ताजा अपडेट »

कोरोना नियन्त्रण गर्न प्रदेश पाँचमा १० करोडको कोष

सोमबार, १० चैत्र २०७६, १४ : २१
4 Shares

बुटवल । प्रदेश पाँच सरकारले नोभल कोरोना भाइरस नियन्त्रणका लागि १० करोड बराबरको कोष बनाउने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले करोड रुपैयाँको नोभल कोरोना भाइरस नियन्त्रण कोष बनाउने निर्णय गरेको मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रेस सल्लाहकार सेरबहादुर केसीले जानकागरी गराएका छन् । कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब बराबरको रकम जम्मा गर्ने भएका छन् । नोभल कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन गर्न मन्त्रीहरु संयोजक रहेको व्यवस्थापन समिति गठन गरिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि संयोजक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री संयोजक, भिम अस्पताल, भैरहवाका लागि सामाजिक विकास मन्त्री, केन्द्रीय आर्युवेद विद्यापिठ बेलझुण्डी दाङका लागि आन्तरिक मामिला तथा कनून मन्त्री तथा शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका लागि भौतिक पूर्वाधार विकास मन्त्री संयोजक रहने गरी समिती गठन गरिएको छ ।

गठित समितिले तोकिएको जिम्मेवारी भित्रको क्षेत्रमा यथासक्य छिटो आइसोलेसन अस्पताल स्थापना गर्ने छन् । समितिले अस्पतालको सञ्चालन कार्ययोजना बनाउने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको सूची तयार गरी जनशक्ति व्यवस्थापन गर्ने र अस्पताल सञ्चालनका क्रममा आवश्यक निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुसँग आवश्यक सहयोग प्राप्तिका लागि काम गर्ने जनाइएको छ । बैठकले हरेक आइशोलेसन अस्पताल निर्माणका लागि निर्माण, सञ्चालन र व्यवस्थापन समितिको सदस्य सचिव कार्यरत रहेको कार्यालयमा नियमानुसार खर्च गर्ने गरी एक करोड रुपैंयाका दरले उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले कानुन मस्यौदा तथा सुझाव कार्यदलको समयावधि असार मशान्तसम्म थप गर्ने, सार्वजनिक खरिद सम्बन्धी प्रदेश नियमावली २०७६ को पहिलो संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी वन ऐन, २०७६ को दफा ६२ को उपदफा १ को प्रयोजनको लागि मुद्दाको अनुसन्धान गर्न कम्तिमा अधिकृतस्तर सातौं तह, सहायक अधिकृत पदको कर्मचारीलाई तोक्ने र बजार नियमन तथा प्रतिस्पर्धा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्विकृति प्रदान गर्ने निर्णय गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।