May 16, 2022
बुटवल । प्रकोपबाट बच्न पहिले आफैले आफ्नै घरैदेखि सावधानी अपनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)रुपन्देहीले आग्रह गरेको छ । लकडाउनको दोस्रो चरणलाई अझ संवेदनशील रुपमा रहेको भन्दै अझ बढी सजग, सचेत र सावधान हुनुपर्ने आज एक प्रेस विज्ञप्ति जारी गरी सबैमा आग्रह गरिएको छ । लकडाउन हाम्रै सुरक्षा र थप सावधानीका लागि भएको भन्द घरमै बस्न, भीडभाडमा नजान र आफु सुरक्षित रहेर आम नागरिकलाई सुरक्षित गर्नेतर्फ लाग्न सबैमा आग्रह समेत गरीएको छ । साथै बिदेशबाट आएकाहरुको पहिचान गरि स्थानीय स्तरमा तयार पारिएका क्वारेन्टाईनमा अनिबार्य बस्न लगाउने काममा सहयोग गर्न र सामाजिक दुरी कायम राख्न आम कार्यकर्तालाई निर्देशन जारी समेत गरिएको छ ।
आदरणीय रुपन्देहीबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु !
अहिले नेपालसहित विश्वभरि नै कोरोनाको प्रभाव फैलिएको छ । यसबाट बच्नका लागि हरेक नागरिकले आफ्नो दैनिकी परिवर्तन गरेको अवस्था छ । प्रकोपबाट बच्न पहिले आफैले आफ्नै घरैदेखि सावधानी अपनाउन विशेष अनुरोध गर्दछौं ।
मुलुक लकडाउन भएको पहिलो चरण आज सकिएको छ । लकडाउनको दोस्रो चरणलाई अझ संवेदनशील रुपमा हेरिरहेको अवस्था छ । तसर्थ यो चरणमा अझ बढी सजग, सचेत र सावधान रहनुपर्ने छ । लकडाउन गरिएको तपाईं हाम्रै सुरक्षा र थप सावधानीका लागि हो । यो बेलामा घरमै बस्नुहोस्, भीडभाडमा नजानुहोस् । आफु सुरक्षित रहेर आम नागरिकलाई सुरक्षित गर्नेतर्फ लाग्न,
बिदेशबाट आएकाहरुको पहिचान गरि स्थानीय स्तरमा तयार पारिएका क्वारेन्टाईनमा अनिबार्य बस्न लगाउने काममा सहयोग गर्न र सामाजिक दुरी कायम राखेत महामारी विरुद्धको यो युद्धमा अब्बल दर्जाको सिपाहीको भूमिका निर्वाह गर्न आम कार्यकर्तालाई निर्देशन जारी गरिएको छ ।
उच्च जोखिमको यो अवस्थामा पूर्व सावधानीका सम्पूर्ण उपाय अवलम्बन गर्न आमनागरिक समुदायमा हार्दिक अपिल गर्दछौं सरकारद्वारा अग्रसारित सम्पूर्ण निणर्य र कार्यक्रमहरुको पूर्ण पालना गरि आफु सुरक्षित रही आम नागरिकलाई समेत सुरक्षित राख्ने वातावरण तयार गर्न र सरकारी निणर्यको कार्यान्वयनमा सहयोग पुर्याउन पार्टी जिल्ला कमिटी र मातहतमा सम्पूर्ण कमरेडहरुलाई हार्दिक आह्वान गर्दछौं ।
मानव सभ्यता र आधुनिक विज्ञानलाई समेत चुनौति दिइरहेको कोरोना भाइरसको संक्रमणबाट आम नागरिकलाई जोगाउनु अहिले सरकार र हामी सबैको प्राथमिक दायित्व हो । त्यसैले यो विषम परिस्थितीमा जनस्वास्थ्य र जनजीविकाका पक्षमा संवेदनशील भइ पर्याप्त सुरक्षा सामग्री र आवस्यक उपकरणसहित चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गर्न, भेन्टीलेटर सहितको आइसीयू कोरोना विशेष अस्पताल सञ्चालन गर्न, प्रत्येक जिल्लामा आवश्यक किटसहित कोरोना टेष्ट ल्याबको स्थापना गर्न जरुरी देखिएको छ । यसतर्फ केन्द्रित हुन सरकारलाई आग्रह गर्दछौं । यस्तै दैनिक ज्यालादारी तथा श्रममा जीवन निर्वाह गर्ने श्रमजीवी वर्ग र गरिबीको रेखामुनी रहेका नागरिकलाई लकडाउन अवधीभर न्यूनतम जीवनयापनको व्यवस्था मिलाउने कामलाई अझ प्रभावकारी बनाउनुपर्ने छ । ज्यालादारी मजदुरको डाटा संकलन गर्न, आवश्यक राहतको सूची बनाउन र स्थानीय पालिकाका जनप्रतिनिधिसंग समन्वय गरेर आवश्यक परेका खण्डमा स्वयंसेवकका रुपमा खट्न कार्यकर्तालाई निर्देशन गर्दछौं । दैनिक अत्यावश्यक उपभोग्य सामग्रीको सहज आपुर्तीको व्यवस्थाका साथै कालोबजारी नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी रुपमा अगाडि वढाउन नेपाल सरकार समक्ष पार्टीको तर्फबाट जोडदार माग गर्दछौं ।
अहिलेको यो परिस्थितीलाई सकेसम्म सहज बनाउनेतर्फ तीनै तहका सरकार र राज्यका सबै संयन्त्रहरु केन्द्रित भएको अवस्था छ । यो संवेदनशील बेलामा आम नागरिक अझ जिम्मेवार बन्नुपर्ने छ । जिल्ला कमिटीका सबै कमरेडहरु, दुबै तहका निर्वाचन क्षेत्रीय कमिटी तथा सबै पालिकाका जिम्मेवार कमरेडहरु परिस्थितिलाई सक्दो सहज बनाउने काममा केन्द्रित हुनुहोस् भन्ने पार्टीको निर्देशन छ । यस्तो परिस्थितिमा निरन्तर काममा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबैलाई पार्टीका तर्फबाट आभार प्रकट गर्दै अझ दृढताका साथ काममा खट्नुहुनेछ भन्ने अपेक्षा गर्दछौं । राहत र उद्धारका काममा तयार रहन राजनीतिक दल, उद्योगी, व्यवसायी, संघसंस्था र प्रतिष्ठानलाई विनम्र अनुरोध गर्दछौं ।
साथै अनावश्यक भ्रम फैलाउने, नचाहिने हल्ला चलाउने र सरकारका व्यवस्थित कामलाई अतिरञ्जनापूर्ण तरिकाले भ्रम फैलाउने तत्व सक्रिय छ । त्यसप्रति सचेत र सजग बनेर विपद्को पूर्वतयारीमा केन्द्रित रहनुहोस् ।
सिङ्गो पार्टी कमिटी, पार्टीका आदरणीय नेताहरुले नेतृत्व गरेका सरकारले उदाहरणीय काम गरिरहेका छन् । यसर्थ गलत र भ्रामक प्रचारबाजीका आधारमा आफ्नो धारणा नबनाउन पनि अनुरोध गर्दछौं ।
प्रतिकृया दिनुहोस्