ताजा अपडेट »

कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो, संक्रमितको संख्या ६ लाख नजिक

शनिबार, १५ चैत्र २०७६, ०८ : ५०
12 Shares

बुटवल । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को संक्रमितको संख्या ६ लाख पुग्न लागेको छ। पछिल्लो तथ्याङ्कअनुसार विश्वका ५ लाख ९६ हजार २१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। यीमध्ये २७ हजार ३ सय ४१ जनाको मृत्यु भइसकेको छ।

संक्रमित मध्ये १ लाख ३३ हजार ५७ जना बिरामी उपचार पश्चात निको भइ अस्पतालबाट घर फर्केका छन्। वल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार अहिले ४ लाख ३५ हजार ६ सय २३ बिरामीहरु विश्वका विभिन्न देशका अस्पतालहरुमा उपचारत छन्। यीमध्ये ४ लाख १२ हजार १ सय ४ जनाको अवस्था सामान्य छ भने २३ हजार ५ सय १९ जनाको अवस्था गम्भीर रहेको छ। कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयताको तीन महिनाको अवधिमा यो भाइरस विश्वका १ सय ९९ देश तथा भूभागमा फैलिसकेको छ। सुरुमा दिनहरुमा यो भाइरसको प्रभाव चीनमा बढी देखिए पनि पछिल्ला दिन चीनमा ज्यादै कम अमेरिका, युरोप र खाडी राष्ट्रमा तिव्ररुपमा फैलिरहेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशहरुमा अमेरिका, इटाली, चीन, स्पेन, जर्मनी, फ्रान्स, इरान, बेलायत, स्वीट्जरल्याण्ड, दक्षिण कोरिया, नेदरल्याण्ड्स, अष्ट्रिया, बेल्जियम, टर्की, क्यानाडा, पोर्चुगल र नर्वे रहेका छन्। कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् भने मृत्यु इटालीमा भएको छ। शुक्रबारसम्म अमेरिकामा १ लाख ३ हजार ७ सय ९८ जनामा कोरोनाको संक्रमण देखिएको थियो, जसमध्ये १ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ।इटालीमा ८६ हजार ४ सय ९८ जनामा कोरोनाको संक्रमण देखिएकोमा ९ हजार १ सय ३४ जनाको मृत्यु भएको छ। चीनमा ८१ हजार ३ सय ९४ जनामा कोरोनाका संक्रमण भएको पाइएको छ। यीमध्ये ३ हजार २ सय ९५ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा रहेका ६५ हजार ७ सय १९ कोरोना संक्रमित मध्ये ५ हजार १ सय ३८ जनाको मृत्यु भएको छ। जर्मनीमा हालसम्म ५० हजार ८ सय ७१ जनामा कोरोना संक्रमण पाइएको छ भने यीमध्ये ३ सय ५१ जनाको मृत्यु भइसकेको छ। फ्रान्साम कोरोना संक्रमितको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ, जसमध्ये १ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ। इरानमा रहेका ३२ हजार ३ सय ३२ कोरोना संक्रमित मध्ये २ हजार ३ सय ७८ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय ४३ पुगेको छ। यीमध्ये ७ सय ५९ जनाको मृत्यु भइसकेको छ। स्वीट्जरल्याण्डमा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय २८ रहेको छ भने २ सय ३१ जनाको मृत्यु भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।