ताजा अपडेट »

रोमाका रहर

मंगलबार, २५ चैत्र २०७६, २० : ०७
20 Shares

एउटी प्रतिभाशाली नारीको संघर्ष र भोलिको सपना


आफ्नो गुमेको देब्रे खुट्टो हेरेर रोमा कहिल्यै रोइनन् । ईच्छाका बैसाखीले नेपालका सबै जिल्ला र संसारका करिव डेढ दर्जन देश टेकिन । नेपाल र नेपालीका विशेषताका वर्णन गरिन् । नेपाली लोकसंस्कृति र सभ्यतालाई सबैका माझ परिचित गराई रहिन् । लेखिन् आफ्नै क्षमता र दक्षताको पौरखले आफ्नै नौलो परिचय One Leg Dancer को ।

रोमाले आफ्नो खुट्टो गुमाउँदा आफ्नै उमेरले ८ टेक्दै थियो । दिदीहरुसँगै कक्षा एकको पढाईमा सामेल हुन स्कूल जाँदा मोटरले किचेर उनको खुट्टो सधैंका लागि चुँडाएर लग्यो । त्यतिबेला उनले केही थाहा पाइनन् । होशमा आउँदा कोशी अञ्चल अस्पतालको बेडमा उचार गर्दै थिइन् । करिव ६ महिनाको उपचारपछि उनी घर फर्किन् तर स्कूल फर्किन वर्ष दिन लाग्यो । अभावका आकासमूनि नौं जनाको परिवारमा काहिंली छोरीका रुपमा जन्मिएकी रोमाका बाबाले प्राइभेट कम्पनीमा ड्राईभिङ्ग गर्थे । आमाले सुनसरीको इटहरी बजारमा आफ्नै चियापसलको किट्लीबाट उड्दै गरेका वाफ हेरेर जीवनका दुःखहरु चियाइ रहेकी हुन्थिन् । दुःख र पीडाले पारेका चोइटा चोइटा मनहरुलाई आफ्ना जीवनका चक्रपथमा घुमाइ रहेकी थिइन् ।


एसएलसी गरेर सम्भवत् उनी २०५३/२०५४ सालतिर काठमाडौं पुगिन् । सहारा कोही थिएनन् त्यहाँ । गन्तव्य पनि सुपामा घुम्ने ध्यू कमिलाको जस्तै अस्पष्ट थियो । तैपनि प्राइभेट रुपमै कक्षा ११/१२ उत्तीर्ण गरिन् । केशव सापकोटाले उनलाई नृत्य सिकाइ दिए । केशवले गुरु दक्षिणाबिना पनि उत्तम तरिकाले नृत्य सिकाई दिएर आज रोमालाई जीवन जिउने सीप दिएका छन् । २०५६ सालमा आफ्नो नृत्यप्रतिभा कमलादीमा रहेको प्रज्ञाप्रतिष्ठानमा पहिलोपटक देखाइन् । त्यो नै उनका लागि नृत्य क्षेत्रमा कोसे ढुंगो सावित भयो । त्यसपछि नृत्यक्षेत्रमा कहिल्यै पछाडि फर्किनु परेको छैन उनलाई ।

आफूसँग रहेको दाहिने खुट्टोले करिव पाँचवटा गीतमा निरन्तर नृत्य गर्न सक्छिन् । थकाई कुन चरीको नाम उनलाई हेक्का हुँदैन । त्यो समेत याद हुँदैन रे ! नृत्य गर्ने बेलामा–म अपाङ्गताभित्रको एउटी नारी हुँ । कुन वेगमा र कति लिप्त भएर उनी नृत्य गर्छिन भन्ने कुराको योभन्दा गहिरो प्रमाण अरु के हुन सक्छ र ? उनीसँग एउटा खुट्टो नभएर के भो र नृत्य गर्ने अद्वितीय एवम् अनुपम कला छ । गायन कला छ । कम्प्यूटर चलाउने र बुन्ने सीप समेत छन् ।


निरन्तरताको अभ्यास,दर्शकका अमीट माया,७० वर्षे आमा विन्दा न्यौपानेको आशीर्वाद,अग्रज कलाकारको हौशला र हिंजोका अभावका छाकहरुले आज रोमालाई नेपाली सांस्कृतिक क्षेत्रमा असल नृत्य कलाकारको रुपमा स्थापित गराएको छ । उज्यालोको लिस्नो उक्लेर सुन्दर भविष्यको सगरमाथा चढ्दैछिन् रोमा । नृत्य गर्दा बगाएका परिश्रमका पसिनाले खुसी भई सुखका दुई छाक खाएकी छन् । पैसाको पहाड न उचालेपनि अभावका साँघुहरु सजिलै तरेकी छन् ।

