ताजा अपडेट »

संक्रमणबाट बच्न छलफलका लागि सबै टोलमा गाउँपालिकाका प्रवक्ता

शनिबार, २२ चैत्र २०७६, २१ : ३३
8 Shares

बुटवल । तिनाउ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष एवम् प्रवक्ता राजेश श्रेष्ठ शनिवार आफ्नो वडाका आठैवटा टोलमा सुरक्षाकर्मीहरुसँग पुगी टोल विकास समितिका अध्यक्ष एवम् समितिका सदस्यहरुसँग कोरोना सम्भावित संक्रमणबाट बच्न,यो समस्याबाट जोगिने उपायहरुबारे सिकाउन, सरकारले अपनाएको लकडाउनका बारेमा जानकारी गराउन र राहत प्याकेजका सन्दर्भमा व्यापक रुपमा छलफल गरेको छ ।
सो वडाका नुवाकोट,महापुर,हरियाली गाउँ,जमुने,झ्याङ्गला,बगाह,खुल्खुले, खुर्साने,डोल,पासकुण्डा,घोडेबास र गणेशटोल पुगेर नागरिकको वर्तमान स्वास्थ्य तथा सुरक्षाको अवस्थाका साथै कसैलाई खानपिनको समस्या परेको भए वडापालिकामा सम्पर्क राख्न समेत प्रवक्ता राजेश श्रेष्ठले अनुरोध गरेका छन् । यस्तो बेलमा सबैले सबैलाई सहयोग गर्न समेत अपील गरेका छन् ।

आफ्ना नागरिकहरुलाई अनावश्यक रुपमा गाउँघरमा नडुल्न,नयाँ सदस्यहरु देशविदेशबाट घरमा आएका भए होम क्वारेन्टाइनमा बस्न र खोला अनि वनजंगलमा नजान समेत उनले गाउँबासीहरुलाई विशेष अनुरोध गरेका छन् । गाउँमा स्थानीय सरकार र सुरक्षाकर्मीहरुसँग भेट्न र आफ्नो टोलको स्वास्थ्य एवम् सुरक्षाको अवस्था बताउन पाउँदा आफूहरुलाई स्थानीय सरकार आफ्नै सरकार हो भन्ने महसुस भएको झरना टोल विकास समिति,खुलखुलेका अध्यक्ष दिनेश जीसीले बताए ।

साथै मिलीजुली टोल विकास समिति,नुवाकोटका अध्यक्ष चन्द्रबहादुर क्षेत्री,निलदेव बस्याल,हरिकला कुमाल लगायतले स्थानीय सरकारको यो भेटघाट कार्यक्रमले सुरक्षाको अनुभूति भएको र आवश्यक परेको बेलामा फेरि पनि यस्तै घुम्ती कार्यक्रम राख्न समेत अनुरोध गरेका छन् । कार्यक्रममा दोभान प्रहरी चौकीका सुरक्षाकर्मीहरु,स्थानीय टोलविकास समितिका अध्यक्ष लगायत सदस्यहरुको बाक्लो उपस्थित रहेको र सो घुम्ती अवलोकन भ्रमणले नागरिकसँग नजिकको सम्बाद गर्न र समस्याको समाधानमा टेवा मिलेको स्थानीय तिनाउ सरकारका प्रवक्ता राजेश श्रेष्ठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।