May 17, 2021, Monday
३ जेष्ठ २०७८, सोमबार

मन्त्री अधिकारीको एकवर्षे कार्यकाल पर्यटन सुधारमा अनवरत प्रयास

660


फागुन १६ ,काठमाडौँ। बुधबार एयर डाइनास्टीको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको नेतृत्वमा विशेष गरी पर्यटन क्षेत्रको प्रवद्र्धन र पर्यटकीय पूर्वाधार निर्माणले गति लियो । युवा नेताका रूपमा मन्त्रीको जिम्मेवारी सम्हालेपछि सरकार गठनको एक सय दिनभित्र हुने कामका विषयमा आफ्नो मन्त्रालयका योजना सार्वजनिक गरेर यसको शुरुवात गर्नुभएको थियो ।
त्यतिबेला खासगरी उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने ‘होल्ड’ को समस्या न्यूनीकरण गर्ने उद्देश्यसहित यसको सञ्चालन अवधि १८ घन्टाबाट २१ घन्टा पु¥याउने घोषणा गर्नुभएको थियो । घोषणाअनुसार जेठ ७ गतेदेखि विमानस्थल २१ घन्टा नै सञ्चालनमा आयो । पछि त्यसलाई २२ घन्टा पु¥याइयो । 
लामो समयदेखि विवादका कारण अल्झिएको भैरहवास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको बाटो पनि उहाँकै पहलमा अघि बढ्यो । उक्त विमानस्थलको करिब ७० प्रतिशत काम पूरा भएको छ ।

