ताजा अपडेट »

विदेशबाट आउनेहरुको निगरानी गर्न नेकपा तिलोत्तमाको आग्रह

शनिबार, १५ चैत्र २०७६, ११ : १४
10 Shares

तिलोत्तमा। नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले विदेशबाट आएका नागरिकको निगरानी र पहिचान गर्ने काममा सहयोग पुर्याउन मातहतको पार्टी पँक्तिलाई निर्देशन दिएको छ । कोरोना संक्रमण हुनबाट जोगिने उपायहरूको व्यापक प्रचार प्रसार गर्नुपर्नेमा जोड दिँदै नेकपा तिलोत्तमाले विभिन्न मूलुकहरूबाट आउनेहरूको पहिचान गरी निगरानीमा राख्ने, आवश्यकता अनुसार क्वारेन्टाईन र आईसोलेसनमा पठाउने काममा सहयोग पुर्याउन पनि आग्रह गरेको छ ।

यसका साथै नेकपाले सरकारद्वारा घोषित लकडाउनको पालन गर्न र यसका लागि सहयोग पुर्याउन पनि आग्रह गरेको छ । नेकपा तिलोत्तमा नगर कमिटीले शनिबार भिडियो कन्फ्रेन्समार्फत बैठक गरी कार्यकर्ताका नाममा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो । नेकपा नगर अध्यक्ष मोहन चापागाई र सचिव लक्ष्मण खनालद्वारा जारी सर्कुलरमा आफु सुरक्षित रहेर कमजोर नागरिकका लागि सहयोग वितरण तथा समस्यामा परेकाहरूको सहयोगमा स्वयम् सेवकका रूपमा खट्न पनि आह्वान गरिएको छ । महामारी बिरूद्वको लडाईमा सरकार र नागरिक एक भई सकारात्मक भूमिकामा उभिनुपर्नेमा जोड दिंदै नेकपाले सबै प्रकारका भ्रमहरू चिर्दै बलियो आत्मविश्वास र अनुशासनको पालना सहित अघि बढ्न उत्प्रेरित गर्ने काममा दृढतापूर्वक लाग्न अनुरोध गरेको छ ।

नागरिकको हरेक अप्ठेरोमा पार्टी कमिटीसँगै रहेको र संघीय, प्रदेश र स्थानीय सरकारहरू साथमा रहेको नेकपा तिलोत्तमाले उल्लेख गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।