ताजा अपडेट »

नर्सरी नायिका

बुधबार, १९ चैत्र २०७६, १६ : ४६
34 Shares

उद्यमी महिलाको संघर्षको कथा र भोलिको गोरेटो

                            
    

जीवन जिउने कलामा डाक्टर जीवनकुमार प्रसाइँले लेखेका छन्–संसारमा भाग्यमानी मानिस त्यो हो जो आफूले चाहेको बेलामा निदाउन सक्छ । उनले थपेका छन्–आँखामा निद छैन भन्ने गुनासो पोखेर धेरै कविता र गीत लेखिएका छन् । तर सरला न्यौपाने भण्डारीलाई आफ्नो उद्यमले आँखामा निद,सुखको दुईछाक,सन्तान पढाउने आँट र गरिव र दुःखीलाई सेवा गर्न पुगेको छ । अर्थात् उनी सुखी र खुसी छन् आफ्नो उद्यममा । भनिन्छ–फूलको सुवास डाँडावारि मान्छेको बयान डाँडापारि तर त्यही फूल फुलाउने नर्सरी उद्यम गरेर डाँडापारिसम्म ख्याती पुर्याउन सफल उद्यमी हुन् सरला । नाम अनुसारको सरल छन् र फूल जस्तै कोमल छन् । त्यहि भएर नै होला उनले समय समयमा गीत,कविता र गजल लेख्ने गर्छिन् । स्कूले जीवनमा उनलाई कविताले पुरस्कार समेत दिल्याएको थियो । गजल संग्रह छाप्ने रहर कहिले पूरा हुने हो थाहा छैन । खाई खेल्दै रमाउने १६ वर्षे उमेरमा सरला तुल्सीराम भण्डारीकी जीवन संगीनी बनिन् ।

आमा नारायणी र बाबा रुद्रप्रसाद न्यौपानले जल खाएर पराईको साथ लाग्दाका क्षणहरु आज पनि पानी घट्ट जस्तै घुमेका छन् । विहेपछिको एकवर्ष एसएलसी गर्न माइतीकै आगन टेकिन् । गाउँकै आदर्श माविबाट एसएलसी गरिन् । जीवनको अन्तिम औपचारिक पढाई नै त्यही ठहरियो ।माइतीमा जेठी छोरी खासै दुःख गर्न परेन तर घरतिर जेठी बुहारी हुनुको तीता÷मीठा अनुभव प्रसस्तै छन् । ठूलो परिवार जिन्दगीको परिभाषा बुझ्ने पाठशाला बन्यो । १० वर्षसम्म त उनको चुल्होचौकोमा धूँवासँगै जीवन बितेको पत्तै भएन । कहिलेकाँही माइतीघर दिगाम सम्झेर आफ्नै घर रिडीबजार नजिकै बग्ने कालीगण्डकीमा आँसु मिसाउँथिन् । घरिघरि आमाबाबा,दाइभाइ,बहिनी र परिवारलाई भुल्ने बाटाका रुपमा ऋषिकेश मन्दिर हुने गथ्र्यो । जाँतो जस्तै जीवनका यादहरु घुमिरहन्थे उनका आँखामा ।

२०४३ सालमा विहे गरेकी उनले तीनवर्षपछि जेठी छोरी जन्माइन् । जेठी छोरीको विहेवारी भई सिद्धार्थ बैंकमा जागिरे छिन् । माईली छोरीले सीएको अन्तिम तयारीमा छन् भने कान्छी छोरीले आर्किटेक्टमा बीई गरी आफ्नै फर्म सुरु गरेकी छन् र अहिले एमईको विद्यार्थी समेत छिन् ।सरलाको परिवार २०५६ सालमा बुटवलतिर आयो । छोरीहरु काठमाडौं पढ्न थाले । सरलालाई काठमाडौंले मन खिचेन बरु खिचि रह्यो बुटवलको परिवेशले । २०६३ सालदेखि उनले बुटवलमा नर्सरी उद्यम सुरु गरिन् । अहिले तिलोत्तमाको शंकरनगर र बुटवलको सुख्खानगरमा बुटवल नर्सरी सञ्चालन गरी आफूहरुसहित चारजना निरन्तर कार्यरत छन् । व्यवहारमा सरल तर कर्तव्यमा कठोर उनको नौलो परिचय होइन । त्यहि भएर त जिम्मेवारी पूरा गर्ने महिलाको रुपमा उनको नाम अग्रभागमा आउने गर्छ अचेल ।

