ताजा अपडेट »

जुरुक्कै उठ्नुपर्छ, ग्रामीण अर्थतन्त्र

मंगलबार, १८ चैत्र २०७६, १८ : ०७
52 Shares

हरित् अभियन्ताको अनुभव र अनुरोध


विश्व पूँजी बजारको तीब्र प्रतिष्पर्धामा थियो । विकासको चरम सीमामा एक से एक आफूलाई अब्बल दर्जामा दर्ज गर्न सम्पन्नशाली मुलुकहरु तँछाडमछाड गर्दै थिए । सपना धरतीकामात्र थिएनन्, मंगलग्रहमा मानवबस्ती विकासदेखि चन्द्रधरातलमा खेतीपाती गर्नेसम्मका थिए । आणविक हातहतियारहरुको त्रासदीपूर्ण अवस्था थियो । क्षणभरमै विश्वविनाश गर्न सक्ने एटमबमको समेत आविष्कार भइसकेको । कुनैदिन त्यस्ता हातहतियारहरु विश्वविनाशको माध्यम बन्न सक्दछन् ! हल्लाहरु सुनिन्थे । औद्योगिक विकास, वैज्ञानिक आविष्कार र चरम आर्थिक विकासको गति साथै उत्तरआधुनिक र विकसित मानव सभ्यतास्तरलाई आँकलन गर्दा लाग्थ्यो, अब संसारमा गर्नुपर्ने कुरा के नै बाँकी छ र ?

समुन्द्रमाथि पुल बनिसक्यो । कृत्रिम सूर्य र चन्द्रमाको आविष्कार भइसक्यो, मानवविकास र सभ्यताले पृथ्वीमात्र होईन अन्तरिक्ष समेत कब्जा गरिसक्यो । गतिशील संसारको गति यहि क्रममा एकाएक क्षीण बन्दै गयो । सन् २०१९ को अन्तिममा चीनको वुहान सहरमा देखा परेको नोबेल कोरोना भाईरस ( Covid-19) को विषाणुसँगै संसार त्राहीमाम छ । गतिहीन बन्दै गएको संसार अहिले ठप्प प्रायः छ । शक्तिशाली मानवसभ्यता र विश्व आफ्नै मुठ्ठीभित्र छ भन्नेहरुका पनि नौनाडी गलिसकेका छन् । संसार जित्ने सपना बोकेका विश्वविजेताहरु पराजित मानसिकतामा प्रकृतिलाई गुहारिरहेका छन् । आखिर को रहेछ त शक्तिशाली ? प्रकृतिको अगाडि सारा विश्व नै निरीह बनेर चिच्याई रहेको त्रासदीपूर्ण अवस्था छ ।


सन्दर्भ नेपालको
नेपाल विश्वपरिवेशमा अति कम विकसित, विकासोन्मुख वा अल्पविकसित मुलुक भनेर चिनिएको एक भू–परिवेष्ठित देश हो । विश्वको ईतिहासमा स्वाधीन र आत्मनिर्भर मुलुकको रुपमा उभिएको हाम्रो देश प्राकृतिक र भौगोलिक हिसावले भने वैभवशाली र सम्पन्न मुलुक हो । भौगोलिक हिसावले यति सानो मुलुक भईकन जलश्रोतको हिसावले विश्वमा दोश्रो धनी मुलुक, विश्वको सर्वोच्च शिखर सगरमाथासहित मोतीजस्ता चम्किला हजारौँ हिम्श्रृङ्खला । तराई, चुरे, महाभारत, उच्च पहाडदेखि हिमालय पर्वतसम्मको भौगोलिक विविधता, जैविक विविधता र वानस्पतिक सम्पदाको खानी, विशाल धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्परायुक्त वैदिकमानव जीवनशैली, विश्वशान्तिका अग्रदूत महामानव गौतमबुद्ध जन्मिएको पावन पूण्यभूमि, हिन्दूधर्म र पूर्वीय दर्शनको उद्गमस्थल, सदावहार स्वच्छ वातावरण र हावापानी ।

