१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

एउटी महिलाको कृषि कर्म र भविष्यको गन्तव्य

गोमाको विहे हुँदा उमेरले १९ टेक्दै थियो भने श्रीमानको २३ पूरा । माइतीघरकी एक्ली छोरी । दुई दाइहरु थिए उनका । बाबा गाउँकै शिक्षक । शिक्षाको उज्यालो घाम बाँड्दै हिडेका दुर्गा खनालले आफ्नी छोरीलाई पश्चिम पाल्पाको भैरव जनता माविबाट २०५४ मा प्रवेशिका उत्तीर्ण गराई सोही वर्ष हुमनाथ भण्डारीलाई ज्वाइँ बनाए । गोमाको माईतीघर पाल्पाको रिब्दिकोट मालमुल गाउँ हो भने कर्मघर तिनाउ गाउँपालिका वडा नं.६ मस्याम गाउँको कुट्डाँडा हो ।

Advertisement

कुट्डाँडामा उनीहरुको पुरानो बार्दली सहितको पुर्खौली घर छ । गोठमा एउटा दुहुनो गाई छ । डाँडामा घर,उस्तै हावा चलिरहन्छ । छोटो परिवार छ । सासु र श्रीमान जीवनका मार्गदर्शक बनेका छन् । ससुराले साथ छोडेको पनि ढाईवर्ष भयो । जेठो छोरोले सरकारी छात्रवृत्तिमा नाम निकालेर पक्लिहवा कृषि क्याम्पसबाट बिएस्सी एजीको तेस्रो सेमेष्टर परीक्षा दिइसकेको छ । कान्छो छोरो डुम्रे बजारको सनराईज बोर्डिङ्ग स्कूलबाट एईई दिने तयारीमा छ ।

गोमा सुखमा खाई खेली हुर्किएकी एक्ली छोरी थिइन् । उनलाई माइतीघरमा खासै घाँसदाउरा गर्नु परेन । शिक्षित र सानो परिवार भएकाले काममा खासै चाप थिएन । दुःखका कुनै पहाड उक्लिनु परेन । सुखैमा हुर्किएकी उनलाई विहेपछिका दिनहरु भने त्यति सहज भएनन् । कान्छी बुहारी भएर आउँदा पाँच जेठाजूहरु विहे गरी छिन्नभिन्न भइसकेका थिए । आमाजुले घर गरिसकेकी थिइन् । जीवनको नयाँ दैलो उघार्न दुलही बनेर आइपुगेकी थिइन् गोमा । घरमा सासुससुरासँगै चारजनाको परिवार बन्यो ।

त्यतिबेला गाउँमा पानीको उस्तै समस्या । अंशमा परेको पाखोबारी । जीवनका अघि गोमालाई गन्तव्य भेट्न मुस्किल प¥यो । पढेकी आफू र श्रीमान । श्रीमानले रिब्दिकोटको भाष्कर माविमा अस्थायी रुपमा पढाउँथे । गोमालाई रोजगारको बाटो साँघुरो भो । पढेको मान्छे घरमै बसिरहँदा पनि उराठ र उदास लाग्ने । घरदैलो मात्रले सुख नआउने र सुन्दर भविष्य नबन्ने भएपछि श्रीमानसँग मिलेर जीवनको नयाँ योजना बुनिन् । योजनामा कृषि कर्म पहिलो प्राथमिकताभित्र पर्यो । भविष्यमा अभावका आकास ओढ्न नपरोस् भनेर मनको देउरालीमा पसिनाको सिंचाइ गर्ने रहर हुर्काए उनीहरुले ।

बाँच्ने आधारका लागि र आफूलाई स्वरोजगार बनाउन बेमौसी तरकारीखेती थालिन् । तरकारीले उनलाई तगडा बनायो । आशा जगायो । हरिया नोट समाउँदा दुःखजति सबै पसिना बनेर आफ्नै पाखोबारीमा बगे । पसिनाको मूल्यले उनलाई उत्साह थप्यो । गरे सकिदो रहेछ भन्ने आत्मविश्वास र बल प्राप्त भयो । पाखुरीको बललाई पाखोबारीमा मलसँग मिसाएपछि आफ्नै अघि जर्जरभूमि पनि आम्दानीको थलो बन्दो रहेछ–गोमा भन्दै थिइन् । आफ्नै भूमिमा निरन्तर पसिनाको सपना बगाइ रहिन् उनले ।

