ताजा अपडेट »

तेजपात तथा दालचिनीको उत्पादन र व्यापार : समृद्धिको आधार

मंगलबार, २५ चैत्र २०७६, १७ : ४९
129 Shares


धेरैवर्ष पहिला पाल्पाका गाउँहरुमा खेती गृहस्थीबाट बढीमा ६ महिनासम्म खान पुग्ने तर गाउँमा दुईचार पैसा आउने बाटो केही थिएन । २०५८ सालतिरबाट पाल्पा जिल्लाका कृषकहरुका निजी जग्गाको तेजपात र दालचिनी भारत निकासी हुन थाल्यो तब ग्रामीण भेगका विपन्न कृषकहरुलाई नून,तेलको जोहो गर्न सहयोग पुग्यो । ढिक, कान्ला, पखेरा, खरबारी र खोरियामा रहेका तेजपातका बोटहरु अहिले पाल्पाली किसानहरुको दुहुना गाई बनेका छन् । स्थानीयस्तरमा तेजपात, सिन्कौली, सुनकाउली, दालचिनी, तेजी, तेजीपत्ता आदि विभिन्न नामले चिनिने यस प्रजातिको वैज्ञानिक नाम Cinnamomum tamala हो । समूद्री सतहबाट ४५० मिटरदेखि २१०० मिटरसम्म खेती गर्न सकिने तेजपात चुरेक्षेत्रदेखि मध्यपहाडसम्म एकदम राम्रो फस्टाउन सक्छ । उत्तरी र पश्चिमी मोहडाका चिसो वा छहारी परेका भागहरुमा (कालो वा बलौटे माटोमा) यो वनस्पति राम्ररी फस्टाउँदछ । सुन्कौली सुन बनेर आएको छ अचेल ।

पहाडीक्षेत्रका सामुदायिक वन, कबुलियती वन तथा निजी जग्गामा खेती गर्न सकिने यो प्रजाति गै¥हकाष्ठ वन पैदावार प्रजाति हो । नेपाल सरकारले जल, जमीन, जङ्गल, जडीबूटी, जनशक्ति गरी पाँचवटा ‘ज’ मार्फत देशलाई समृद्ध बनाउने अभिलाषा लिएको छ । त्यही अनुरुप ३० प्रकारका जडीबूटीहरुलाई नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबूटी भनेर सूचीकृत गरेको छ । त्यसमध्येमा यो प्रजाति सूचीकृत रहेको हुँदा यो प्रजातिको व्यवसायिक महत्व रहेको छ ।
बारी, कान्लाहरुमा प्राकृतिक रुपमामात्र पाईने तेजपातको विगत एक दशकदेखि पाल्पा जिल्लामा ब्यवसायिक रुपमा खेती गरिएको छ । त्यसो त पूर्वको उदयपुर जिल्ला तेजपात ब्यवसायमा अग्रणी मानिन्छ । अहिले यी जिल्लाहरुका अतिरिक्त गुल्मी, अर्घाखाँची, स्याङ्गजा लगायत देशका विभिन्न जिल्लामा यसको ब्यवसायिक खेती प्रवद्र्धनमा जोड दिएको पाइन्छ ।

तेजपात खेती कृषकहरुका माझ लोकप्रिय हुनुमा यसका केही विशेषताहरु रहेका छन् । यो प्रजाति एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिई रहन सकिन्छ । यसको खेती तथा ब्यवस्थापन गर्न विशेष प्राविधिक ज्ञान चाहिँदैन । घरमै बस्ने परिवारका सदस्यहरुले फूर्सदको समय निकालेर पात टिप्ने, बोक्रा निकाल्ने, सुकाउने, प्याकेजिङ्ग गर्ने जस्ता कामहरु गर्न सक्दछन् । एकपटक काटेपछि प्रशस्त मात्रामा मुना पलाएर आउने हुनाले काटिसकेपछि बोट नै मर्ने वा फेरि बिरुवा रोपी रहनुपर्ने झन्झट रहँदैन । पात र बोक्रा बिक्री गर्न बजारको समस्या रहेको छैन । गाउँघरमा नै पात र बोक्रा खरिद गर्ने ब्यापारीहरु पुगेर किसानहरुले उत्पादन गरेको तेजपात र दालचिनी खरिद गरिरहेका छन् । तसर्थ यो प्रजाति गाउँघरमा लोकप्रिय जडीबूटी प्रजातिको रुपमा स्थापित भईसकेको छ ।

