May 16, 2022
भैरहवा । बेलहिया-सुनौली नाकामा अलपत्र परेका नेपाल र भारतीय नागरिकको एक-अर्का देशमा व्यवस्थापन गरिएको छ। कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि दुवै सरकारले सीमाबाट आवातजावतमा पूर्ण रोक लगाएको छ । नेपाल र भारतका स्थानीय अधिकारी बीचको संवादले तीन दिन सीमानामा अलपत्र रहेका नेपाली र भारतीय नागरिकलाई आ-आफ्नै देर्शतर्फ व्यवस्थापन गर्ने समझदारी अनुसार उनीहरुलाई एक अर्को देशको क्वारेन्टाइनमा व्यवस्थापन गरिएको हो ।
भारतमा ३ सय ५ जना नेपाली र नेपालमा १५५ जना भारतीय नागरिकलाई क्वारेन्टाइनमा व्यवस्थापन गरिएको हो । नेपालीलाई सीमादेखि ८ किमी पर नौतनवास्थित नौतनवा इन्टर कलेजमा र भारतीयलाई सीमादेखि २ किमी वर प्रतिमान निमा स्मृती प्रतिष्ठानको भवनमा राखिएको छ । उनीहरु चौध दिन चिकित्सकीय निगरानीमा रहनेछन् ।
बिहीबार भैरहवा भन्सार कार्यालयमा बसेको नेपाल भारत सुरक्षा अधिकारीसहित स्थानीय अधिकारी बीचको बैठकले भारत र नेपालको क्वारेन्टाइनमा रहेका आफ्नो नागरिकको अवस्थाबारे स्थलगत निरीक्षण गर्ने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।
उनका अनुसार बिरामी वा अन्य कारणले कुनै नागरिकको उद्दार गर्नुपर्ने अवस्था आएमा दुवै देशको अधिकारीको समन्वयमा उद्दार गर्ने, क्वारेन्टाइनमा आवश्यक सुधार गर्नुपर्ने विषय भएमा सुधार गर्ने, कोरोना भाइरस सम्बन्धि सूचना आदानप्रदान गर्ने लगायतका निर्णय भएका छन्।
सोही निर्णयअनुसार भारतको क्वारेन्टाइनमा राखिएका नेपालीको अवस्थाबारे निरीक्षणका लागि भारतमा टोली पठाउन थालिएको उनले बताए । बैठकमा नेपालको तर्फबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र भारतको तर्फबाट महाराजगंजका डिएम (प्रमुख जिल्ला अधिकारी) उज्जवल कुमार, दुवै देशका उच्च पदस्थका सुरक्षा निकायका अधिकारीरु, भन्सार, क्वारेन्टाइन प्रमुखलगायतको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस्