बुटवल । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वभर बिहीबार एकैदिन करिब ६ हजार जनाको मृत्यु भएको छ भने साढे ७९ हजारभन्दा बढी बिरामी थपिएका छन्। वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार विश्वभर कोरोना भाइरस संक्रमणका कारण ५ हजार ९ सय ७४ जनाले ज्यान गुमाएका छन्। सोही दिन विश्का २ सय ४ देश तथा क्षेत्रमा ७९ हजार ५ सय ५१ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका छन्।
बिहीबार सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेका संख्या अमेरिकामा रहेको छ। अमेरिकामा एकैदिन कोरोनाबाट ९ सय ६८ जनाको मृत्यु भएको छ भने २९ हजार ६ सय ७८ जना नयाँ संक्रमित थपिएका छन्। इटालीमा बिहीबार कोरोनाका कारण ७ सय ६० जनाले ज्यान गुमाएका छन्। सोही दिन इटालीमा कोरोनाका थप ४ हजार ६ सय ६८ बिरामी अस्पताल पुगेका थिए। स्पेनमा बिहीबार ७ हजार ९ सय ४७ जना नयाँ बिरामी देखिएका थिए भने ९ सय ६१ जनाको मृत्यु भएको छ।
चीनमा बिहीबार मात्र ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ। फ्रान्समा बिहीबार कोरोनबाट मर्नेको संख्या १ हजार ३ सय ५५ रहेको छ। यसमा केही दिन अघि जोड्न बाँकी रहेका ८ सय ८४ जनाको मृत्यु पनि जोडिएको छ।इरानमा बिहीबार २ हजार ८ सय ७५ कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने १ सय २४ जनाको मृत्यु भएको छ। बेलायतमा बिहीबार कोरोनका कारण ५ सय ६९ जनाले ज्यान गुमाएका छन्। सोही दिन बेलायतमा ४ हजार २ सय ४४ नयाँ बिरामी थपिएका छन्।
स्वीट्जरल्याण्डमा बिहीबार १ हजार ५९ जना नयाँ संक्रमित थपिएका छन् भने ४८ जनाको मृत्यु भएको छ। टर्कीमा २ हजार ४ सय ५६ जना नयाँ बिरामी थपिएका छन्, जहाँ बिहीबार ७९ जनाको मृत्यु भएको छ। बेल्जियममा कोरोनाबाट बिहीबार १ सय ८३ जनको मृत्यु भएको छ भने १ हजार ३ सय ८४ जनामा कोरोनाको संक्रमण देखिएको छ। नेदरल्याण्ड्समा बिहीबार १ हजार ८३ जनामा कोरोना देखिएको थियो । सोही दिन त्यहाँ १ सय ६६ जनाले ज्यान गुमाएका छन्।
क्यानडामा १ हजार ५ सय ५२ जना नयाँ बिरामी थपिएका छन् भने बिहीबार ५९ जनाको मृत्यु भएको छ। बिहीबार नै ब्राजिलमा १ हजार १ सय ६४ जना नयाँ बिरामी देखिएका थिए। ब्राजिलमा बिहीबार ८२ जनाको मृत्यु भएको छ। बाँकीको मृत्यु र संक्रमित अन्य देशमा थपिएका थिए।
प्रतिक्रिया