ताजा अपडेट »

लकडाउन अवधी : विपन्नको घरमा तिलोत्तमाले पुर्याइदियो खाद्यान्न

शुक्रबार, १४ चैत्र २०७६, १५ : ५५
18 Shares

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न उपलव्ध गराउन थालेको छ । ‘लकडाउन’ अवधिमा विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिशमा शुक्रबारदेखि खाद्यान्न उपलव्ध गराउन सुरु गरेको हो ।

शुक्रबार नगरपालिकाको वडा नम्बर ४ बाट सुरु गरिएको खाद्यन्न वितरण सबै वडामा चल्नेछ । वडा नं. ४ को सीमानगरमा नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले खाद्यन्न वितरण सुरु गरे। शुक्रबार वडा नं. ४ र ५ का विपन्न परिवारलाई खाद्यान्न उपलव्ध गराइएको र यसले दैनिक ज्याला मजदूरी गरेर खाने विपन्न वर्गलाई थोरै भएपनि राहत पुगेको नगर प्रमुख वासुदेव घिमिरेले बताए। कोभिड-१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउँदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पु‍र्याइदिने गरी नगरपालिकाले बिहीबार निर्णय गरेको थियोे ।

नगर प्रमुख घिमिरेले भने-“सम्बन्धित टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले आफ्नै गाडीबाट घर–घरमै खाद्यान्न पु‍र्याइदिने छ ।” घरमै खाद्यान्न पाएपछि तिलोत्तमा वडा नम्बर ४ सीमानगरका ईन्द्र थापाले संकटका बेलामा नगरपालिकाले सरकार भएको महशुस दिलाएको बताए ।तिलोत्तमाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्यो/धन्दा, ठेकेदार, घरधनीले उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले कोही पनि नगरबासीलाई भोकै मर्न नदिने बताए ।

नगरका १७ वटै वडामा रहेका विपन्न परिवारको तथ्यांक संकलन गरी राहतको व्यवस्था गरिने नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । नगरका १७ वटै वडामा रहेका टोलविकास संस्थाहरुले विपन्नहरुको पहिचान गरी वडा कार्यालयमा जानकारी गराएपछि वडाको सिफारिशको आधारमा नगरपालिकाले खाद्यान्न उपलव्ध गराउने व्यवस्था मिलाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।