ताजा अपडेट »

सिताके च्याउ : समृद्धिको आधार

विहीबार, २७ चैत्र २०७६, १४ : १६
162 Shares

‘बाहुनले च्याउ खाओस् न भ्याउ पाओस् ’ यस्तो उखान प्रचलनमा थियो केहि वर्ष अघिसम्म। यसको अर्थ,बाहुन क्षेत्रीहरुले गाउँघरमा च्याउ खाँदैनथे । यसको मतलब यो हुन सक्छ कि च्याउको ब्यवसायिक खेती गरिएको थिएन त्यो बेला । जङ्गलमा खोजेर ल्याउने च्याउ बिषालु हुनसक्ने भएकोले उनीहरुले जोखिम उठाउन नचाहेको हुनुपर्दछ र जोखिम मोलेर च्याउ खानेहरुले उनीहरुलाई च्याउको महत्व नबुझेको अर्थमा त्यस्तो उखान मार्फत ब्यङ्ग गरेको हुनुपर्छ ।तर,अहिले च्याउ खानको लागि जोखिम मोल्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ब्यवसायिक रुपमा खेती गरिएका च्याउका विभिन्न प्रजातिहरु इच्छा अनुसार खरिद गरेर खान पाइन्छ यद्यपि प्रत्येक वर्ष गाउँघरमा विषालु च्याउ सेवनको कारण मानिसहरु बिरामी परेका, मुत्यु भएका खबरहरु सञ्चार माध्यममा आइरहन्छन्।

संसारमा हालसम्म ३ हजार ८ सय जातको च्याउको प्रजातिहरु रहेको तथ्य फेला परेको छ । त्यसमध्ये २ हजार प्रजाति खानयोग्य छन् । १००० प्रजाति विषालु रहेका छन् भने २०० च्याउका प्रजातीहरु औषधिय गुणले युक्त रहेका छन् । हाम्रो नेपालको सन्दर्भमा हालसम्म ७२० प्रजातिका च्याउहरु पहिचान भएका छन् । त्यस मध्ये ११० प्रकारका च्याउ मात्र खान हुने प्रकृतिका रहेका छन् भने ७५ प्रजातीका च्याउहरु औषधिको रुपमा समेत प्रयोग हुने च्याउहरु रहेका छन् । हामीले वनजङ्गलमा खोजेर खाने च्याउको प्रजाति राम्रोसँग पहिचान गर्न नसकिने हुँदा त्यस्ता च्याउका प्रजातिबाट हाम्रो ज्यान समेत जानसक्ने भएकोले पहिचान नगरिएका जङ्गली प्रजातिका च्याउहरु सेवन गर्नुहुँदेन।

नेपालमा वि.सं. २०२८ सालदेखि च्याउको उत्पादन सुरु भएको हो । हाल नेपालमा वार्षिक २५ हजार टन च्याउ उत्पादन हुने गरेको छ भने च्याउको माग वार्षिक ७५ हजार मेट्रिक टन रहेको छ । हाल नेपाली बजारमा एकतिहाई मात्र माग अनुरुपको च्याउ उपलब्ध छ भने बाँकी दुइतिहाई च्याउ उत्पादन गरि नेपाली च्याउको बजारलाई आत्मनिर्भर बनाउनको सम्भावना र अवसर दुबै छन् । च्याउ अत्यन्तै पौष्टिक र स्वास्थ्यवद्र्धक खाद्यपदार्थ हो । नेपालमा हाल ब्यवसायिक रुपमा कन्ये (पराले), गोब्रे र सिताके च्याउको खेती हुने गरेको पाइन्छ भने गानोडर्मा लगाएतका अन्य प्रजातीहरुको खेती परीक्षण गरी ब्यवसायिकतातर्फ अगाडी बढेको अवस्था छ ।

हामी कोरोना भाईरस रोगको महामारीको कारण बन्दाबन्दी (लकडाउन) को अवस्थामा छौँ । संसारमा औद्योगिक विकास मार्फत विश्वबिजेता बनेका मुलुकहरुको गतिबिधी पनि अहिले शून्य प्रायः अवस्थामा छ । यस्तो अवस्थामा प्राकृतिक श्रोत र सम्पदाले समृद्ध हामी नेपालीहरुको लागि महत्वपूर्ण अवसरहरु सिर्जना भएका छन् । हामीसँग भएका श्रोत र साधनहरुको उच्चतम उपयोग गर्दै स्वास्थवद्र्धक र अर्गानिक वस्तुहरु उत्पादन गरी विश्वबजारमा बिक्री गरेर आर्थिक विकास गर्न सकिने, स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने र यसबाट हामी, हाम्रो समुदाय र मुलुकलाई समृद्ध बनाउन सकिने अवसरलाई किन सदुपयोग नगर्ने ? यो प्रश्न हामी सबैलाई हो।