यस्तो समृद्ध मुलुक भएपनि नेपालले आधुनिक विकासको प्रतिस्प्रर्धामा विजेता बन्न सकेन । औद्योगिक र पूँजी विकासको गतिलाई पछ्याउन सकेन । फलस्वरुप विकासोन्मुख मुलुककै रुपमा आफूलाई चिनाईरहन बाध्य भयो । यद्यपी नेपाल राजनीतिक विकासका विभिन्न कालखण्डहरु पार गर्दै संघीय लोकतान्त्रित गणतन्त्रात्मक व्यवस्थामा भरखरै प्रवेश गरेर स्थायित्व र विकासका हाँगाहरु जब समात्ने प्रयास गर्दै थियो २०७२ सालको महाविनाशकारी भूकम्पले चुँडालि दिएका आशा,भरोसा र समृद्धिको त्यो हाँगो पलाउन नपाउँदै फेरि विश्वब्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस ( Covid-19_) को चपेटामा थला पर्न हाम्रो मुलुक बाध्य भएको छ ।

कोरोना भाईरस अघिको ग्रामीण अर्थतन्त्र
कृषि गणनाको पछिल्लो तथ्यांक अनुसार नेपालका करिव ७१ प्रतिशत मानिसहरु कृषि पेसामा आश्रित रहेका छन् । २०६८ सालको जनगणनाको तथ्यांकलाई हेर्ने हो भने नेपालको सहरीक्षेत्रमा जनघनत्व प्रतिवर्ग कि.मी. १३८१ जना र ग्रामीण क्षेत्रमा प्रतिवर्ग कि.मी. १५३ जनामात्र रहेको देखिन्छ । यहि तथ्यांकलाई आधारमान्दा सहरी जनसंख्या १७.०७ प्रतिशत र ग्रामीण भेगको जनसंख्या ८२.९३ प्रतिशत रहेको छ । यस अर्थमा नेपालको अर्थव्यवस्था कृषिमा आधारित ग्रामीण अर्थतन्त्र हो भनेर विश्लेषण गर्न सकिन्छ । तथ्यांकमा जे जस्ता अवस्था देखिपनि पछिल्लो समयमा नेपालमा विशिष्ट परिस्थितिको अर्थव्यवस्थाको अभ्यूदय भयो । जुन दर्शन र राजनीतिशास्त्रले व्याख्या र विश्लेषण गरेकोभन्दा फरक किसिमको अर्थव्यवस्था थियो ।

२०४६ सालमा नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भई प्रजातन्त्र पुनस्र्थापना भए पश्चात राज्यले एकदशकसम्म आन्तरिक विद्रोह (जनयुद्ध) को सामना गर्नुप¥यो । २०६२÷६३ सालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको जनआन्दोलन र जनयुद्धको प्रतिफल स्वरुप राजतन्त्रात्मक राज्यव्यवस्थाको अन्त्य भई नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना भयो ।
गणतन्त्रको स्थापना पश्चात नेपालको ग्रामीण क्षेत्रका युवा जनशक्तिहरु अधिकांश रुपमा बैदेशिक रोजगारीमा आश्रित हुन पुगेपछि पछिल्लो समय देशको ग्रामीण अर्थतन्त्र मूलतः रेमिट्यान्समा आधारित बन्न पुग्यो । खेतबारी बाँझो छाड्ने प्रवृत्ति बढ्दै गयो । नेपालको ग्रामीण कृषिक्षेत्र धरासायीमात्र भएन, पहाडीक्षेत्रका ग्रामीण कृषिभूमिहरु कृषि उत्पादनविहीन बन्न पुगे ।

रेमिट्यान्सबाट प्राप्त रकमबाट सहरी तथा तराईक्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढेसँगै परम्परागत खेतीपाती र पशुपालन गाउँमा शून्य प्रायः भयो । नीजि जग्गामा समेत वन र बुट्यान बढ्न गई वन्यजन्तुहरुको वृद्धि समेत हुँदै जाँदा गाउँमा गरिँदै आएको सीमित कृषिकर्म र खेतीपाती गर्न समेत मानिसहरुले छाड्ने क्रम बढ्यो भने पहाडी ग्रामीणक्षेत्रमा वृद्धा अशक्त र अनुत्पादक जनशक्तिहरुमात्र रहन गई युवा जनशक्तिहरु बैदेशिक रोजगार र सहरीक्षेत्रमा केन्द्रीत बन्न पुगे । जसबाट ग्रामीण जनजीवन शून्य प्राय: र निष्कृय देखिन थाल्यो ।

