ताजा अपडेट »

मुख्यमन्त्री पोखरेलद्वारा सीमावर्ती पाँच स्थानीय तहका प्रमुखसँग भिडियो संवाद

बुधबार, २६ चैत्र २०७६, १९ : ५४
2 Shares

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे आज सीमावर्ती पाँच स्थानीय तहका प्रमुखसँग एकीकृत भिडियो संवाद गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसँग मुख्यमन्त्री पोखरेलले गरेको यो पाचौें भिडियो संवाद हो ।

मुख्यमन्त्रीले नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साह, रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, दाङको गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिरसँग भिडियो संवाद गरेका हुन् । एकीकृत भिडियो संवादमा कोरोना रोकथाम र नियन्त्रणका लागि तीन तहका सरकारले अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको थियो । पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्री पोखरेलले कोरोना नियन्त्रणमा आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गनिदेशन गरेका थिए । पालिका प्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको जानकारी गराए ।

दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी गराउँदै आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाउन उनीहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले आग्रह गरे । दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न समुदायलाई खाद्यान्न लगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएको र त्यसको पहिलो व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने र आवश्यक सहयोग प्रदेशले गर्ने मुख्यमन्त्रीले बताए ।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएकोले समाजमा त्रासको वातावरणलाई चिरेर अघि बढ्न आग्रह गरे । क्वारेन्टाइनमा बसेकालाई ¥यापिड टेस्टिङ गरेपछि मात्रै पठाउने र केही दिनमै ¥यापिड टेस्ट हुने उनले बताए । त्यसैगरी ज्वरो आएका र आइसोलेसनमा रहेकालाई स्वाब परिक्षण गरिने गरी व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

सीमावर्ती क्षेत्रबाट पूर्णतः आवतजावत बन्द गर्न आवश्यक प्रवन्ध मिलाइएको, सशस्त्र प्रहरीको संख्या बढाइएको र पालिकाहरुले पनि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरे । भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको, केही दिनमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न आग्रह गरे । अहिले खेती स्याहार्ने बेला भएकाले सामाजिक दुरी कायम गर्ने गरी खेती स्याहार्ने व्यवस्थाका लागि सहजीकरण गर्न र केही समस्या आए ध्यानाकर्षण गराउन मुख्मयन्त्रीले पालिका प्रमुखहरुलाई आग्रह गरे ।

मुख्यमन्त्रीले दाताले सिधै राहत वितरण गर्न रोक लगाउन निर्देशन दिदै राहत वितरणको आवश्यक समन्वय पालिकाले गर्ने र वडा मार्फत राहत वितरणको व्यवस्था गर्दा प्रभावकारी हुने बताए । कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै उनले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गरे । अरु प्रदेशबाट आउने नाकामा कडाई गरी अघि बढ्नुपर्ने उनले बताए । अरु प्रदेशबाट आउने नाकालाई पूर्णतः बन्द गर्न ध्यान दिदा जोखिमबाट जोगिन सकिने भएकोले पालिका प्रमुखहरुलाई मुख्यमन्त्रीले ध्यानाकर्षण गराए ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा केही दिन अघि भएको आगलागीबाट प्रभावित परिवारलाई प्रदेशबाट दिइने आवश्यक राहतका लागि प्रक्रिया छिटो टुंगोमा पु¥याउन मुख्यमन्त्रीले पालिका अध्यक्षलाई आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।