ताजा अपडेट »

लकडाउन र वन डढेलो

आइतबार, २३ चैत्र २०७६, १४ : ३८
8 Shares


मन डढेको देखिँदैन भन्थे । अहिले भने देखिने गरी मनहरु डढेका छन् । संसारमा फैलिएको नोबेल कोरोना भाईरस (कोभिड–१९) रोगको प्रकोपबाट जोगिनका लागि नेपाल सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) मा आफू, परिवार, समाज र राष्ट्रलाई महामारीबाट जोगाउन जिम्मेवार भई घरमा बसिरहँदा यस रोगको सम्भावित जोखिम, सञ्चार माध्यम र सामाजिक सञ्जालमा आईरहने यस सम्बन्धि विभिन्न समाचारहरु र कतिपय भ्रमपूर्ण अफवाहहरुका कारण हामी सबैका मनहरु डढेका छन् । एकातिर नदेखिने गरी डढ्ने मन देखिने गरी डढेका छन् । चैतमासको खडेरी छ । गर्मीयाम भर्खर सुरु भएको छ । मौसम सुख्खा छ । रुखका पातहरु झरेका छन् । हावाहुरी चल्न सुरु भएको छ । एक किसिमको उराठ र उदास समयको सुरुवात भएको छ । डाँडातिर हेर्दा कहिँकतै वनजंगलहरुमा धुँवा उडेको समेत देखिन थालेको छ । यिनै सूचकहरुका विश्लेषण गर्ने हो भने विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि वन डढेलोको समय सुरु भईसकेको छ ।


कोरोना भाईरस रोगको महामारी सुरु हुनुभन्दा पहिला यसै वर्ष अष्ट्रेलियामा लागेको वन डढेलोको समाचार निकै चर्चामा थियो । बिध्वंशकारी र भयानक वन डढेलोले ५० करोड वन्यजन्तुहरु आगोले डढेर मरेका छन् । जसको कारणबाट कतिपय वन्यजन्तुहरुको प्रजाति र वंशाणु लोप हुने अवस्थामा पुगेको छ । २८ भन्दा बढी मानिसहरु हताहत भएका हुन् । डढेलोको कारण औसतभन्दा तापक्रम बढेको, कार्बन डाईअक्साईड लगायतका हरितगृह ग्याँसहरु उत्सर्जनमा वृद्धि भई जलवायू परिवर्तनलाई बढावा दिएको वैज्ञानिकहरुले निष्कर्ष निकालेका थिए । अष्ट्रेलिया सरकारले डढेलो नियन्त्रणको लागि २ अर्ब अष्ट्रेलियाली डलर बजेट समेत बिनियोजन गरेर विभिन्न कार्यहरु गरेको कुरा २६ पुष २०७६ को कान्तिपुर दैनिकले लेखेको छ । यसरी ‘बुस फायर’ अर्थात झाँडी वन डढेलोको रुपमा लागेको वन डढेलोको कारण अष्ट्रेलियामा महाविनाशकारी रुप लिन पुग्यो ।


संसारका विभिन्न मुलुकहरुमा वनडढेलो चुनौतीको रुपमा रहेको छ । अन्टार्कटिका महादेश बाहेक सबै महादेशहरुमा वनडढेलो प्रकोपको रुपमा रहेको छ । हाम्रो देश नेपालको सन्दर्भमा वनडढेलो मुख्य चुनौतीको रुपमा रहिआएको छ । यो वर्ष अस्ति भर्खरमात्र तेर्हथुम जिल्लाको आठराई, चुहानडाँडामा एकजना वृद्धको वनडढेलोमा परि निधन भएको दुःखद समाचार प्राप्त भएको छ । यसरी प्रत्येक वर्ष वनडढेलोकोे कारण हाम्रो देशमा मानवीय लगायत धनजनको ठूलो क्षति हुँदै आईरहेको छ । खासगारी फागुन÷चैत महिनादेखि जेठ महिनासम्मको अवधि वनडढेलोको हिसावले अत्यन्त जोखिमपूर्ण समय हो । हामी अहिले लकडाउनको अवस्थामा छौँ । सुख्खा खडेरीको कारण वन डढेलो फैलिन सक्ने अवस्था सुरुवात भईसकेको छ । यस अवधिमा वनडढेलो फैलिन नदिन र यसबाट हाम्रो महत्वपूर्ण वनसम्पदा, वन्यजन्तु, जैविक विविधता र पर्यावरणसँगै हाम्रा गाउँघरलाई समेत कसरी सुरक्षित गर्न सक्छौँ भन्ने विषयमा यस लेखमा चर्चा हुनेछ ।


