीसँग सो खेतीका लागि चाहिने ज्ञान,सीप केही थिएन अनि कसरी उत्पादन होस् र च्याउ ? उनलाई बाध्यताले च्याउ उत्पादन गर्ने ज्ञान, सीप सिकायो । त्यत्रिमात्र होइन उनलाई पत्रपत्रिकामा आएको च्याउको समाचारले च्याउखेती गर्ने तरिका सिकायो अनि फलाउन थालिन् च्याउ । पहिलो वर्ष उनले जसोतसो साँवा र आफ्नो ज्याला उठाइन् । पेटभरि च्याउको तरकारी खाइन् ।
पहिलोवर्षको सिकाइले आजसम्म उनलाई च्याउ खेतीमा पछाडि फर्किन परेको छैन । दोभानको भूतखोला गाउँमा आफूले च्याउ उत्पादन थालेपछि नै अहिलेको सामूहिक च्याउखेतीको अवधारणा जन्मिएको उनी बताउँछिन् ।

च्याउखेतीबाट बर्सेनि आम्दानी गर्दै गर्दा उनले परिवारको शिक्षादीक्षा मात्र होइन बचत गर्ने बानी बसालेकी छन् । दुईतले पक्की घरमा च्याउको आम्दानी मिसाएकी छन् । छोरा÷बुहारीलाई जापान पठाउन सहयोग गरिन् । घरखर्च च्याउले नै धानेको कुरा दिलकुमारीले भनिरहँदा छोरीलाई स्टाफ नर्स पढाएर अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा जागिरे बनाउन च्याउले नै सघाएको सुनाइन् ।
शान्ति सम्झौतापछि कामविहीन अवस्थामा च्याउखेतीले उनको परिवारमा नयाँ बहार लिएर आयो । दिलकुमारी भन्छिन्– साँचो कार्यकर्ताहरुका दिनचर्या शान्ति सम्झौतापछि हाम्रो जस्तै दुःखद् थियो तर हामीलाई च्याउ उत्पादन गर्ने सीपले नयाँजीवन दियो । बाँच्न सिकायो । मिहिनेत गर्न सिकायो । बन्दूक बोक्दाको जुन साहस थियो, बिसाउँदाको पीडा कम्तीको थिएन । जीवन रोटेपिङजस्तै रहेछ ।


यो वर्षको फागुन मसान्तसम्म च्याउ बेचेर करिब चार लाख आम्दानी गरिन् । त्यसमध्ये बचत दुईलाख पचास हजार नाघेको दिलकुमारीले सुनाइरहँदा उनको अनुहार खुसीले धपक्क बलेको थियो । त्यतिबेला उनको मिहिनेती अनुहारमा मैले मोनालिसा देखिरहें । च्याउ उत्पादन गर्दाका पीडाका पहाड तराईको फाँट जस्तै खुसीले समथर बनेको थियो ।
सिजनमा च्याउ बनाउन उनले अघोरै मिहिनेत गर्छिन् । कुखुराको डाँकोले बिहानै उनका आँखा उघार्छन् । राति अबेरमात्र सुत्ने समय मिल्छ । उमेरले आधा शताब्दी नजिकै पुग्दै गर्दा समेत जोस, जाँगर र आँटले भने १७ जस्तै भेटिन्छ । आफ्ना सन्तानलाईभन्दा बढी च्याउलाई स्याहारसुसार र हेरविचार गर्ने दिलकुमारीले युद्धकालीन समयमा नै श्रम गर्ने संस्कार सिकिन् । श्रमले नै संसार बदल्न सकिन्छ भन्ने कुरा युद्धमोर्चा मै जानेकी थिइन् । अहिले साँचोरुपमा व्यवहारमा प्रयोग गरेकी छिन् ।
च्याउको चिन्ता भन्दापनि कसरी धेरै र राम्रो च्याउ फलाउने र यसको बजारीकरणलाई कसरी व्यवस्थित गरी फैलाउने बारेमा चिन्तन गर्छिन् । च्याउलाई रोगबाट बचाउने तरिका सिक्छिन् । च्याउमा लाग्न सक्ने हरिया, काला, सेता भाइरस र भुसुनाका बारेमा उनलाई राम्रो हेक्का छ । त्यो कुनै विश्वविद्यालयका कक्षामा र पुस्तकमा पढेकी होइनन् । बरु त्यो कुरा उनले आफ्नै च्याउ बनाउने घरेलु प्रयोगशालामा सिकेकी हुन् । दिलकुमारी सामान्य साक्षर हुन् तर च्याउ खेतीमा पढेलेखेका कृषि विज्ञभन्दा उनको व्यावहारिक ज्ञानमा कुनै कमी देखिँदैन। दिलकुमारीको निरन्तरको अभ्यास, मिहिनेत गर्ने स्वभाव, काम गरेर नै जीवन उकास्न सकिन्छ भन्ने दृढ विश्वासले नै आज राजनीतिसँगै च्याउमा अघि बढाएको छ । काम गरेर खान केको लाज, कम्युनिस्ट हुनु भनेको कर्तव्य वा कामप्रति निष्ठ हुनु हो– दार्शनिक जवाफ दिन्छिन् ।