अर्कोतर्फ ग्रामीणक्षेत्रका जग्गाजमीन, जसबाट हुने उत्पादनले अघिल्लो पुस्ता आत्मनिर्भर र स्वाबलम्बी थियो । ती जग्गाजमीनहरु यति मूल्यहीन बन्न पुगे कि गाउँमा पचासौँ रोपनी जमिन बेचेर सहरमा चार आना वा दशधूरको एक टुक्रा घडेरी पाउन मुस्किल हुन थाल्यो । यसरी सहरी एवम् तराईक्षेत्रका जग्गाजमीनहरु घडेरीका रुपमा उच्चमूल्यमा बिक्री हुन थाले । ग्रामीण श्रम शून्य भो ।
शारीरिकरुपमा मानिसहरु निष्कृय रहँदा ग्रामीण मानिसहरुमा समेत मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगहरुको वृद्धि हुन थाल्यो । घडेरीको रुपमा सहरीक्षेत्रका जग्गाहरुमा घर निर्माण गर्ने र ऐस, आरामपूर्वक बैदेशिक रोजगारीबाट प्राप्त रकमले जीविकोपार्जन गर्ने काममामात्र नेपालको अर्थतन्त्र सीमित हुन पुग्यो । कृषि उत्पादन ह्वात्तै घट्यो । मानव र वन्यजन्तुहरुको बीचमा द्वन्द्व बढ्न थाल्यो । कृषिप्रधान देश नेपाल कृषि उत्पादनमा पराधीन भई नेपालको परम्परागत बालीहरुको उत्पादन जस्तैः कोदो, फापर,जौ, मकै,गहुँ, धान बाहिरबाट आयात गर्नुपर्ने र ठूलो रकम देशबाहिर पठाउनु पर्ने बाध्यता भयो ।


जब कोरोना भाईरसको महामारी आयो
सन् २०१९ को अन्त्य र २०२० को सुरुवात सँगै देखा परेको नोबेल कोरोना भाईरस (ऋयखष्म(ज्ञढ) ले विश्व अर्थतन्त्रको एक प्रमुख राष्ट्र चीन हुँदै युरोप, अमेरिका, खाडी मुलुकहरु, छिमेकी भारत लगायत हाम्रो देशमा समेत जब सन्त्रास फैलाउँदै गयो, सहरी क्षेत्रमा रहेको जनसंख्याको ठूलो हिस्सा नेपालका ग्रामीण बस्तीहरुमा भरिँदै गयो । सहर पसेका युवाहरु गाउँलाई सुरक्षित स्थानमात्र ठानेनन् । उनीहरुले सहरीक्षेत्रमा महामारीको प्रकोप छिटो फैलिन सक्ने हुनाले ग्रामीण क्षेत्र नै कोरोना भाईरसबाट बँच्नको लागि सुरक्षित स्थान हुनसक्दछ भन्ने निष्कर्षका साथ दशैँ, तिहारजस्ता ठूला चाडपर्बहरुमा जस्तै उजाड बनेका गाउँबस्तीमा मानिसहरु भरिभराउ भएका छन् ।
सहरीक्षेत्र र बैदेशिक रोजगारबाट फर्किएका मानिसहरु गाउँमा एकैपटक भेला भएर बस्दा यदि पर्याप्त सावधानी अपनाउन सकिएन भने रोगको झन् महामारी फैलिन सक्ने सम्भावना एकातिर रहन्छ भने उत्पादनबिहीन गाउँघरमा एकैपटक जनसंख्या बढ्दै जाँदा खाद्यान्न संकट लगायतका समस्याहरु सहरीक्षेत्रमाभन्दा ग्रामीणक्षेत्रमा अझै बढी चुनौतीको रुपमा देखा पर्दैछन् ।