उनलाई नर्सरीको तारबारले छेकेन बरु उनलाई पुरायो आफ्नै इच्छा र मन परेको क्षेत्र आफ्नै समाज र सामाजिक सेवामा । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उनी सञ्चालक सदस्य छन् । नर्स बनेर बिरामीको सेवा गर्ने सानैको इच्छा आज अस्पतालमा स्वयम्सेवी बनेर पूरा भएको छ । संसारलाई साँघुरो बनाउने सञ्चारमा छन् । अर्थात् लुम्बिनी सामुदायिक टेलिभिजनमा उनी सचिव भएर सार्थक उपस्थिति जनाएकी छन् । रुपन्देही उद्योग संघको कार्यसमिति सदस्य रहेर नेपाली महिलाहरुलाई उद्यम विकासका निम्ति उद्यमशीलता खाँचो पर्छ भनेर सन्देश दिइरहेकी छन् । महिलाहरु चारदिवारमामात्र होइन चारैदिशामा पुग्नुपर्छ भन्छिन् । देशमा समृद्धि बोलेरमात्र आउँदैन । समृद्धिलाई व्यवहारमै कार्यान्वयन गर्न नर्सरी उद्यम सुरु गरेकी हुन् ।

सामाजिक सेवा उनको रहर हो । उनको त्यो रहरमा प्रेरणा र हौसला मिसाई दिने बुटवल क्षेत्रकी सामाजिक नक्षत्र ओमी पुन हुन् । ओमी सरलाको जीवनमा गमलाको फूलमा पानी जस्तै बनेर आइन् फूल जसरी फुलेर हाँस्दछन् त्यस्तै हाँसिरहेकी छन् ओमीरुपी गमलामा सरलारुपी फूल ।ओमीसँगको सामीप्यता उनले इन्नरह्वील क्लव अफ मीडटाउनको अध्यक्ष हुँदा पाएकी हुन्.सरलाको बुटवल नर्सरीले राम्रै फाइदा दिएको छ । उनका नर्सरीमा सयौं प्रजातिका फलफुलहरु,मौसमी विरुवाहरु,दुबोको माला,माटो,गमला,कीटनाशक औषधीहरु र मालीको समेत प्रवन्ध मिलाइएको छ । आँप,लिची,सुन्तला,सुपारी,एभोकार्डमात्र होइन्हेबीकस,अलमोण्डा,बेगमबेली र गुलावका फूलहरु समेत नर्सरीमा ग्राहक पर्खि बसेका छन् । फूल झैं सधैं हँसिली ,फरासिली सरलाको नर्सरीमा एकपटक पुगेका ग्राहकहरु अर्कोपटक अवश्य पुग्छन् ।

एसएलसीभन्दामाथि बाध्यताले पढ्न नदिए पनि आज उनी नर्सरी सम्बन्धी ज्ञान,सीप र क्षमताले विश्वविद्यालयकी कुनै प्रोफेसरभन्दा कम्तिकी छैनन् । उनलाई समयले सिकायो । समयले उद्यमी बनायो । उनलाई नर्सरीकी नायिका उपममा दिएमा कुनै फरक पर्नेछैन । भोलिका दिनमा आफूले नर्सरी उद्यमलाई सामुहिक उद्यमका रुपमा विकास गर्ने सपना बुनेकी छन् । उनले नर्सरीभित्रै पोलीहाउस र ग्रीन हाउस बनाएर विरुवा उत्पादन गरी आयतित बजारलाई घटाउने अठोट लिएकी छन् । आफ्नै माटो र समय सुझाउँदो नर्सरी उद्यम गरी देशको गरिमा र महिमा बढाउने संकल्प कसेकी छन् । त्यसका लागि स्थानीय र प्रदेश सरकारसँग हातेमालो गर्ने सोच बनाएकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।