खास गरेर सुख्खा मौसममा वनजङ्गलमा हुने डढेलोले वनश्रोतमा ठूलो क्षति पु¥याउनुको साथै कहिलेकाँही वनजङ्गल वरिपरिका वस्तीहरु, भौतिक सम्पत्तिको समेत सखाप पार्ने र अकल्पनिय रुपमा जनधनको क्षति हुनसक्ने भएकाले हामी सबै यो समयमा सजग र सचेत हुनु जरुरी छ । आगोलागीबाट वनजङ्गलमा रहेका बोटबिरुवा, संकलन गरि राखेका वन पैदावार (काठदाउरा, जडीबूटी आदि) मात्र होईन, वन्यजन्तु, पशुपंक्षी र तिनीहरुका बासस्थानमा डढेलोले क्षति पुर्याउँदछ । पर्यावरणीय सुन्दरतालाई नष्ट गर्दछ । कार्बनडाईअक्साईड लगायत बिषाक्त ग्याँसहरुको कारण वातावरणमा प्रदूषणको मात्रा बढ्न गई पृथ्वीको तापक्रम बढ्ने र कालान्तरमा जलवायू परिवर्तनका असरहरु देखा पर्न थाल्दछन् । जलवायू परिवर्तको एक प्रमुख कारण वन डढेलो रहेको कुरा वैज्ञानिकहरु बताउँछन् । वनडढेलोबाट माटोको गुणस्तरमा ह«ास आउँदछ । यसले भूक्षयको जोखिम बढाउँछ । वनक्षेत्रमा रहेका सूक्ष्म जडीबूटीहरु, जमीनमूनिका जीवहरु र खनिज पदार्थलाई क्षति गर्ने भएकोले सिङ्गो पारिस्थितिक प्रणाली र जैविक विधितालाई नै वनडढेलोले नोक्सान पु¥याउँदछ ।


विश्वमा करीव ४ प्रतिशत्मात्र वन डढेलो प्राकृतिक कारण (रुख, ढुङ्गा, बाँस आदिको घर्षण, चटयाङ्ग, ज्वालामुखी आदि) ले लाग्ने अनुमान गरिएको छ । बाँकी ९६ प्रतिशत वनडढेलो मानवीय कारणले नै लाग्ने गर्दछ । नेपालको सन्दर्भमा विभिन्न कारणले जङ्गलमा जाने वा जङ्गलको बाटो हिड्ने बटुवाहरुले चुरोट खाई आगो ननिभाई जथाभावी फाल्ने, वनक्षेत्रभित्र गोल पोल्ने, वनभोज र भ्रमणमा जाँदा प्रयोग गरेको आगो ननिभाउने, खोरिया फँडानी गरि वन पैदावार डढाउने, नयाँ घाँस, च्याउ आदि पलाउँछ भन्ने परम्परागत मान्यता, गोठालाहरु तथा केटाकेटीहरुले रमाईलोको लागि वनमा आगो लगाउने, मादकपदार्थ सेवन गर्नेहरुको कारण तथा वनजङ्गल छेउँछाउँका खरबारीहरुमा काँडा, स्याउला आदि पोल्दा अनियन्त्रित भई आगो फेलिने विभिन्न कारणहरु वनडढेलो लाग्नुमा जिम्मेवार छन् । यानेकी जानी नजानीकन हाम्रै ब्यबहारको कारणले वनजङ्गलमा डढेलो लाग्ने गर्दछ । हामीले त्यस्ता ब्यवहारहरुमा परिवर्तन र सुधार गर्न सक्यौँ भने वनडढेलोको जोखिम न्यूनीकरणमा सहयोग पुग्नेछ ।

