ताजा अपडेट »

लकडाउनको तेस्रो दिन, बुटवलसहित देशभर सुनसान

विहीबार, १३ चैत्र २०७६, १० : २३
6 Shares

बुटवल । मंगलबारदेखि सुरु भएको देशभरको लकडाउनको आज तेस्रो दिन हो । बुटवल लगायत देशभरका सडक र शहर बजारका पसलहरु सुनसान छन् । सुरक्षाकर्मीहरुको उपस्थिती सडकमा उच्च रहेको छ ।

कोरोना भाइरसको विश्वव्यापी आतंकसँगै नेपालमा पनि चैत ११ गतेदेखि १८ गतेसम्म लकडाउन गरिएको हो । देशभर सडक अवागमनमा रोक लगाएसँगै लामो तथा छोटो दुरीका यातायात थन्किएका छन् । अतिआवश्यक सवारी साधन एम्बुलेन्स, सुरक्षाकर्मी, दमकल, खानेपानी, दुध, खाद्यान्नका सवारी भने संचालनमै रहेपनि त्रास कायमै छ । अप्ठ्यारो परिस्थीतीलाई बुझेर नागरिकले सरकारको अनुरोध लाई स्वीकार गरेपनि बजारमा कालोबजारी भने घट्न सकेको छैन ।

यसलाई पनि अनुगमन गर्दै ठगी गर्नेलाई कारबाही गरि खाद्यान्न लगायत अन्य उपभोग्य सामानहरु सहज बनाइदिन सर्वसाधारणले सरकारसँग अनुरोध गरेका छन् । बिहीबारदेखि जिल्ला प्रशासन कार्यालयको अनुमति बिना कुनै पनि गाडी चलाउन नपाइने पनि गृह मन्त्रालयले जनाएको छ । अझै पनि केही व्यक्ति लकडाउनको अवस्था हेर्न निस्किरहेका पाइएकाले त्यसो नगर्न प्रहरीले आग्रह गरेको छ ।

संसारभरी कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । वर्ल्डोमिटर तथा जोन होप्किन्स युनिभर्सिटीले तयार गरेको डाटा अनुसार मृतकको संख्या २१ हजार १ सय ९८ पुगेको छ भने ४ लाख ६८ हजार ८ सय ७ मा कोरोनाको संक्रमण देखिएको छ । चीनबाट सुरु भएको कोरोनाको संक्रमण संसारभरी फैलिसकेको छ । संक्रमण फैलने डरले एक तिहाई जनसंख्या घरभित्रै छन् ।

संसारको दोस्रो धेरै जनसंख्या भएको देश भारतमा पनि २१ दिनका लागि लकडाउनको घोषणा गरिएको छ । नेपालमा हालसम्म तीन जनामा कोरोना संक्रमण देखा परेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।