ताजा अपडेट »

टोलबस्तीमा स्थानीय जनप्रतिनिधि एवम् सुरक्षाकर्मी पुगे

मंगलबार, २५ चैत्र २०७६, ११ : ३५
8 Shares

बुटवल । तिनाउ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष एवम् प्रवक्ता राजेश श्रेष्ठ,वडा नं.१ का वडासदस्य अमर तरामू मगर र दोभान प्रहरी चौकी इन्चार्ज बालबहादुर घर्तिमगर लगायतका सुरक्षार्मीको टोलीले सोमवार वडा नं.२ का गणेशटोल,नुवाकोट,हरियाली गाउँ हुँदै वडा नं. १ का रामपाटा,झिंगामारा र ठूलीउदाङ्ग पुगी स्थानीय टोलबासीहरुसँग स्वास्थ्य तथा सुरक्षाका सन्दर्भमा छलफल गरेको छ । कोरोना रोग,सो रोगका लक्षण चिन्हहरु,सुरक्षाका लागि अपनाउनु पर्ने उपायहरु र उपचारका बारेमा जानकारी गराउँदै सरकारले लकडाउनका लागि दिएको निर्देशन र राहत प्याकेजका सन्दर्भमा विषयमा छलफल भएको थियो ।

उक्त टोलीले नागरिकहरुलाई अनावश्यक रुपमा गाउँघरमा नडुल्न,नयाँ सदस्यहरु देशविदेशबाट घरमा आएका भए होम क्वारेन्टाइनमा बस्न र वनजंगलमा गई सिकार नगर्न समेत गाउँबासीहरुलाई विशेष अनुरोध गरेको छ । चैत्र बैसाखको महिना डढेलो लाग्न सक्ने भएको हुँदा सो कुरालाई ध्यान दिन सम्बन्धित सामुदायिक वनका उपभोक्ताहरुलाई अनुरोध गरेको छ । ठूलीउदाङ्गका स्थानीय बासिन्दाहरु ज्ञानबहादुर खाम्चा,मानबहादुर सूर्यबंशी र कर्णबहादुर तरामू लगायतले आफूहरु गाउँमै पसिना बगाएर दुई छाक टारेको र स्वस्थ समेत रहेको हुँदा कोरोनाले आफूहरुलाई कुनै हालतमा छुन नसक्ने बताए । बरु उनीहरुले मुुर्गियाको बाटो हुँदै झिंगामारामा नयाँ मान्छेहरु धेरै आएका हुँदा उनीहरुले आफूूहरुलाई रोग सार्न सक्ने सम्भावना रहेको र त्यस्ता नयाँ मान्छेहरुलाई यहाँ आउन रोक लगाएमा जाती हुने प्रहरीसँग अनुरोध गरेका छन् ।

वडा नं. १ का वडासदस्य एवम् घुम्ती टोलीका सदस्य अमर तरामूले आफ्नो वडामा स्थानीय सरकारका प्रवक्ता एवम् दोभान प्रहरीका इन्चार्ज समेतको विशेष उपस्थितिले कोरोनाबाट डराई रहेका स्थानीय नागरिकहरुलाई उत्साह बढाएको बताए । उनले रोगबाट बच्ने उपायहरु एवम् लकडाउनलाई पालना गर्न दिएको निर्देशनले स्थानीयहरु खुसी भएको समेत बताए । स्थानीय सरकार हाम्रो हो भन्ने सन्देश दिन सकेको र आगामी दिनमा समेत यस्ता खालका स्वास्थ्य तथा सुरक्षाको टोली गाउँगाउँमा निरन्तर आइरहन सदस्य तरामूले अनुरोध गरेका छन् ।

कार्यक्रममा दोभान प्रहरी चौकीका इन्चार्ज बालबहादुर घर्तिमगरले झिंगामारा क्षेत्रमा अनावश्यक रुपले अपरिचित व्यक्तिहरु आइरहेको आफूहरुले सूचना पाएको हुँदा गस्ती गर्न आएको र त्यस्ता नयाँ मानिसहरु यस क्षेत्रमा आइ हालेमा सुरक्षाकर्मीहरुलाई तुरुन्त खबर गर्न समेत अनुरोध गरेका छन् । साथै उनले सरकारले लकडाउनको बेलामा डुल्न,घुम्न सक्त मनाही गरेको हुँदा स्थानीय नागरिकहरुलाई आफ्नै घरमा बसेर रोगबाट बच्न समेत अनुरोध गरेका छन् ।


गाउँमा आफूहरु पुग्दा स्थानीय नागरिकहरुलाई हौशला मिलेको गारो सारो बुझ्न सम्भव भएको र संवादका कारण समस्या आइ हालेमा समाधानका बाटाहरु खोज्न समेत सकिने तिनाउ सरकारका प्रवक्ता एवम् वडा नं. २ का वडाध्यक्ष राजेश श्रेष्ठले बताए । साथै उनले दोभान माविमा निर्माण गरिएको १० शैयाको अस्थायी क्वारेन्टाइन सेन्टरमा नयाँ आएका कुनै नागरिकहरु भए स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बस्न समेत अनुरोध गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।