खासगरी नेपालमा दुई किसिमको वनडढेलो लाग्ने गर्दछ । जमीनको सतहमा रहेका पातपतिङ्गरहरु, खर, घाँसपात,स्याउला, रुखका जरा, स–साना बिरुवा र जमिनमूनिका प्राङ्गारिक पदार्थ समेत जल्ने गरी लाग्ने डढेलोलाई जमीनमा हुने वनडढेलो (Ground fire) भनिन्छ । यस्तो आगलागीले विकराल रुप लिँदै गयो भने रुखको छत्रमा समेत फेलिन गई ठूलो मात्रामा रुखविरुवा र वन्यजन्तुहरुलाई क्षति पु¥याउँदछ । खासगरी सल्ला प्रजातिको बाहुल्यता रहेको कोणधारी वनमा यस किसिमको डढेलोको प्रकोप हुन्छ । यस प्रकारको वनडढेलोलाई छत्र डढेलो (Crown fire ) भनिन्छ ।
लकडाउनको समयमा हामी सबै आ–आफ्नो घरमा बसिरहँदा पनि हाम्रो नजिकको वनक्षेत्रलाई सम्भावित वन डढेलोको जोखिमबाट जोगाउनको लागि केहि कामहरु गर्न सक्छौँ । जसबाट हाम्रो वनक्षेत्र मात्र होईन, हाम्रो गाउँबस्ती समेत सूरक्षित रहन सक्दछ । यस समयमा हामीले मूख्य रुपमा वनक्षेत्रको नजिकमा रहेका हाम्रा गाउँबस्ती नजिकमा प्रज्वलनशिल पदार्थहरुलाई प्रत्येक हप्ता सरसफाई गर्नुपर्दछ । आगो लाग्नको लागि तीनवटा कुरा आवश्यक पर्दछन् :
(१) प्रज्वलनशील पदार्थ (पातपतिङ्गर, सुकेका स्याउला आदि बल्ने कुरा)
(२) सलाई, लाईटर आदि (बाल्ने कुरा)
(३) अक्सिजन ( जुन हावामा हुन्छ ) ।


यी तीनवटा वस्तुहरु जबसम्म एकैठाउँमा जम्मा हुँदैनन्, तबसम्म आगो लाग्न सक्दैन । हावामा रहने अक्सिजनमा हाम्रो नियन्त्रण नरहेता पनि प्रज्वलनशील पदार्थहरुलाई हामीले ब्यबस्थापन गर्न सक्छौँ । हाम्रो वरिपरि आफै सरसफाइ गर्न सक्छौँ । सलाई, लाईटर जस्ता आगोबाल्ने वस्तुहरुलाई बल्ने पदार्थहरुको सम्पर्कबाट टाढा राख्न सक्यौँ भने आगो लाग्दैन । हामीले हाम्रा सामुदायिक वन उपभोक्ता समूहहरु मार्फत वनडढेलो पूर्वतयारीको लागि योजना बनाई सकेका छौँ । त्यहि अनुरुप हाम्रो समूहहरुमा र वनक्षेत्रमा आगो लाग्न नदिनको लागि सबै उपभोक्ताहरुलाई सचेत गराई सकेको हुँदा अनुशासन प्रणाली सबै उपभोक्ताहरुले पालना गर्नुपर्दछ । वनमा आगो लाग्यो भने वनमात्र क्षति हुँदैन हाम्रा घर, वस्ती, धनजन जोखिममा पर्दछन् ।
चुरेक्षेत्रमा खासगरि तराईक्षेत्रबाट वनडढेलो फैलिएर कहिलेकाहीँ महिनौँसम्म वनक्षेत्र जलिरहने हुन्छ । मानवबस्तीबाट टाढा रहने वनक्षेत्रहरुलाई जोगाउन त्यसक्षेत्रमा क्रियाशील वनडढेलो नियन्त्रण सञ्जालहरु, स्थानीय संघसंस्था र वडा कार्यालयको सहयोगमा अन्तरजिल्ला समन्वय गर्न जरुरी हुन्छ । सहरबजार नजिकका वनक्षेत्रका उपभोक्ता समूहहरुमा वनप्रतिको अपनत्व कम देखिने गरेको छ । कल्पना गरौँ, वनक्षेत्रको डढेलो अनियन्त्रित भई तपाई हाम्रो टोल र बजारक्षेत्रमा प्रवेश ग¥यो भने त्यो बेला हामीहरुका अवस्था कस्तो होला ? दुईबर्षअघि पाल्पाको हुमिन बजारमा लागेको आगोलागीलाई यसैको उदाहरण स्वरुप लिन सकिन्छ । त्यसैले वनक्षेत्र नजिकका सहरी र बजारक्षेत्रमा समेत नियमित रुपमा पातपतिङ्गर र प्रज्ज्वलनशील पदार्थहरुलाई टोलटोलमा उपभोक्ताहरु मिलेर यो जोखिमपूर्ण अवधिभर सरसफाइ र ब्यबस्थापन गरिरहनु पर्दछ । बस्ती नजिकै रहेका अग्निरेखाहरु र बाटाघाटा नियमित रुपमा सरसफाइ गरिरहनु पर्दछ, ताकि वन डढेलो लागिहाले पनि वस्तीहरुसम्म फैलिन नसकोस् ।