यसको प्रसारण प्रायः बीउबाट नै गर्ने गरिएको छ । वसन्त ऋतुमा पाक्ने तेजपातको बीउबाट नर्सरीमा उमारिएका बिरुवाहरु किसानहरुको खेतबारी तथा वनक्षेत्रमा रोपण गर्ने गरिन्छ । रोपण गरेको ४/५ बर्षपछि पातको उत्पादन लिन सकिन्छ भने बोक्राको उत्पादन लिन ७/८ वर्ष पर्खिनुपर्ने हुन्छ । वर्षको एकदेखि द्ईपटकसम्म पात टिपेर आम्दानी लिन सकिन्छ । बोक्रा निकाल्नको लागि रुख नै काटेर निकाल्ने प्रचलन रहेकोले प्रत्येक वर्ष बोक्रा निकाल्ने रुखहरु यकीन गरि वर्षेनी आम्दानी लिने गरी ब्यवस्थापन गर्न सकिन्छ । रुख काटिसकेपछि यसबाट प्रशस्त मुनाहरु पलाएर आउँछन् । रोपण गरिएका बिरुवाबाटभन्दा काटेर पलाई सकेका मुनाबाट छिटो आम्दानी लिन सकिन्छ । स्वस्थ मुनाहरुलाई राख्ने र अस्वस्थ मुनाहरुलाई हटाउँदै यसको ब्यवस्थापन गर्न सकियो भने छोटो समयमा नै धेरै आम्दानी लिन सकिन्छ ।

पाल्पा जिल्लामा दुई दशकदेखि तेजपात तथा दालचिनी बोक्रा भारतीय बजारमा निरन्तर बिक्री हुँदै आईरहेको छ । त्यसभन्दा अघि छिटफूट रुपमा बुटवल लगायतका बजारमा आफै लगेर बिक्री गर्ने प्रचलन रहेतापनि यसको ठूलोमात्रामा ब्यवसायिक कारोबार हुन सकेको थिएन । झरेर जाने पात पनि बिक्री हुन्छ भन्ने किसानहरुलाई लागेकै थिएन । जब ब्यापारीहरु गाउँघरमै पुगेर किसानहरुले संकलन गरि राखेका पात तथा बोक्रा खरीद गरी भारतीय बजारमा लगेर बिक्री गर्न थाले । किसानहरु यसको ब्यवसायिकतातर्फ आकर्षित हुँदै गए । प्राकृतिक रुपमा रहेको तेजपातका बोटहरुलाई संरक्षण गर्न थालियो भने खाली रहेका जग्गाहरुमा विरुवा रोपेर हुर्काउने अभियान नै सुरु भयो । सामुदायिक वन समन्वय समिति,तिनाउले त एक घर १० दालचिनीको बोट र १० वर्षपछि पेन्सन नारा समेत तय गरेको थियो ।

एकदशकदेखि वन कार्यालयले समेत लाखौँको संख्यामा विरुवा उत्पादन गरेर कृषकहरु सामुदायिक वन तथा कबुलियती वन समूहका उपभोक्ताहरुलाई निजी जग्गा र वनक्षेत्रमा रोपण गर्नका लागि उपलब्ध गराउने काम गर्यो । खेती र ब्यवस्थापनको लागि प्राविधिक सहयोग उपलब्ध गरायो । यसको प्रवद्र्धन र ब्यवसायिकता अभिवृद्धिको लागि गाउँघरमै पुगेर कृषकहरुसँग अन्तक्र्रिया गर्ने, तालिम, गोष्ठी जस्ता जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेर तेजपात खेतीको बिस्तार र ब्यवसायिकरणमा सहयोग समेत पुगेको छ ।

पाल्पा जिल्ला तेजपात खेतीको पकेट क्षेत्र हो । जिल्लाका दोभान, कोलडाँडा, गोठादी, बल्ढेङ्गढी, सत्यवती, छहरा, भूवनपोखरी, सोमादी, झडेवा लगायत साविकका पन्ध्रवटा गा.वि.स.लाई तेजपात विशेष पकेट क्षेत्रको रुपमा कार्यक्रम अगाडि बढाईएको छ । दोभानको बेरुवामा दालचिनी मिनी महोत्सव नै सम्पन्न भएको छ । सो महोत्सवले उत्पादक र मध्यस्थकर्ताहरुका बीच नयाँ सम्बन्ध कायम गरेको छ । साथै उक्त महोत्सले दालचिनीका महत्व बारेमा सर्वसाधारणलाई समेत जानकारी दिने काम भएको छ । सामुदायिक वन समन्वय समिति,तिनाउको पहलमा दालचिनी पर्यटकीय पदमार्ग समेत घोषणा गरिसकेको छ ।

