ताजा अपडेट »

रामवरण यादवलाई काँग्रेसको सभापति बन्ने रहर !

बुधबार, १५ फागुन २०७५, ०८ : ४९
38 Shares


फागुन १४ ,काठमाण्डु । पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालीन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गर्दै आफूले राजनीति गर्दा नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको तर राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बताएका छन् ।

सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार र नेशनल ल कलेजका संस्थापक प्रमुख तथा कार्यकारी निर्देशक डा रामकृष्ण तिमल्सेनाद्वारा लिखित ‘अदालतभित्र अदालतबाहिर’ पुस्तकको मंगलबार ललितपुरमा विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले वर्तमान संविधान आधुनिक र काम गर्न सक्ने संविधान भएकाले सोही आधारमा सङ्घीय गणतन्त्रात्मक समावेशी, धर्मनिरपेक्ष लोकतन्त्रलाई निरन्तर कायम गर्न सकिनेमा जोड दिए ।

उनले नेपालको इतिहासका कठिन समयमा अदालतले प्रजातन्त्रको रक्षा गरेको बताउँदै आमसञ्चार, नागरिक समाज र चेतनशील समुदायले पनि अदालतको सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताए । पूर्वराष्ट्रपति यादवले संविधानसभामार्फत हतारमा एकमुष्ट रूपमा संविधान पारित गर्नुपर्ने अवस्था बनेको सम्झँदै कानूनजस्ता कुरालाई पर्याप्त समय दिएर छलफल गरेर अन्तिम रूप दिनु उपयुक्त हुने धारणा व्यक्त गरे ।

करीब ३०० पृष्ठको पाँच खण्डमा विभाजित र न्यायालयमा करीब ३१ वर्षको अनुभव समेटिएको पुस्तक विमोचनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले बङ्गलादेशमा समेत प्रयोग हुन छोडेको बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनेमा आफू सहमत नभएको बताउँदै बहुदलीय प्रणाली भएको मुलुकमा स्वतन्त्र व्यक्तिको सरकार बन्ने र बहालवाला प्रधानन्यायाधीश सरकार प्रमुख बन्ने कुरा प्रजातान्त्रिक नभएको दाबी गरे ।

सात जना पूर्वप्रधानन्यायाधीशसँग रजिस्ट्रारका रूपमा काम गर्दा उनीहरूको व्यक्तित्व समेतका विषयमा लेखिएको पुस्तकका सम्बन्धमा पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीले सर्वोच्च अदालतमा काम गर्दा आफूलाई थाहा नभएको विषयमा समेत जानकारी समेटिएको उल्लेख गरे । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानूनी क्षेत्रको पनि साहित्य हुने र साहित्यले कानून जस्तो निरस विषयलाई पनि सहयोग गर्नसक्ने विषयमा बहस हुनुपर्नेमा जोड दिँदै सुशासन, विकास, कानूनी राज्य तथा लोकतन्त्रले सँगै काम गर्नुपर्ने बताए ।

पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले अदालत प्रशासन र न्याय प्रशासन निकै जटिल विषय भएको बताउँदै आजको अदालतको अवस्था निकै भिन्न भएको र नयाँ पुस्ताले नै अदालतप्रति जनआस्था कायम गर्नसक्ने र त्यसको गरिमा जोगाउनसक्ने धारणा व्यक्त गरे । उद्योगपति तथा समाजसेवी डा उपेन्द्र महतोले हरेक व्यक्तिको मनमा अदालत हुने र त्यो अदालतले भनेको कुरा सुन्दा बाहिरको अदालत आवश्यक नपर्ने बताए ।

पुस्तकका समीक्षक, नेपाल कम्युनिस्ट पार्टी नेकपाका पोलिटब्यूरो सदस्य तथा पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधरले हाल सुरक्षाकर्मी, पूर्वप्रशासक, राजनीतिज्ञ सबैमा आत्मकथा लेख्ने चाहना बढेको बताउँदै न्यायालयमा बस्नेले पनि जीवनी लेख्दा कठिनाइ आउनसक्ने बताए । फ्रिडम फोरमका प्रमुख तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले उक्त कृति आत्मकथा नभई अनुभवको मिश्रण भएको बताउँदै ‘न्यायपालिकामा क्षमता भएका व्यक्तिलाई किन अवसर दिइँदैन प्रश्न गर्नुपर्ने बताए । ।

विमोचित पुस्तकका लेखक डा रामकृष्ण तिमल्सेनाले जीवनलाई विदेशी भाषा सिकाइसँग तुलना गर्दै आफ्नो ब्रह्मले देखेका कुरा लेखेको बताए । पुस्तक प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले छायाँ लेखनको इतिहास ३०० वर्षको भइसकेको बताउँदै प्रत्येक व्यक्ति आफैँमा महापुरुष भएकाले उसले आफैँ वा छायाँ लेखनका माध्यमबाट आफ्नो अुनभव पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । लेखकका परिवारका सदस्यका रूपमा पुष्पा पोखरेलले यसै पुस्तकबाट लेखकका अन्य आयाम तथा न्यायापालिकाको अवस्थाबारे थप बुझ्न सकिएको बताए ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।