अर्को कुरा वनमा आगो लागिहाल्यो भने तत्कालै सूरक्षा निकायमा फोन गर्ने र आफूचाहिँ आफ्नै घरभित्र बस्ने तीतो यथार्थ छ । हाम्रो वनक्षेत्रमा आगोलागी हुँदा सबैभन्दा बढी जिम्मेवार नजिकका उपभोक्ताहरु नै हौँ । आगो निभाउने जिम्मेवारी हामीले सुरक्षा निकायलाई पन्छाएर मात्र हुँदैन । यसमा सुरक्षा निकाय सहयोगी भूमिकामा रहन्छ । उपभोक्ताहरुले वनडढेलो नियन्त्रणमा लिन सहयोग पु¥याउनु पर्दछ । लकडाउनको अवधि भएकोले सुरक्षा निकायहरु विभिन्न स्थानमा परिचालन हुनु परेको अवस्था छ । राहत, उद्दार र आपतकालीन ब्यबस्थापन पहिलो प्राथमिकता हुन जान्छ । त्यसैले आफ्नो वरिपरि आगो लागिहालेमा सानोतिनो आगोलाई सुरक्षित साथ हामी आफै निभाउनु सबैभन्दा प्रभावकारी हुन्छ । यस्तो अवस्थामा तत्कालै बाहिरबाट मानिसहरु आई सहयोग गरिहाल्न सक्ने अवस्था नहुन सक्दछ ।


यो बेलामा बारी, खरबारी र ढिक कान्लाहरुमा काँडा, स्याउला आदि पोल्ने वा जलाउने काम नगरौँ । मौसम सुख्खा छ । हावा चल्ने समय छ । कहिँकतै आगो हाम्रो नियन्त्रणभन्दा बाहिर गई नजिकको वनक्षेत्रमा सल्किन पुग्यो भने यस्तो जोखिमपूर्ण र लकडाउनको अवधिमा धेरै मानिसहरु आगो निभाउने कार्यमा भेला हुन र सुरक्षा निकाय समेत तत्काल परिचालन हुन कठिनाई हुने हुँदा भयावह अवस्था आउने सम्भावनातर्फ सचेत बनौँ ।
रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा प्रभावकारी उपाय हो । सकेसम्म हाम्रो सामुदायिक वन र वरिपरिका वनडढेलो जोखिमपूर्ण स्थानहरुलाई वन डढेलो लाग्नबाट जोगाऔँ । संवेदनशील स्थानहरु पहिचान गरौँ । नजिकका बाटाघाटा र अग्निरेखाहरु लकडाउनको समयमा आलोपालो गरी भिडभाड नगरी सरसफाइ गरौँ । सामुदायिक वनका अध्यक्षहरुले फोनमार्फत उपभोक्ताहरुलाई यस बारेका सजग र सचेत गराऔँ ।