कोरोना पश्चातको अवसर
विश्वमा हरेक महामारीहरुले अवसरहरुसमेत सँगसँगै लिएर आएको ईतिहास छ । अहिले जस्तो सङ्कटको अवस्था सधैभरि रहने कुरा रहँदैन । विश्वका सम्भ्रान्त मुलुकहरु अहिले आर्थिक हिसावले थला मात्र परेका छैनन् । कोमामा पुग्न थालिसकेको अवस्था छ । सँगसँगै हाम्रोजस्तो अल्पविकसित र विकासोन्मुखमुलुक पनि । अहिलेको यो विश्व अर्थव्यवस्थाको जर्जर अवस्थाबाट हामीले धेरै कुरा सिक्नु जरुरी छ । प्रकृतिभन्दा शक्तिशाली मानव सभ्यता रहेनछ । यो सबैले बुझिसकेकै छन् । हाम्रो परम्परागत ग्रामीण संस्कृति र संस्कार एवम् हाम्रा परम्परागत वैदिक पद्धतिहरु समेत अहिलेको सन्दर्भमा वैज्ञानिक र सान्दर्भिक सावित भएका छन् । जसलाई हामीले हाम्रो समृद्धिको कडीको र महत्वपूर्ण सम्पत्ति सम्झिनु पर्दछ । यसैको जगमा टेकेर हामीले हाम्रो हावापानी सुहाउँदो समृद्धि र विकासको मूल फूटाउनु पर्ने जरुरी छ । अहिले नेपाल लगाएत विश्वभर फैलिईरहेको यस महामारी पश्चात सुषुप्त अवस्थामा पुगेको नेपालको ग्रामीण अर्थव्यवस्थालाई माथि उठाउने हामीसँग पर्याप्त अवसरहरु रहेका छन् । यस्ता अवसरहरुको समयमै सदुपयोग गर्न जरुरी छ ।

# ग्रामीण अर्थव्यवस्थाको मूख्यआधार कृषिमा आधारित स्थानीय उत्पादन नै हो । हाम्रा विकासका योजनाहरु यसैको जगमा टेकेर बनाउनु जरुरी छ ।

# हाम्रो परम्परागत मान्यता, मानसिकता र कार्यशैलीबाट नतिजा प्राप्त गर्नु फलामका चिउरा चपाउनु जस्तै हो । त्यसैले रुपान्तरणको लागि हरेक क्षेत्रका नेतृत्व वर्गहरु तयार हुनुपर्दछ । रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्नुपर्दछ ।
# ग्रामीण स्थानीय अर्गानिक उत्पादनको नेपालभरमात्र होईन, विश्वबजारमा समेत उच्च माग छ र रहिरहनेछ । यस्ता उत्पादनहरुले अन्तरर्राष्ट्रिय बजार पाउने गरी उत्पादन र बिक्रीवितरणको योजना बनाउन आवश्यक छ ।
# युवा जनशक्तिहरुको ग्रामीण जनजीवनप्रति मोह जाग्रित भएको छ । यहि सन्दर्भमा युवाहरुलाई व्यवसायिक योजनासहित दीगो रुपमा गाउँघरमा बस्न सक्ने वातावरण तयार गर्न र उत्पादनमा उनीहरुलाई आवद्ध गर्न आवश्यक छ ।
# खेर गईरहेका र बाँझा जमीन पूर्णरुपमा व्यावसायिक उत्पादनको लागि सदुपयोग गर्नुपर्दछ । कृषकहरु अग्रसर नभएको खण्डमा राज्य (प्रदेश, स्थानीय सरकार) ले नै किसानको जग्गा लिजमा लिएर व्यावसायिक फर्म सञ्चालन गर्ने, उक्त फर्ममा किसानहरुलाई शेयर सदस्यता प्रदान गर्ने, सोही कार्यमा रोजगारी समेत प्रदान गर्ने, उत्पादन बिक्रीको जिम्मा समेत राज्यले लिई त्यसबाट आउने मुनाफा समेत कृषकहरुलाई प्रदान गर्न सके ग्रामीण कृषि पेसाप्रति आकर्षण बढाउन सकिन्छ ।
# बैदेशिक रोजगारमा गएका युवाहरु विदेशमा पर्याप्त काम गर्छन । यहाँ काम गर्ने सिस्टम नै छैन भन्छन् । उनीहरुको समेत सहभागितामा सिस्टमको विकास गर्ने र सोहि बमोजिमको सुविधा प्रदान गरी नीजहरुको शारीरिक र बौद्धिक श्रमलाई यहि माटोमा किन सदुपयोग गर्न सकिएको छैन ? सोँच बनाउन जरुरी छ ।