२०७३ सालदेखि उनले आफ्नो १३ रोपनी सोही जग्गामा स्थानीय जातको सुनकागती लगाइन् । अहिले उनको पाखोबारीमा करिव चारसय कागतीका विरुवाहरु छन् । यो वर्ष नौं लाखको कागती बेचिन् । यसवर्ष दुईसय बिरुवाहरुले दाना दिएका थिए । समयमै बजारको अवस्था बुझ्न सकेको भए धेरै मूल्य पर्ने गोमा भन्दै थिइन् –राम्रो, स्वस्थ र सप्रेको एउटा कागतीको बोटमा पच्चीस सयदेखि तीन हजारसम्म दाना लाग्दा रहेछन् । यसरी हिसाव गर्दा एउटा बोटबाट १० हजारसम्म आम्दानी हुँदो रहेछ । उनको कागतीको सुन्दर बगैँचा हेर्न टाढा टाढाबाट समेत नागरिकहरु कुट्डाँडा पुग्न थालेका छन् ।

गोमा आफैले स्याङ्गजा,पोखरा,नारायणघाट,काठमाडौं र अर्घाखाँची कागती बेच्न जीपमा पठाइन् र बैंकबाट पैसा बुझिन् । गएका दुईवर्षसम्म उनले बुटवल,तानसेन र स्थानीय डुम्रेबजारमा कागती बेचेर एक–दुईलाख रुपैयाँ आम्दानी गरेकी थिइन् । उनले स्थानीय नागरिकहरुलाई सिजनल रोजगारी दिएकी छन् । पुषमाघ महिनामा दैनिक ४/५ जनाले कागतीका बोटहरुमा मल हाल्ने,गोडमेल गर्ने,काँटछाँट गर्ने काम पाउँछन् । चैत्र र बैसाखमा सिंचाई र असोजदेखि मंसीरसम्म कागतीको दाना टिप्नका लागि स्थानीय नागरिकलाई रोजगार दिन्छिन् । गतवर्ष मलजल र ज्यालामा करिव डेढलाख बढी खर्चिएकी थिइन् ।

कागती खेती फस्टाउँदै गएपनि त्यसमा भने समयसमयमा विभिन्न किसिमका रोगहरुले सताउँदै आएको गोमाले बताइन् । क्यांकर रोग,ढुसीको समस्या र लिफ माइनर कीराले कागतीलाई हानी गर्छ । त्यस्ता रोग र समस्याहरुबाट कागतीलाई बचाउनका लागि साइपरमेथ्रीन,बेबीसटीन,निलोतुथो र चुनाको मिश्रण र गहुँत लाभदायक हुने उनले सुनाइन् । गोमालाई कामको अनुभवले कुनै कृषिविज्ञ भन्दा कम बनाएको छैन । यसपाली फागुनमा परेको असिनापानीले कागतीका बोटमा पलाउँदै गरेका पालुवाहरुलाई सिख्रो पार्यो । आफ्नै वडापालिकाबाट आएका कृषि कर्मचारीलाई सो क्षति सम्बन्धी जानकारी गराएपनि अहिलेसम्म कुनै राहत नपाइएको गुनासो गरिन् ।

गोमालाई दायित्व इन्नोभेसन पाल्पा नामक गैह्सरकारी संस्थाले पचास हजार नगदसहित पुरस्कृत गरेको थियो । यसैवर्ष डुम्रेबजारमा खुलेको साइन रेसुङ्गा बैंकले सफल महिला उद्यमी भनेर तत्कालीन गर्भनर डा.चिरञ्जीवी नेपालबाट सम्मानित हुने अवसर पाइन् । कागती कृषि कर्मसँगै गोमा भण्डारी मस्याम माविमा व्यवस्थापन समिति,अध्यक्ष भएकी थिइन् । गोमाले अहिले पार्टीमा जिल्लास्तरको नेतृत्व गर्छिन् । समृद्धिको चाहना आर्थिक क्रान्तिबाट सम्भव देख्छिन् ।

उनको भविष्यको गन्तव्य भनेको हाइटेक नर्सरी बनाई कागतीका बेर्ना बेच्नु हो । हुन त उनले गतवर्षदेखि नर्सरीको काम थालेकी छन् । यसवर्ष उनले कागतीका १० हजार बेर्ना चालीस रुपैयाँको दरले तिनाउ गाउँपालिकालाई बेच्दैछिन् । बाँकी पाँच हजार बेर्ना विभिन्न संघसंस्था र व्यक्तिहरुलाई बेच्ने तयारी पूरा गरेकी छन् । अचार बनाउने विचार गर्दैछिन् । कागतीका बियाँबाट निक्लिएको रसलाई प्रशोधन गरी चूक,जुश लगायतका सामग्री बनाउने उनको सकारात्मक र व्यवसायिक सपना छिट्टै पूरा हुने छन् । महिलाहरुलाई आफूजस्तै कृषि उद्यमी बनाउने रहर बोकेकी छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क