प्रकृतिको नियम नै रहेछ, बैज्ञानिक चाल्र्स डार्बिनको Natural Selection को सिद्धान्त जस्तै विश्वमा कोरोना महामारीले पनि कमजोर, शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएका, रोगी, बृद्ध र बालबालिकाहरुलाई बढी आक्रान्त बनाइरहेका समाचारहरु हामीले सुनिरहेकै छौँ । त्यसैले हामीलाई कोरोना मात्र होइन जुनसुकै रोगबाट बँच्नको लागि पनि रोग प्रतिरोधात्मक क्षमता चाहिन्छ । जुन क्षमता हामीले दैनिक खाने स्वस्थ, अर्गानिक र प्राकृतिक खाद्यपदार्थहरुबाट प्राप्त गर्न सक्दछौँ । अहिले विश्वब्यापी महामारीको रुपमा देखा परेको Covid-19 विरुद्ध लड्नको लागि हाम्रो सिङ्गो कम्युनिटीलाई नै इम्युनिटीको आवश्यकता छ । रोगसँग लड्ने क्षमता बढाउँदै हाम्रो गरिबीसँग लड्नको लागि समेत प्रभावकारी हुने सिताके च्याउको ब्यवसायिक खेतीको बारेमा यस लेखमा चर्चा गरिनेछ ।

जापानी भाषामा कटुसको मुढामा फल्ने च्याउलाई सिताके भनिन्छ । सिई भन्नाले कटुसको रुख र ताके भन्नाले च्याउ भन्ने अर्थ लाग्दोरहेछ । यस च्याउको रङ्ग मृगको जस्तो रातो र बुट्टेदार हुने भएकोले नेपालमा यसलाई स्थानीय भाषामा मृगे च्याउ पनि भनिन्छ । यो च्याउको उत्पत्ति चीनमा भएपनि यसको ब्यवसायिक बिस्तार भने जापानबाट भएको मानिन्छ । विश्वमा सबैभन्दा बढी सिताके च्याउ चीन, जर्मनी, बेल्जियम,अष्ट्रेलिया, जापान, कोरिया, ताईवान, सिंगापुर, मलेशिया आदि मुलुकहरुमा हुने गरेको छ । यसमा हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्वहरु प्रशस्त मात्रामा हुनुको साथै क्यान्सर, मुटुरोग जस्ता डरलाग्दा रोगहरुसँग लड्नसक्ने शक्ति रहेको पाईन्छ । शरीरलाई स्वस्थ राख्नुको साथै स्मरण शक्ति बढाउने, भिटामिन डी को श्रोत, प्रयाप्त मात्रामा प्रोटीन पाइने,Vitamins, Minerals,Enzyms र Amino Acid जस्ता शरीरलाई आवश्यक पर्ने तत्वहरु प्रशस्त मात्रामा पाइने हुनाले शारीरिक बृद्धि र विकासमा यसले सहयोग गर्दछ । कोलेष्ट्रोल र उच्च रक्तचाप नियन्त्रण गर्ने, हड्डीको विकासमा सहयोग गर्ने, यौन क्षमता बृद्धि गर्ने, रुघाखोकी लाग्न नदिने र रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले स्वास्थ्यको दृष्टिकोणले सिताके च्याउलाई महत्वपूर्ण मानिन्छ।

सीताके च्याउको बिभिन्न परिकारहरु बन्दछन् । विश्व स्वास्थ्य सङ्गठन (WHO) ले सिताके च्याउलाई सबैभन्दा स्वादिष्ट खाद्यपदार्थको रुपमा बर्गीकरण गरेको छ । सिताके सुप, सिताके बर्गर, सिताके करी, सिताके छोयला, सिताके ग्रेभी, सिताके थाई परिकार, सिताके थाली लगायत बिभिन्न परिकारहरु यसबाट बनाउन सकिन्छ । तरकारीको रुपमा यसलाई दैनिक घरमा प्रयोग गर्न सकिन्छ । जसबाट हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्न गई शारीरिक र मानसिक विकासमा सहयोग पुग्दछ।

