ताजा अपडेट »

बिहिबार सार्वजनिक विदा । मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा:

बुधबार, १५ फागुन २०७५, २३ : १२
4 Shares

ग्लोबल आवाजः
फाल्गुन–१५
पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

बुधबार भएको उक्त दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद बैठकले बिहीबार सार्वजनिक विदा दिनुका साथै सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने समेत निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकपछि जारी वक्तव्यअनुसार बिहीबार सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नेपाली दूतावास र नियोगहरूलाई सार्वजनिक विदा दिने उल्लेख गरिएको छ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले राष्ट्रका लागि अपुरणीय क्षति भएको बताएको छ। दुर्घटनामा निधन भएका सबै ७ जनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सरकारले मृतकका परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ।

तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गरी फर्केने क्रममा पाथिभरा मन्दिर दर्शन गरी फर्केर आउँदा हेलिकप्टर दुर्घटना भएको थियो।

हेलिकप्टरमा सवार मन्त्री अधिकारी पर्यटन व्यवसायी शेर्पासहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै ध्रुवदास भोछिभोय, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे र हेलिकप्टर चालक प्रभाकर केसीको निधन भएको छ।

बैठकले दुर्घटनाका विषयमा छानबिन गरी यथाशिघ्र प्रतिवेदन बुझाउन ४ सदस्यीय छानबिन समिति गठन पनि गरेको छ। पूर्व पर्यटन सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा गठित समितिमा नेपाली सेनाका सहायक रथी दीपक प्रसाद बास्तोला, अवकाशप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव बुद्धिसागर लामिछाने छन्। गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ अनुसार गठित समितिमा लामिछाने सदस्य सचिवको रुपमा रहनेछन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।