# भूगोल र हावापानीको हिसावले नेपालमा विविध किसिमका बालीहरु उत्पादन गर्न सकिन्छ । पूर्वी नेपालको चियाखेती जस्तै हरेक ठाउँमा सम्भावना बोकेका खेतीबालीहरुलाई ब्यवसायीकरण गर्दै वृहत् उत्पादनमा नगई समृद्धि आउँदैन । तराईमा अन्नबाली, मध्यपहाडमा फलफूल, जडीबुटी र नगदेबाली, उच्चपहाड र हिमालमा जडीबुटी खेतीको वृहत्तर योजना बनाई ठूला–ठूला प्लटमा खेती गरिनुपर्दछ । २, ४ बोट निर्वाहमुखी खेतीपातीले हाम्रो जीवनस्तरमा पक्कै सुधार ल्याउन सक्दैन ।
# विभिन्न क्षेत्रका जानकार र विज्ञ्हरुलाई समृद्धिको योजनामा सहभागी गराउने, काममा समर्पित व्यक्तिहरुलाई उत्प्रेरणासहित अवसर प्रदान गर्ने र नतीजामुखी कार्यप्रणाली अवलम्बन गर्न सकेमात्र परिणाम देखिन्छ । यसमा सजग हुनु जरुरी छ ।

# अनुदान वितरण प्रणाली उत्पादनमा आधारित बनाईनु पर्दछ ।
# ग्रामीणबस्तीहरुलाई एकीकृतबस्तीमा रुपान्तरण गर्ने नीति बनाउनु पर्दछ । २,४ घरको लागि विकासका पूर्वाधारहरु निर्माण (बाटो, खानेपानी, बिजुली, विद्यालय आदि) गर्दा समय र बजेटले हामीलाई कहिल्यै नपुग्ने अवस्था छ । यसतर्फ अब साँेच्नुपर्ने छ ।
# तालिम, गोष्ठी, सेमिनारहरु आदिमा अधिक समय र बजेट खर्च भइरहेको छ । नतिजा न्यून छ । पूर्वाधार केन्दी्रत बजेट विनियोजन गर्न जरुरी छ ।
# ग्रामीणक्षेत्रमा डोजरे विकास मात्र विकास हो भन्ने बुझाई छ । यसबाट वातावरण समेत विनास भईरहेको छ । विकासको परिभाषा र मोडल परिवर्तन गर्न, रोजगारी सहितको आर्थिक, सामाजिक विकासमा जोड दिने गरी योजना निर्माण गर्न जरुरी छ ।
# नतीजाको लागि एकीकृत, केन्दी्रकृत र ठूला विकास योजनामा केन्दी्रत हुनु जरुरी छ । छरिएको बजेटबाट नतीजा प्राप्त गर्न कठिन छ ।

हाम्रो विकासको सुस्तगतिलाई तीव्रता दिन हाम्रो कार्यशैली आक्रामक हुनैुपर्ने छ । हामी नेपालीलाई नियतिले पटक–पटक ठगिरहेको छ । विकास र समृद्धिको यात्रामा सोचेंजस्तो सफलता प्राप्त गर्न नसकिरहेको सन्दर्भमा फेरि कोरोना भाईरसको महामारीमा पिल्सिनु परिरहेको छ । कोरोनाको कहरलाई परास्त गरिसकेपछि हाम्रो ग्रामीण अर्थतन्त्रमा चमत्कारिक र रुपान्तरणकारी परिवर्तनको लागि यस महामारीबाट जोगिनको लागि घरैमा बसिरहेका हामी समस्त सरोकारवालाहरुले केही योजना बनाउन सक्छौँ कि !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।