यो खेती नेपालको मध्यपहाडी क्षेत्रमा अत्यन्त सजिलोसँग गर्न सकिन्छ । बिशेषगरी समून्द्री सतहबाट १०००–१४०० मीटरसम्मको ओसिलो र पानी भएको जग्गामा यसको राम्रो उत्पादन लिन सकिन्छ । यसको उत्पादनको लागि न्यूनतम १० देखि अधिकतम २५ डिग्रीसम्म तापक्रम भएको स्थान आवश्यक हुन्छ । त्यसैले यसको लागि मध्यपहाडी क्षेत्र नै सबैभन्दा उपयुक्त क्षेत्र हो । कटुस, उत्तिस, लाँकुरी, सौर, खरी, खस्रु आदि काठको मुढाहरुमा यसको खेती गर्न सकिन्छ । ११ इन्चदेखि २२ इन्चसम्म मोटाई र १ मिटर लम्बाई भएका कम्तिमा पाँच वर्ष पुराना रुखहरुबाट उत्पादित काठका मुढाहरुमा यो च्याउ फलाउन सकिने भएकोले काठको रुपमा प्रयोग नहुने मुढाहरुलाई पनि च्याउ उत्पादनमा प्रयोग गर्न सकिने अवसर रहेको छ।

यसको लागि उपयुक्त स्थान मध्यपहाडी क्षेत्र रहेको र उपयुक्त प्रजाती उत्तिस, कटुस, लाँकुरी लगाएतका रुखहरु समेत यसै क्षेत्रमा पाईने हुँदा पहाडी क्षेत्रको महत्वपूर्ण उत्पादन बन्न सक्दछ सिताके च्याउ । खासगरी ५ नं. प्रदेश अन्तर्गतका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम लगायतका जिल्लाहरुमा प्रशस्त मात्रामा उत्तिस, चिलाउने, कटुस आदिको जङ्गल पाईन्छन् । यी प्रजातीहरु निर्माण कार्यमा समेत कमै मात्रामा प्रयोग हुने प्रजातीहरु हुन् । कटुस प्रजातिका रुखहरुमा त झन् प्रशस्त मात्रामा मुना पलाउने क्षमता रहन्छ । एकपटक काटिसकेपछि राम्रोसँग मुना ब्यवस्थापन कार्य गर्ने हो भने पाँच वर्षमा पुन कटान गर्न सकिन्छ । निजी जग्गा र खरबारीहरुमा रहेका कटुसका बोटहरुलाई समेत सदुपयोग गरेर प्रत्येक घरमा घरायसी प्रयोगको लागि मात्र भएपनि सिताके च्याउ उत्पादन गर्ने हो भने समुदायको शारीरिक र मानसिक स्वास्थ्यको विकासमा टेवा पु¥याउन सकिन्छ । आजभोली मानिसहरु माछामासुको प्रयोग कम गर्दै गइरहेको पाईन्छ । धेरै मानिसहरु अहिले उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोगहरुबाट ग्रसित रहेकोले पनि स्वस्थ जीवनयापनको लागि च्याउ सेवन गर्ने ब्यक्तिहरु बढेका छन्।

अर्कोतर्फ चिलाउने, कटुस प्रजातिका सामुदायिक वनहरुमा वनकार्ययोजना अनुसार वन सम्वद्र्धन र ब्यवस्थापन कार्य गर्दा समेत सिताके च्याउ खेतीको लागि काठका मुढाहरु प्राप्त हुन सक्छन् । यसरी प्राप्त हुने मुढाहरुलाई समेत उपयोग गर्दै सामुदायिक वनका बिपन्न उपभोक्ताहरुलाई आय आर्जनको लागि उद्यमशिल बनाउन र च्याउ खेतीमा आवद्ध गर्न सकिन्छ । यसको लागि सामुदायिक वन उपभोक्ता समूहले योजना बनाई समूहबाट निर्णय गर्नुपर्दछ । एकपटक सिताके च्याउको बीउ मुढामा राखिसकेपछि पाँच वर्षसम्म यसले उत्पादन दिन्छ । मोटामोटी पाँच बर्षमा पुरानो मुढा कुहिएपछि पुन:नयाँ मुढामा बीउ राख्नुपर्दछ । राम्रोसँग कटान गरेको कटुसको बोटको मुनाहरु ब्यबस्थापन गर्दै जाने हो भने पाँचबर्षमा पुनः कटानयोग्य हुने हुँदा चक्रीय प्रणालीबाट वन ब्यवस्थापन गर्दै च्याउखेतीलाई अगाडी बढाउन सकिन्छ ।

