ताजा अपडेट »

अत्यावश्यक उद्योगहरु कामदार सुरक्षित राखेर सञ्चालन गर्न दिइने

शुक्रबार, २१ चैत्र २०७६, ०८ : १३

काठमाडौं। कोरोना भाइरस ( कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले खाद्यान्न लगायतका अत्यावश्यक उद्योगहरुभित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सीमामा बसेकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर मात्रै सीमा पार गर्न दिने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकले नेपाल-भारत सीमामा रहेकाहरुलाई अप्ठयारो पर्न नदिने गरी दुवै तर्फबाट आपसमा सहयोगका साथ सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर मात्रै सीमा पार गर्न दिने गरी व्यवस्था मिलाउने निर्णय गरेको अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

उद्योगभित्र कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यसको व्यवस्था मिलाउने निर्णय भएको उनले बताए। बैठक खाद्य सामग्री तथा इन्धनको ढुवानीमा अझै सहज बनाउने निर्णय गरेको उनले बताए। त्यस्तै बैठकले हिँउदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि कृषि श्रमिक नल्याई परिवारलाई मात्रै काम गर्न सक्ने निर्णय पनि गरेको छ।

बैठकले अत्यावश्यक औषधि, दैनिक उपभोग्य सामग्री तथा खाद्य सामग्रीको सहज आपूर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिने निर्णय भएको खतिवडाले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।