ताजा अपडेट »

बुटवलको आइसोलेस अस्पतालमा डब्लूएचओका प्रतिनिधिद्वारा निरीक्षण

सोमबार, १० चैत्र २०७६, १० : ३४
8 Shares

बुटवल । बुटवलमा कोरोना भाइरस प्रकोपको पूर्वतयारी स्वरुप निर्माण गरिएको आइसोलेसन अस्पताल सञ्चालनमा आएको छ । बुटवल उप–महानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा धागो कारखानाका बन्द रहेका भवनमा आइसोलेसन अस्पताल तयार पारेको हो ।

बुटवल–१० मा बन्द अवस्थामा रहेको उक्त कारखानाका दुई कोठा र परिसरलाई व्यवस्थित गर्दै आइसोलेसन अस्पतालका रुपमा तयार पारिएको थियो । दुई कोठामा ४० वटा बेड तयार पार्दै आइतबार बेलुकादेखि अस्पताल शुभारम्भ गरिएको छ । बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लुम्बिनी प्रादेशिक अस्पतालका आइसोलेसनका फोकल पर्शन तथा विशेषज्ञहरुलाई प्रभावकारी उपचार सेवा प्रदान गर्न आग्रह गर्दै अस्पताल शुभारम्भ भएको जानकारी दिए । कोरोनासँग मिल्दो लक्षण लिएर आउने विरामीलाई अस्पतालहरुले अन्यत्र पठाइदै आइएको गुनासो आइरहेका बेलामा बुटवलमा छोंटो अवधिमै यसखालको अस्पताल निर्माण भएको भन्दै प्रशंसा भएको छ । बुटवलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बिरामी नभेटिए पनि कोरोनासंग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चार/पाँच जना विरामी आउने गरेको बताइएको छ । उनीहरु कसैलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छैन ।

यहाँका स्वास्थ्यसंस्था, निजी क्षेत्र र सरोकारवालाको सहकार्यमा प्रकोप पूर्वतयारीलाई तीव्रता दिंदै आएको र सोही क्रममा क्वारेन्टाइनका लागि कोठा निर्माण गर्नुका साथै अस्थायी रुपमा आइसोलेसन अस्पताल निर्माण गरिएको प्रमुख सुवेदीले बताए । आइतबार बेलुकादेखि सञ्चालनमा आएको बुटवलको कोरोना आइसोलेसन अस्पतालमा भेन्टिलेटरसहित दुई कोठा र केही टेन्टहरु रहेका छन् । व्यवस्थित गरिएका ४० बेडमा अक्सिजन, सलाईन, औषधि, उपकरणसहितको व्यवस्था छ । अती जोखिममा रहनेलाई भेन्टिलेटरमै राखेर उपचार गर्न मिल्नेसम्मको व्यवस्था मिलाइएको छ ।
यहाँका निजी तथा सामुदायिक अस्पतालले यो काममा सहकार्य गरेका छन् । यस्तै औषधि व्यवसायीहरुले पनि विशेष अभियानमा सहकार्य गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

उप–महानगरपालिका प्रमुख सुवेदीको नेतृत्वमा प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, मेसु राजेन्द्र खनालसहित सुरक्षाकर्मीको टोली निर्माण स्थल बुटवल धागो कारखाना परिसरमा खटिएको थियो । कोरोना आइसोलेसन अस्पतालमा प्रादेशिक अस्पतालमा पुगेका र त्यहाँ बेड नपाएर वेटिङमा रहेकालाई ल्याइने मेसु डा.खनालले बताए ।

डब्लूएचओका प्रतिनिधिद्वारा निरीक्षण

यसैबीच बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा निर्माण भएको आइसोलेशन अस्पतालको विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले निरीक्षण गरेका छन् । उक्त संगठनका प्रतिनिधि डा.श्रूति नेपालको टोलीले आइतबार अपरान्ह आइसोलेस कक्षको निरीक्षण गर्दै उपयुक्त रहेको प्रतिक्रिया दिएका छन् ।

दलहरुलाई सहकार्यको साझा प्रतिबद्धता

बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पताल र यहाँका निजी तथा सामुदायिक अस्पताल एवम् औषधि व्यवसायीसंगको सहकार्यमा क्वारेन्टाइन र आइसोलेशन कक्ष निर्माण गरेकोप्रति सराहना गर्दै यहाँका राजनीतिक दलहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
आइसोलेन अस्ताल परिसरमै खटिएका प्रमुख सुवेदीलाई भेट गर्दै राजनीतिक दलका नगरस्तरीय नेताहरुले महाविपत्तीको सामना गर्न आफुहरु सहकार्यका लागि तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

नेपाली कांग्रेसका नेता खेलराज पाण्डेको नेतृत्वमा गएका विभिन्न आठ दलका प्रतिनिधिहरुले प्रमुख सुवेदी, अस्पतालका अध्यक्ष भट्टराई, मेसु खना र फोकल पर्शन डा.थापालाई भेट गर्दै आफुहरु सहकार्यका लागि तयार रहेको बताएका थिए ।

क्वारेन्टाईनका लागि सय कोठा तयार

बुटवलमा क्वारेन्टाइनका लागि हाल बिदा भएका र एसइइको केन्द्र समेत नतोकिएका सामुदायिक विद्यालयका करिब एक सय कोठाहरुलाई प्रयोग गर्नेगरी तयारी अवस्थामा राखिएको छ । बुटवल उपमहानगरका स्वास्थ्य तथा जनशंख्या महाशाखा प्रमुख मित्रमणी खनालका अनुसार एक सय कोठालाई तयारी अवस्थामा राखिएको छ । ती स्थलमा उपयुक्त शौचालय, स्नानागार, भान्सा कोठादेखि उपयुक्त विस्तारासम्मको व्यवस्था मिलाउने काम भएको खनालले बताए ।

जोगिनु नै उत्तम उपाय

कोरोनाको संक्रमणबाट बच्नका लागि माक्सको प्रयोग गर्ने, भिडभाड भएको स्थानमा नजाने, बारम्बार साबुन पानीले हात धुने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, संक्रमणको लक्षण देखिए सेल्फ क्वारेन्टाइनमा बस्ने, सेनेटाइजरको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिएर नागरिक आफै जिम्मेवार बन्न सके कोरोनाको संक्रमणबाट बच्न सकिन्छ । यस्ता कार्यमा सरकारलाई मात्रै औला ठडयाउनुभन्दा हामी सवै समयमै सचेत र सजग हुन जरुरी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।