सिजनमा च्याउ उत्दपानका लागि पराल काट्छिन् । पराललाई राम्ररी धुन्छिन् । त्यसलाई स्टीम (उसिन्ने काम) गर्छिन् । सेलाउन हाल्छिन् । प्लास्टिकमा हाल्नुअघि च्याउको बिउ मिसाउँछिन् । दुई सय ग्राम च्याउको बिउले एउटा र आधी डल्ला वा बल बनाउन सकिने जानकारी गराउँछिन् । साथै एउटा डल्ला वा बल तयार गर्न करिब दुई सय रुपैयाँ खर्च लाग्ने गर्छ । तयारी अवस्थामा रहेको च्याउको डल्ला वा बललाई सियोले घोंचेर हावा ओहोरदोहोर गराइँदो रहेछ तर त्यसमा पारिएको प्वालबाट च्याउका टुसाहरु बाहिर निस्किँदा रहेछन् जो हेर्दै रहर लाग्दा देखिन्छन् । एउटा डल्ला वा बलबाट बढीमा ३/४ किलो च्याउ उत्पादन हुन्छ भने पहिलोपटक २/३ किलो च्याउ टिप्न सकिँदो रहेछ । यो कुरा उनका मुखबाट सुनिरहँदा हजूरआमाको लोरी जस्तै लाग्छन् ।

उनै दिलकुमारीले २०४५ सालमा बिहे गरिन् । बिहे हुँदा उमेर १७ वर्षको थियो । किशोर उमेरमा बिहे गर्दाको पीडा उनको जीवनमा शूल बनेर आइरहन्छ । दिलकुमारीका श्रीमान् अहिले प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्य छन् । चुनावमा प्रत्यक्ष तर्फका उम्मेदवार भएकै कारण पैसा खर्चिनु पर्ने बाध्यकारी अवस्था आयो । दिलकुमारीले भन्दै थिइन्–श्रीमान्लाई सांसद् बनाउँदा चुनावमा खर्च भयो । तलबले ब्याज तिर्न समेत पुग्दैन । मैले च्याउखेतीबाट कमाएको पैसाले चुनावी खर्चको ब्याज तिर्दैछु । उनको गुनासो छ–यसरी निर्वाचन महँगो हुँदै जाने हो भने कुनै दिन गरीव नेताहरु चुनावमा उम्मेदवार हुन नपाइ मर्नेछन् । हुन त दिलकुमारीले स्थानीय तहको निर्वाचनमा तिनाउ गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् ।

पुराना दिनहरु सम्झिदै उनले भनिन् –श्रीमान् वारेन्ट जारी भएकै कारण भारततिर भूमिगत भए । तत्कालीन सरकार माओवादीप्रति बढी आक्रामक भएपछि म पनि जंगल पस्न बाध्य भएँ । यो २०५३ साल माघ महिनाको कुरो हो । त्यतिबेला छोराछोरीहरु सानै थिए । ठूली छोरी सम्झना, कान्छी छोरी प्रतिभा र ढाई वर्षको छोरा तुफानलाई उनले युद्धकालीन समयमा घरमै सासूससुराका जिम्मा छाडेर हिँड्नुको पीडा कम्तीको छैन । आज उनीहरुमध्ये ठूली छोरीका तर्फबाट दिलमाया हजूरआमा बनेकी छन् । छोरा तुफानले बिहे गरेर पढ्न जापान पुगेको छ । कान्छी छोरीले स्टाफ नर्स पढेर जागिर गर्छिन् ।

च्याउबाट उँभो लाग्न सकिने तर्क पेस गर्दै आएकी दिलकुमारीले बाह्ैमास च्याउ खेती गर्ने योजना बुनेकी छन् । आफ्नो घरमा एसी जोडेर भएपनि बेमौसमी च्याउ उत्पादनमा जोड दिने संकल्प कसेकी दिलकुमारीले पाल्पा दोभानको च्याउलाई प्याकिङ्ग गरी ब्रान्ड दिन सकिएमा च्याउ उपभोक्ताहरु ढुक्क भएर च्याउ खान सक्ने र च्याउ उत्पादकहरुको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास प्रकट गर्छिन् । त्यही भएर नै उनीहरुले अर्गानिक च्याउ पकेट क्षेत्र तिनाउ –३ बनाएका हुन् । भविष्यमा गोब्रे च्याउ र सिताके च्याउ उत्पादन गर्ने रहर पलाएको दिलकुमारीले सुनाइन् ।
दिलकुमारीका संघर्षमय दिनहरु न त युद्धकालीन समयमा न त वर्तमान घरायसी समयमा कम भएको छ । बरु उनले सोचेकी छन्– च्याउबाटै चमत्कार देखाउने छु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।