तेजपात खेतीको भविष्य उज्ज्वल छ । यो मसला र औषधि दुबै रुपमा प्रयोग हुने गर्दछ । अहिले हामी कोरोना रोगको महामारीको सन्त्रासमा छौँ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वैकल्पिक चिकित्सा तथा आयुर्वेद विभागले यसै सन्दर्भमा सूचना नै जारी गरेर भनेको छ,कि २ ग्राम तेजपात र २ ग्राम दालचिनीलाई उमालेर चियाजस्तै प्रयोग गर्दा हाम्रो शरीरमा रोग प्रतिरोधातम्मक क्षमता बढ्न गई कोरोना लगायत अन्य रोगहरुले समेत आक्रमण गर्न सक्दैनन् । त्यसैले स्थानीयस्तरमा यसको प्रयोगको महत्व दिनानुदिन बढिरहेको छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै तेजपात र दालचिनी उत्कृष्ट मसलाको रुपमा प्रयोग हुन्छ । अझ सबैभन्दा बढी मसलाको प्रयोग भारतमा हुने भएकोले भारतमा जबसम्म मसला प्रयोग गर्ने प्रचलन रहन्छ तबसम्म नेपाली दालचिनीको बजार रहिरहन्छ भनेर चर्चा समेत गरिन्छ । आयुर्वेदिक महत्वको हिसाबले यसलाई वाकवाकी, वमन, वात शामक, उत्तेजना, पौष्टिक तथा सुगन्धित तेलको रुपमा प्रयोग गर्न सकिने आयुर्वेद ग्रन्थहरुमा उल्लेख छ ।

पाल्पा जिल्लाबाट पाँचषर्वभित्र निकासी भएका तेजपात र दालचिनीको तथ्याङ्क विश्लेषण गर्ने हो भने पाँच वर्षमा ४ हजार ८ सय ६६ टन तेजपात र १ हजार १ सय ९५ टन दालचिनी किसानहरुको निजी जग्गाबाट मात्र भारत निकासी भएको देखिन्छ । स्थानीय औषत बजार मूल्यलाई आधार मान्ने हो भने वार्षिक कम्तिमा ७ देखि ८ करोड रुपैयाँ तेजपात र दालचिनी खेतीबाट जिल्लामा भित्रिने गरेको अवस्था छ । यसले जिल्लाको ग्रामीण अर्थतन्त्रमा उल्लेख्य टेवा पुर्याएको छ । उपरोक्त तथ्याङ्क भारत निकासीको मात्र हो भने स्थानीय प्रयोग र नजिकका सहर बजारहरुमा गरेको बिक्रीलाई आधार मान्दा जिल्लामा दशौँ करोड रुपैयाँ तेजपात र दालचिनी खेतीबाट मात्र प्राप्त हुनु यस जिल्लाका स्थानीय बासिन्दाहरुको लागि अत्यन्त सुखद कुरा मान्न सकिन्छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गरेको छ यसले । बालबालिकाहरुको पढाईलेखाई, घरखर्च चलाउनेदेखि गाउँमा दुईचार पैसाको लागि कसैको मुख ताक्न नपर्ने बनाएको छ, तेजपातले । त्यसैले तिनाउ गाउँपालिकाको ज्यामिरे गाउँलाई तेजपातको कारण ऋणमुक्त गाउँ भनेर कान्तिपुर र नेपाल साप्ताहिक पत्रपत्रिकाले लेखेका हुन् । केही वर्षदेखि पात र बोक्राको अतिरिक्त बीउको रुपमा तेजपातको फल समेत देशका विभिन्न जिल्लामा बिक्री हुने गरेको छ । त्यसबाट विद्यालय छुट्टी भएको समयमा बालबालिकाहरुले बीउ सङ्कलन गरि कापी तथा कलमको लागि पैसा जुटाउने गर्दछन् ।

