ताजा अपडेट »

शाइन रेसुङ्गाद्वारा प्रदेश ५ को कोषमा हालसम्मकै ठूलो आर्थिक सहयोग

सोमबार, २४ चैत्र २०७६, २१ : १९
4 Shares

बुटवल । मुलुक कोरोना संक्रमणको उच्च जोखिममा रहेको बेला यसको नियन्त्रण र रोकथामका लागि स्थापना गरिएका कोषमा बैंकहरुको सहयोग करिब अग्रपंतिमै छ । प्रदेश ५ सरकारले पनि कोष स्थापना गरेको छ । जसमा विभिन्न संघ–संस्थाहरुले सहयोग गरिरहेका छन् । यस्तै विभिन्न बैंकहरुको सहयोग पनि निरन्तर रहेको छ । यसै क्रममा बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि.ले पनि प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा २५ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

सोमबार मुख्यमन्त्री कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल,बैंकका पूर्व अध्यक्ष थानेश्वर पौडेल, सञ्चालक डा. ताराप्रसाद उपाध्याय र मोहन चापागाईंले मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकम बराबरको चेक प्रदान गरेका हुन् । प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेको स्थापना गरेको उक्त कोषमा निजी क्षेत्रबाट हालसम्म सबैभन्दा धेरै रकम दिने संस्थामा शाइन रेसुुङ्गा बैंक रहेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए । उक्त कोषमा बैंक, सहकारी र निजी क्षेत्रका संघसंस्थाले हालसम्म ९१ लाख रुपैयाँ जम्मा गरेका उनले बताए ।

चेक हस्तान्तरणका अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र संक्रमतिको उपचार सरकार एक्लैले गर्न नसक्ने हुंदा निजी क्षेत्रको साथ र सहयोगको खांचो रहेको बताए । बैंकका प्रमुख प्रशासकीय अधिकृत पौडेलले अस्पतालहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु पनि बैंकले उपलब्ध गराउने प्रतिबद्धता जनाए । शाइन रेसुङ्गा प्रदेश ५ का पाँचवटा विकास बैंकहरु मिलेर बनेको प्रदेशकै पहिलो राष्ट्रियस्तरको विकास बैंक हो । यसको अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी दुई अर्ब ६२ करोड रहेको छ । बैंकका हालसम्म ७० वटा शाखा कार्यालय र चार लाख बढी ग्राहक रहेका बैंकका वरिष्ठ प्रवन्धक लालमणि पन्थीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।