रोमालाई जिन्दगी र आफ्ना परिवारप्रति कुनै गुनासो छैन । बाबाले जीवन त्यागेको पनि १२ वर्ष नाघ्यो । एक्लो भाइसँगै बुढी आमाले जिन्दगीका यात्रा गरिहेकी छन् । दिदीबहिनीहरुले पारिवारिक यात्रामा पौडी खेलिरहेका छन् । बाटो फेरिएपछि यात्रा पनि फरक हुँदो रहेछ रोमाले यही कुरा बुझेरै आफ्नो नृत्य यात्रालाई निरन्तरता दिइ रहेकी छन् । नृत्य कलामा नयाँनयाँ रङ् र शिल्प मिसाउँदै छिन् । परदेशमा राष्ट्र चिनाउने गीतमा नृत्य गर्छिन । स्वदेशका मेला महोत्सवहरुमा रिमिक्स गीतमा नृत्य गर्दा पाएको दर्शका मायालाई मनको पटुकीमा कसेकी छन् । उनको नृत्यप्रतिभा हेरिरहँदा न हामीलाई न उनी आफैलाई अपाङ्ग भए जस्तो लाग्छ ।

उनमा सकारात्मक सोच,भविष्यका सुन्दर सपनाहरु छन् । रहरका पोका बोकेर बत्तासिएकी छैनन् बताससरि । बरु उडी रहेका अवसरलाई काबूमा राखेकी छन्,आत्मविश्वास र हिम्मतले ।भावुकताको मझेरीमा कहिलेकाँही विद्रोहको श्वर उरालेकी छन् जीवनको आफ्नै यात्रामा । प्रसिद्ध गीतकार कालीप्रसाद रिजालले भनेका थिए–विश्वास त आफूले आफ्नै आँखामाथि गर्नु पर्दोरहेछ । हो ! रोमाले आफ्नो नृत्यप्रति आफ्नै विश्वासको सम्राज्य जमाएकी छन् । यही नृत्य राजमा हामी दर्शक र उनी नृत्य–साम्रज्ञी बनेकी छिन् ।

विगतका यादहरुले उनको जीवनलाई रेटेको छ । आफू जस्तो आफन्ती कहीं भेटेकी छैनन् । नृत्यबाट कमाई गरेर पसिना रोप्ने एक हात जमीन किन्ने सपनालाई ठूलो मानेकी छैनन् उनले । यादका लामा धागोहरु बाटेर जीवनको लट्टाई समाई रहने उनको इच्छामा बिर्को लागेको छैन । खुट्टो गुमाएको पीडा घरकालाई कम,आफूलाई झनै कम तर छिमेकी र साथीहरुलाई बढी हुँदोरहेछ रोमाले भन्दैथिइन्–अपाङ्ग भनेर खिज्याए कसैले । विचरा के गरी खाली अब भनेर चुकचुक गरे धेरैले । अरुका कारण पो म अपाङ्ग बनें । एउटा खुट्टो गुमेपनि मन गुमेको थिएन,शाहस घटेको थिएन र उत्साहमा कुनै कमी आएको थिएन मेरो । कचौराको थोरै तरकारीले थालभरिको भातलाई तुरे जस्तै जीवनमा थोरै सुखले धेरै दुःखलाई मेटाउनु पर्दोरहेछ ।

धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीसँगै कक्षा ७/८ ईटहरीकै जनता माविमा पढेकी थिएँ । आफ्नै साथीले नगरको नेतृत्व गर्ने ठाउँमा पुग्दा खुसी लाग्दो रहेछ । तँतँ र मम गरिन्थ्यो त्यतिबेला मञ्जुसँग । तर आज ऊ नेता म हातमा बत्ती लिएकी केटी Lady  with the Lamp ) मा नायिकाको रोलमा छु –रोमाले भन्दैथिइन् । उनलाई अग्रज कलाकारहरुले माया गर्छन्,सहारा दिन्छन् । समकक्षी साथीहरुले साथ दिन्छन् र नयाँ कलाकार साथीहरुले प्रेरणाका स्रोत मान्छन् । उनको नृत्यकलाको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले–२०७२ सालमा युवा प्रतिभा पुरस्कारद्वारा पुरस्कृत गरेको थियो ।

हरिबहादुर मदनबहादुर,अंश,डाक्टर सरिता,डिठ्ठा साहेव,दुईवटा ठूला पर्दाका फिल्म र एक दर्जनबढी म्यूजिक भिडियोमा आफूलाई कलाकार बनाएर उभ्याएकी रोमाका अन्तिम रहर भनेकै उमेर रहुञ्जेल नृत्य गरिरहने,चलचित्रमा अभियन गर्ने र आफू जस्तै अपाङ्गताभित्र रहेका साथीहरुलाई सक्दो सहयोग गर्ने नै हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।