असारभित्रै परीक्षण उडान गर्ने र भदौमा व्यावसायिक उडान गर्ने योजनासाथ काम भइरहेको छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनिए पनि आधारभूत काम नै अघि बढ्न नसकेको अवस्थामा मन्त्री अधिकारीको सक्रियतामा अहिले त्यहाँको २२ प्रतिशत भौतिक काम पूरा भएको छ । सन् २०२० को शुरुवाततिर यसको निर्माण पूरा गर्ने गरी काम अघि बढाइएको छ । 
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा मन्त्री अधिकारीको सबैभन्दा धेरै सक्रियता रह्यो । गोरखापत्रसँगको पछिल्लो कुराकानीमा पनि उहाँले उक्त विमानस्थल निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको थियो । काठमाडौँस्थित विमानस्थलले क्षमताभन्दा धेरै सेवा दिइरहेको अवस्थामा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयास अघि बढाइएको थियो । 
उक्त क्षेत्रमा रहेका स्थानीयलाई अहिले मुआब्जा वितरणको काम पूरा भइसकेको छ । निजगढ विमानस्थललाई यस क्षेत्रकै ‘ट्रान्जिट हब’ बनाउने लक्ष्य उहाँको थियो । त्यस्तै काठमाडौँको आन्तरिक विमानस्थलको चापलाई व्यवस्थित गर्न त्यसको विकल्पका रूपमा काभे्रको नागिडाँडामा विमानस्थल बनाउन प्रयास पनि उहाँबाटै शुरु भएको थियो । अहिले उक्त विमानस्थलको प्रारम्भिक वातावरणीय मूल्याङ्कनको काम भइरहेको छ । 
मन्त्री अधिकारीकै कार्यकालमा नेपाल वायु सेवा निगमका दुई वटा वाइड बडी विमान खरिद प्रक्रिया पूरा गरेर ल्याई सञ्चालनमा आए । यसै विषयमा उहाँ केही विवादमा पनि पर्नुभयो । मन्त्री अधिकारीले नेतृत्वकर्ताका रूपमा पर्यटन क्षेत्रकै एउटा ऐतिहासिक तथ्याङ्क सार्वजनिक गर्ने अवसर पनि प्राप्त गर्नुभयो । मन्त्रालय सम्हालेको केही समयमै नेपालको पर्यटन आगमनको तथ्याङ्कले १० लाखको ‘माइलस्टोन’ मात्र पूरा गरेन त्यो सङ्ख्या १२ लाख आसपास पुग्यो । 
सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेर त्यसको सचिवालय स्थापना गर्नेदेखि प्रायः सबै प्रशासनिक काम पूरा भइसकेको अवस्था छ । २० लाख पर्यटक ल्याउने उद्देश्यसहितको उक्त भ्रमण वर्षका योजनामन्त्री अधिकारीका प्रायः भाषणहरूमा छुट्दैनथे । 
पर्यटन प्रवद्र्धनका लागि देशभर थप नयाँ एक सय गन्तव्यको पहिचान र स्थापित एक सय गन्तव्यको प्रवद्र्धनका लागि पनि उहाँको विशेष सक्रियता रह्यो । ती ठाउँको छनोट मात्र भएन त्यसको कार्यानवयनका लागि पर्यटन विभागबाट २५ लाख रुपियाँ निकाससमेत पठाइसकिएको छ । हरेक प्रदेशमा एउटा नमुना गन्तव्य छनोटको बहुवर्षीय योजना पनि यही बीचमा अघि बढेको छ । 
देशभर बन्द रहेका आन्तरिक विमानस्थलको पुनः सञ्चालनमा मन्त्री अधिकारीको खास जोड थियो । उहाँकै प्रयासमा दाङ, राजविराजसहित देशका विकट क्षेत्रमा निर्माण भइसकेका केही विमानस्थल पुनः सञ्चालनमा आए । कतिपय स्थानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन पनि शुरु भयो । निधन हुनुअघि उहाँ तेह्रथुमको आठराईमा विमानस्थल निर्माण सम्भाव्यताकै कार्यक्रममा सरिक हुनुहुन्थ्यो । 
आन्तरिक टर्मिनलको सेवा बिहान पाँच बजेबाट शुरु गर्ने प्रयास उहाँकै थियो । यसअघि विराटनगर, सिमरा, भैरहवा, नेपालगन्जमा मात्र रहेको रात्रीकालिन उडान यसबीचमा धनगढी र चन्द्रगढीमा पनि थप भएको छ । 
यसबीचमा महत्वपूर्ण द्विपक्षीय सम्झौताहरू पनि भए । नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक थप हवाई रुटका लागि भारतसँग सहमति भई प्राविधिक टोली गठन भएर कामअघि बढेको छ । जापान र थाइल्यान्डसँग पूरानो हवाई सेवा सम्झौता पुनरावलोकन गरी उडान सङ्ख्या र गन्तव्य बढाउने सम्झौता भएको छ । नेपाल र कम्बोडियाबीच हप्तामा १४ ओटा उडान गर्न पाउने गरी काठमाडौंमा नयाँ हवाई सेवा सम्झौता सम्पन्न्न भएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन सङ्गठन(आइकाओ)को गम्भिर सुरक्षा चासोबाट पनि नेपाल २०१८ को जुलाईबाट हटेको छ । 
मन्त्री अधिकारीको विशेष पहलमा नै हवाई यात्रुलाई प्रत्यक्ष लाभ पुग्ने मन्ट्रीयल महासन्धि संसद्बाट अनुमोदन भएको थियो । अन्तर्राष्ट्रिय उडानका क्रममा हुने दूर्घटनाबापत हवाई यात्रुले प्राप्त गर्ने बीमा सुविधामा नेपालीले अत्यन्त थोरै रकम मात्र पाउने अवस्था यसअघि थियो । उक्त महासन्धी अनुमोदन भएर कार्यान्वयनमा आइसकेपछि अब हवाई यात्रुको क्षतिपूर्ति बीमा पूरानो २० लाख रुपियाँबाट वृद्धि भई एक करोड ६० लाख रुपियाँ कायम भएको छ।-विश्वास रेग्मी (गोरखापत्र)

पछिल्लो अपडेट