वनबाट प्राप्त हुने मुढाहरु उपभोक्ताहरुलाई सहुलियत मूल्यमा उपलब्ध गराई आय–आर्जनमा सहयोग गर्न सकिन्छ । सामुदायिक वनको कोषको रकमबाट सिताके च्याउ सम्बन्धि तालिम, अध्ययन भ्रमणजस्ता कार्यक्रमहरुमा उपभोक्ताहरुलाई सहयोग गर्न सकिन्छ । त्यसैले वन उद्यम प्रवद्र्धनमा समेत सिताके च्याउ खेतीलाई जोड दिन सकिन्छ । समुदायमा खपत हुन नसकेका काठका मुढाहरुलाई स्विकृत वनकार्ययोजना अनुसार प्रक्रिया पुरा गरेर बिक्री वितरण गरेर सामुदायिक वन उपभोक्ता समूहहरुले आम्दानी गर्न सक्दछन् । च्याउ खेतीको लागि कृषि मन्त्रालय, प्रदेश सरकार, कृषि ज्ञानकेन्द्रहरु र स्थानीय सरकारहरुले समेत सहयोग गर्ने गरेका छन् । सम्बन्धित निकायहरुमा सम्पर्क गरि तालिम, बीउबिजन, प्राविधिक सहयोग लगायत ब्यबसायीकरणमा सहयोग प्राप्त गर्न सकिन्छ । पाल्पा जिल्लामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना मार्फत सिताके च्याउ ब्लकको लागि बिभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।

उत्पादन गरेको सिताके च्याउ बिक्रीको लागि बजारको समस्या छैन । यस प्रदेशको सबैभन्दा ठूलो शहरी क्षेत्र र प्रदेशको राजधानी समेत रहेको हुँदा स्थानीय बजारका अतिरिक्त बुटवल बजारमा बिक्री हुने गरेको छ । बुटवलकै ठूलो डिपार्टमेन्टल स्टोर भाटभटेनीमा यसको माग उच्च रहेको हुँदा किसानहरुले उत्पादन गरेको सीताके च्याउ खपत नहुने अवस्था रहेको छैन भने यसलाई सुकाएर केहि समय पछि पनि बिक्री गर्न सकिन्छ । सुकाएको च्याउ समेत महङ्गो मूूल्यमा बिक्री हुने गरेको छ । ताजा सिताके च्याउको मूल्य प्रतिकिलो रु. ६०० मा किसानहरुले बिक्री गर्ने गरेका छन् ।

युवा उद्यमी केशव बहादुर कार्की पाल्पा जिल्लामा च्याउ खेतीका अभियन्ता हुन् । पाल्पा जिल्लाको भालेवासमा उनैले अगुवाई गरेको भैरव दर्शन च्याउ उद्योग प्रा.लि.ले गानोडर्मा ल्युकिडियम भन्ने च्याउ समेत उत्पादन गर्न सुरु गरेको छ । कटुसका मुढाहरु कटान गर्दा निस्केका पात, हाँगा र झाङ्गपातलाई समेत धुलो बनाएर त्यसैको धुलोको बलमा गानोडर्मा च्याउ फलाईएको छ । यसलाई रातो च्याउ भन्ने गरिन्छ । यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट, एन्टिभाईरल, एन्टि फङ्गल र एन्टि ब्याक्टेरियल गुण हुने भएकोले यो च्याउ औषधिको रुपमा प्रयोग हुन्छ । यसलाई एसियाली आयुुर्वेदमा वनस्पतिको राजा भनिएको छ । नेपालमा यसको बजार मूल्य प्रतिकिलो रु. ६००० देखि ८००० सम्म रहेको छ ।

वर्तमान विश्व परिवेश र हाम्रो देशको अवसथालाई हेर्दा तत्कालै ठूला–ठूला औद्योगिक विकासहरुले फड्को मार्न सक्ने अवस्था देखिँदैन । प्रकृतिको वरदान स्वरुप प्राप्त प्राकृतिक सम्पदाहरु (जमिन, जङ्गल, जनशक्ति, जडीबुटी, जलश्रोत आदि) को उच्चतम प्रयोग र दीगो व्यवस्थापन गर्दै स्थानीय स्तरमा उद्यमशिलताको प्रवद्र्धन गर्नुको विकल्प हाम्रो सामु छैन । तसर्थ सोही अनुरुप नीति निर्माण र योजना तयार गरी अधिकतम उत्पादन गर्न सकेमात्र समृद्धिको सपना साकार हुने हुँदा ठाउँ, भूगोल, हावापानी अनुरुप हरित उद्यममा आधारित बृहत उत्पादनमूखी कार्यक्रममा जोड दिन आवश्यक र अपरिहार्य छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।