मुख्यरुपमा तेजपात र दालचिनीको ब्यवसाय भारतीय बजारमा निर्भर रहेको हुँदा कहिलेकाही मूल्यमा तलमाथि हुनसक्दछ । गतवर्ष तेजपातको मूल्यमा गिरावट आएकोले किसानहरु चिन्तित बने तर यो वर्ष फेरि मूल्य उकालो लाग्दैछ । पातको मूल्य औषतमा प्रति के.जी ४५ रुपैयामा किसानको घरबाटै बिक्री भईरहेको छ । बोक्राको मूल्य औषत प्रति के.जी. ११० देखि ११५ रुपैया सम्ममा बिक्री हुने गर्दछ । हामीले सङ्कलन गरेका पात र बोक्राको गुणस्तर जति राम्रो भयो यसको बजार र प्राप्त हुने मूल्य उति नै राम्रो हुन जान्छ । त्यसैले यसलाई सुकाउने, प्याकेजिङ्ग गर्नेजस्ता कुराहरुमा हामीले विशेष ध्यान दिनुपर्दछ । अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्प्रर्धा गर्नसक्ने गुणस्तरीय तेजपात र दालचिनी हामीले बजारमा पठाउन सक्यौँ भने हाम्रो खेती, ब्यवसाय र हाम्रो बजार सुनिश्चित र दीगो बन्न जान्छ । यसतर्फ उत्पादक र संकलकहरुको ध्यान जानु जरुरी देखिन्छ ।
भारतीय बजारमामात्र निर्भर हाम्रो तेजपात ब्यवसायको स्वदेशमा पनि उज्ज्वल भविष्य छ । स्वदेशभित्र यसको बजार प्रवद्र्धन गर्नको लागि सम्भावनाहरु खोजिनु पर्दछ ।

पाल्पा जिल्ला आन्तरिक र बाह्य पर्यटकहरुको केन्द्र पनि हो । तेजपात पर्यटनको प्रचुर सम्भावना छ । तेजपातका बगानमा रमाउने, हेर्ने, घुम्ने अध्ययन गर्ने र पर्यटकहरुलाई स्थानीय होम स्टेमा तेजपातकै माला लगाई आतिथ्यता प्रदान गर्न सकियो भने स्थानीय स्तरमा अर्थोपार्जन हुन्छ । कोलडाँडा, हात्तीकोट, सत्यवती (खुर्साने) जस्ता ठाउँहरु यसका प्रचुर सम्भावना बोकेका ठाउँहरु हुन् । ईलाम जिल्ला जसरी चिया पर्यटनमा केन्द्रीत छ । त्यस्तै पाल्पा जिल्ला तेजपात पर्यटनको केन्द्र बन्न सक्दछ । पर्यटकहरुले स्थानीय उत्पादनलाई प्राथमिकता दिन्छन् । त्यसैले तेजपात र दालचिनीलाई आकर्षक रुपमा प्याकेजिङ्ग गरि कोशेली उत्पादन गर्न सकिन्छ । स्थानीयस्तरमै गुणस्तरीय मसला बनाई नजिकको बुटवल बजारलाई केन्द्रीत गरेर देशभर खपत गर्न सकिन्छ । तेजपातको माला मौलिक पहिचान हो । जिल्लाभर र छिमेकी जिल्लामा हुने कार्यक्रमहरु, सभा तथा समारोह एवंम् बिवाह लगायतका कार्यक्रमहरुमा तेजपातको माला प्रयोग गर्ने संस्कृतिको विकास गर्न सकिन्छ । आजभोलि गाउँघरमा समेत बजारबाट फूलका मालाहरु खरीद गरेर ल्याउने प्रचलन छ । बजारको मालासँग तेजपातको मालाले मूल्य र गुणस्तरमा सजिलै प्रतिस्प्रधा गर्नसक्ने हुँदा यसको प्रवद्र्धन गर्न सकिने यथेष्ट सम्भावना छ । लगाई सकेपछिको सो माला सुकेपछि तरकारीमा हालेर खान मिल्ने भएको हुँदा जन्तीहरुले पक्कै फाल्ने छैनन् ।

तेजपातको फेरि नयाँ सम्भावना देखा परेको छ । माथि नै चर्चा गरिसकिएको छ, कोरोना भाईरसको सम्भावित सङ्क्रमणसँग जुध्नको लागि नेपाल सरकारको आधिकारिक निकाय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तेजपात र दालचिनीको चिया खान सुझाएको छ । हामी घरघरमा तेजपात र दालचिनीको चिया खान सक्दैनौँ र ? हाम्रै घरआँगनमा भएको तेजपात र दालचिनी सेवन गरी स्वस्थ हुन र विश्वब्यापी महामारीसँग जुध्न हामीलाई अवसर प्राप्त भएको छ, अवसरको सदुपयोग गरौँ । प्रत्येक चिया पसल र होटलहरुमा अनिवार्य रुपमा तेजपात र दालचिनीको प्रयोग गरौँ । तेजपात र दालचिनीको चिया पाईने पसलहरु खोलौँ । परिवार, समूदाय र राष्ट्रलाई स्वस्थ बनाऔँ । स्थानीय उत्पादन प्रवद्र्धन गरि आर्थिक समृद्धि हासिल गरौँ । -लेखक हरित अभियन्ता हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।