ताजा अपडेट »

सुनचाँदी व्यवसायी संघद्वारा तिलोत्तमा नगरपालिकालाई २ हजार मास्क प्रदान

सोमबार, १७ चैत्र २०७६, १० : १६

तिलोत्तमा । नेपाल सुनचाँदी व्यवसायी संघ तिलोत्तमा शाखाले तिलोत्तमा नगरपालिकालाई दुई हजार मास्क प्रदान गरेको छ । कोरोना भाइरसका कारण बजारमा मास्कको कमी भइरहेका बेला संघले युनिक सेनेटरी प्याड उद्योगबाट उत्पादित मास्क ल्याएर नगरपालिकालाई प्रदान गरेको हो ।

नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउने कार्यका लागि मास्क प्रदान गरिएको संघका उपाध्यक्ष विष्णु कालीराजले बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले नगरपालिकालाई प्रदान गरिएको मास्क नगरमा हरेक वडामा खटिने कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नगरप्रहरीलगायतलाई प्रदान गरिने जानकारी दिए । उनले नगरपालिकाले कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने निजी सुरक्षा उपकरण पीपीई उत्पादन गर्न लागेको पनि जानकारी गराए ।

तिलोत्तमा चेम्बर अफ कमर्शका उपाध्यक्ष रामचन्द्र पाण्डेले स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंक्तिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन आवश्यक रहेको बताए। नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, सुनचाँदी व्यवसायी संघ तिलोत्तमाका कोषाध्यक्ष मिन विश्वकर्मा, सल्लाहकार जित गहतराज र जिल्ला सदस्य मनोज सेन्चुरीले बजारमा मास्क अभाव भइरहेको अवस्थामा संघले प्रदान गरेका मास्कले थोरै भएपनि राहत पुग्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।