यसरी सावधानी अपनाउँदा अपनाउँदै वनमा डढेलो लागिहालेमा त्यसलाई नियन्त्रणमा लिनु र निभाउनुको विकल्प रहँदैन तर आगो निभाउनेक्रममा हामीले पर्याप्त सावधानी अपनाउन सकेनौँ भने एकातर्फ आगलागी नियन्त्रण हुन सक्दैन । अर्कोतर्फ हाम्रो जीउज्यान जोखिममा पर्न सक्दछ । केही वर्ष पहिले रामेछाप र गुल्मीमा सुरक्षा निकायका कैयौँ जवानहरु आगो निभाउनेक्रममा हताहत भएका, सामुदायिक वनका उपभोक्ताहरुले ज्यान गुमाएका प्रशस्त घटनाहरु छन् । तसर्थ आगो निभाउने कार्यमा निम्न कुराहरुमा ध्यानदिनु जरुरी छ ।
# आगो निभाउन हरियो स्याउला वा फायर स्वेटर (Fire swatter) को प्रयोग गर्ने ।

# आगो निभाउन सम्भव भएसम्म पानीको प्रयोग गर्ने ।
# आगोभन्दा टाढा बसी अग्निरेखा सरसफाइ गर्ने र त्यहाँसम्म पुग्दा आगो आफै निभ्ने गरी तयारी गर्ने ।
# आगो अगाडि बढ्न नदिन झारपात सफा गर्ने ।
# प्रतिकार (विपरित दिशाबाट आगो लगाउने) र थप वनक्षेत्रलाई डढेलो लाग्नबाट बचाउने ।
# वनडढेलो निभाउँदा हावाको विपरित दिशा तथा भिरालो जमिनमा माथितर्फबाट नियन्त्रण गर्ने प्रयास नगर्ने ।
# हावाको दिशाबाट मात्र आगो निभाउने कार्य गर्ने ।
# डढेलो नियन्त्रण टोलीले सम्भव भएसम्म उपकरणहरु,पिउने पानी अनिवार्य रुपमा लिएर जाने ।
# बिहानीपख हावा नचल्ने समयमा सम्भाव्य डढेलो लाग्ने बस्ती नजिकका डढेलो लाग्ने सुख्खा वस्तुहरु संकलन गरि एकठाउँमा जम्मा गरेर सावधानी साथ र नियन्त्रित आगो लगाउने ।
# अग्निनिरोधक टोलीले अग्नि नियन्त्रणका उपकरणहरु प्रयोग गर्दा, दाँतेले सुख्खा वस्तुहरुलाई अलग्याउँदै ँष्चभ कधबततभच ले आगो निभाउने र पानी ट्याङ्कीवालाले आगोलाई पूर्णरुपले निभाउने ।
# वनडढेलो नियन्त्रण कार्यमा एक्लै जाँदा जोखिमपूर्ण हुन सक्दछ । दूरी कायम गरी टिममा काम गर्ने ।
# सबैभन्दा पहिला आफू र टीमका सदस्यहरु सुरक्षित रहने, बस्तीतर्फ आगो फैलिनबाट जोगाउनको लागि आवश्यक काम गर्ने ।
कानूनी प्रावधान
वन डढेलो फौजदारी अपराध हो । वन ऐन २०७६ को दफा ४९ (घ) अनुसार राष्ट्रिय वनमा आगो लगाउने वा आगोलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरि तीन वर्षसम्म कैद वा साठी हजार रुपैँयासम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी प्राबधान रहेको ले वनमा कोही कसैले डढेलो लगाउने वा लाग्न जाने कार्य नगरौँ । कथम् कदाचित कोही कसैले वनमा डढेलो लगाएमा वा डढेलो लागि हालेमा स्थानीय प्रशासन, प्रहरी र डिभिजन वन कार्यालयलाई समयमै जानकारी गराऔँ । उपभोक्ताहरुको सक्रिय सहभागितामा वन डढेलो नियन्त्रण र न्यूनीकरण गरी देशको प्राकृतिक सम्पदालाई जोगाऔँ । जनधनको क्षति हुन नदिऔँ र वातावरण सन्तुलन राख्न पहल गरौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।