May 18, 2022
तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नगर प्रमुख बासुदेव घिमिरेले ५० हजार रुपैयाँ दिएका छन्। यस्तै उपप्रमुख जगेश्वरदेवी चौधरीले कोषमा १० हजार रुपैयाँको योगदान गरेकी छन् । नगरपालिकाले यसअघि नै स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई थप मजबुद बनाउँदै लैजाने निर्णयसँगै उनिहरुले कोषमा व्यक्तिगत योगदान गरेका हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको सन्दर्भमा नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए । प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा नगरपालिकाको झण्डै ८० लाख रुपैंयाँ रहेकोमा कोरोना महामारीको सन्दर्भमा जुटाइने सहयोगले कोषलाई कम्तिमा एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।
नगरपालिकाले कोषमा सहयोग गर्न गरेको आह्वानसँगै विभिन्न व्यक्ति तथा संघ संस्थाले समेत रकम प्रदान गर्न थालेका छन् । तिलोत्तमा-१, स्थित होराइजन जिबिएस स्कुलले एक लाख एक हजार रुपैयाँ कोषमा दिएको प्राचार्य गोपाल आचार्यले जानकारी दिए ।
यस्तै तिलोत्तमा-८, प्रदीपनगर निवासी वरिष्ठ समाजसेवी चिन्तामणि चालिसेले कोषमा पाँच हजार पाँच सय रुपैंयाँ दिने घोषणा गरेका छन् । नगरपालिकाले एनआइसी एशिया बैंकमा प्राकृतिक प्रकोप कोषको खातामा आफू सक्दो सहयोग गर्न सबैलाई अपिल गरेको छ ।
कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगर प्रमुख बासुदेव घिमिरेले बताए । प्रकोप जुनसुकै बेला पनि आउन सक्ने भएकाले त्यसको पूर्वतयारीका लागि कोषलाई बजमुद बनाउने गरी सहयोग गर्न इच्छुकलाई आग्रह गरिएको उनले प्रष्ट पारे ।
यतिबेला कोरोना संक्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले वडा नं. १ स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँ अहिले १९ जना बसेका छन् । त्यहाँ ५० जनासम्म बस्न मिल्ने गरी तयारी भैरहेको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाक टार्न समस्या भएका प्रतिपरिवारलाई पहिलो चरणमा १० किलो चामल, २ किलो दाल र १ किलो नुन दिने घोषणा गरेको छ ।
प्रतिकृया दिनुहोस्