ताजा अपडेट »

सिद्धार्थनगरमा राहत वितरण अभियान सुरु

मंगलबार, १८ चैत्र २०७६, १९ : ०५
8 Shares

भैरहवा । सिद्धार्थ नगरपालिका भैरहवामा गरिब तथा विपन्न परिवारलाई राहत वितरण शुरु भएको छ । लक डाउनको कारण कोहि पनि भोकै हुन नपरोस् भन्ने उद्धेश्यले गरिब तथा विपन्न मजदुरहरुको लगत संकलन गरि दैनिक उपभोग्य सामग्री राहत स्वरुप वितरण गरिएको छ ।
मंगलबार दिउंसो सिद्धार्थनगर वडा नम्बर १ बाट शुरु भएको राहत वितरण कायक्रम नगरको १३ वटै वडामा गरिने नगरपालिकाका अधिकृत यादव प्रसाद सापकोटाले बताए । मंगलबार १ सय ३९ जनाको घरधुरीलाई सिद्धार्थनगर पालिका भैरहवा रुपन्देहीले दैनिक जीवनमा अति आवश्यक खाद्यान्न सामग्री प्रदान गरेकोछ । सिद्धार्थनगर पालिकाको कार्यपालिका बैठकले चार दिन अगाडी नगरमा रहेका बिहान बेलुका हातमुख जोहो गर्न नसक्ने परिवार तथा ज्यालादारीमा काम गर्ने श्रमीकहरुलाइ राहत दिने निर्णय अनुसार राहत वितरण शुरु भएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए ।

नगर प्रमुख अधिकारीले भने, ‘वडा नम्बर १ बाट मंगलबार देखि राहत बितरण शुरु भएको छ । अब नगरको १३ वटै वडामा रहेका १ हजार ८ सय ७२ जना ज्याला मजदुरी गरेर खाने घरधुरीलाई राहत प्रदान गछौं । ’ परिवार संख्याको आधारमा दिइएको उक्त राहत सामग्री चार जनाको परिवार हुने घरधुरीलाई ५ केजी चामल, दस जनाको सम्म परिवार हुने घरधुरीलाइ १० केजी चामल दिइएको नगर उपप्रमुख उमा काफ्लेले बताईन् । काफ्लेका अनुसार हरेक विपन्न परिवारलाई एक लिटर खाने तेल, एक केजी नून, एक केजी दाल पनि प्रदान गरिएको छ । उहांले भन्नुभयो,‘शुरुमा केही कम कम बितरण गरेका छौं । लकडाउन लम्बिदै गयो भने फेरि दिन्छौं । सरकार छ , कोही भोकै बस्न पर्दैन ।’

लक डाउनको कारण कोहि पनि भोकै बस्न नपरोस् भनेर राहत बितरण कार्यक्रम शुरु गरेको नगर प्रमुख अधिकारीले बताए । नगरले कोरोना भाइरस नियन्त्रण राहत कोष स्थापना गरेको छ । उक्त कोषमा नगरले यसअघि नै ११ लाख ५१ ह्जार जम्मा गरिसकेको छ भने विभिन्न सहयोगी व्यक्तिहरुले पनि सहयोग गरिरहेका छन् । राहत कोषमा नगरका प्रमुखले २१ ह्जार , उपप्रमुखले १५ हजार र वडाध्यक्षहरुले १० हजारको दरले रकम जम्मा गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासीनिले बताउनुभयो । सिद्धार्थनगरमा १३ वटा वडा रहेका छन् ।

लकडाउनको कारण खाद्यान्न, तरीकारीमा देखिएको अभावलाई मध्यनजर गर्दै नगरले वडा कार्यलयको समन्वयमा टोल स्तरमा अत्यावश्यक बस्तुको प्रबन्ध मिलाउने तयारी गरिहरको मरासीनिले बताउनुभयो । नगरपालिकाले समाजसेवी कृष्ण प्रसाद शर्मा, नारयण प्रसाद अग्रवाल , सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योग व्यपार संगठनका अध्यक्ष नारयाण प्रसाद भन्डारी, बैंकर्स एशोसियसनका अध्यक्ष रामराज उपाध्यक्ष सहितको श्रमीककोलागि अत्यावश्यक खाद्यान्न व्यवस्थापन सहयोग समिति समेत गठन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।