ताजा अपडेट »

के कोरोना भाइरसविरुद्ध लडाइँमा मानवताले नेतृत्व गुमाउँदै छ?

सोमबार, १० चैत्र २०७६, ०७ : ३५
16 Shares

कोरोनाभाइरसको महामारीमा धेरैले विश्वव्यापीकरणलाई दोष दिन्छन् र यस्तो बेला विश्वव्यापीकरणबाट टाढा रहनु नै सबभन्दा उत्तम उपाय मान्छन्- पर्खाल खडा गर्नु, यात्रा सीमित गर्नु, व्यापार घटाउनु। अल्पकालीन क्वारेन्टाइन यस्तो महामारी रोक्न आवश्यक हुन्छ, तर दीर्घकालीन क्वारेन्टाइनले अर्थतन्त्र धराशयी बनाउँछ र रोगको सङ्क्रमणबाट कुनै ठूलो सुरक्षा दिँदैन। त्यसैले यो महामारीमा साँच्चिकैको उपाय छुट्टिनु होइन, बरु समन्वय गर्नु हो।

विश्वव्यापीकरणपूर्व नै महामारीले लाखौँ मानिस मरेका छन्। १४ औँ शताब्दीमा कुनै हवाइजहाज वा पानीजहाज थिएन, तर ब्ल्याक डेथ एक दशकभन्दा अलि बढीमा पूर्वी एसिया र पश्चिम युरोपमा फैलियो। यसले ७.५ करोडदेखि २० करोड मानिसलाई मार्‍यो, युरेसियाको झन्डै एक-चौथाइ जनसङ्ख्या। इङ्गल्याण्डमा दशमध्ये चार व्यक्ति मरे, फ्लोरेन्स सहरमा एक लाख जनसङ्ख्याका आधा मरे। मार्च १५२० मा फ्रान्सिस्को डि इगुइया नामक एकजना व्यक्ति बिफर रोग बोकी मेक्सिको पुगे। त्यस बेला मध्य अमेरिकी क्षेत्रमा कुनै ट्रेन, बस र खच्चर पनि थिएन। तर डिसेम्बरसम्ममा बिफर महामारीको रूपमा फैलियो र मध्य अमेरिकाभर झण्डै एक-तिहाइ जनसङ्ख्या सखाप पारेको अनुमान गरिन्छ।प्रभावकारी क्वारेन्टाइनका लागि अन्तर्राष्ट्रिय समन्वय आवश्यक हुन्छ। क्वारेन्टाइन र लकडाउन महामारी फैलिनबाट बच्न महत्त्वपूर्ण हुन्, तर देशहरूले एक-अर्कालाई अविश्वास गर्छ र आफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने सोच्छ, तब सरकार यस्तो उपाय अवलम्बन गर्न डराउँछ।

१९१८ मा एक किसिमको फ्लु रोग केही महिनाभित्रै विश्वका कुनाकाप्चामा फैलियो। यसले झण्डै ५० करोड व्यक्तिलाई सङ्क्रमित बनायो, जम्मा मानव सङ्ख्याको एक-चौथाइ। उक्त फ्लुले भारतको ५ प्रतिशत जनसङ्ख्या, टाहिटिको १४ प्रतिशत, सामोआको २० प्रतिशत जनसङ्ख्या सखाप पार्‍यो। वर्षदिनमा उक्त महामारीले झण्डै १० करोडसम्म मान्छे मार्‍यो। यो सङ्ख्या प्रथम विश्वयुद्धको चार वर्षमा मृत्यु भएकोभन्दा धेरै सङ्ख्या हो। सन् १९१८ पछिको शताब्दीमा मानिसहरूले झन् यस्ता महामारी झेल्नुपर्‍यो, यसलाई बढ्दो जनसङ्ख्या र सहज यातायातले झन् खतरनाक बनायो। मध्यकालीन फ्लोरेन्सभन्दा टोकियो वा मेक्सिको सिटीजस्ता आधुनिक महानगरमा यस्ता भाइरसले झन् बढी प्रभाव पार्छ र अहिले सन् १९१८ भन्दा विश्वव्यापी यात्रा सञ्जाल झन् छिटो र छरितो छ। भाइरस तसर्थ पेरिसबाट टोकियो र मेक्सिको सिटीसम्म २४ घण्टाभित्रै फैलिन सक्छ। हामी सङ्क्रमणको नर्कमा बाँच्नु परिरहेको छ, जहाँ एकपछि अर्को महामारी आउँदै छ।

तर, आजसम्म आइपुग्दा महामारीका घटना र असर दुवै निकै न्यून भइसकेको छ। एड्स र इबोलाजस्ता ठुल्ठूला महामारीबीच पनि २१ औँ शताब्दीमा महामारीले पहिलेको ढुङ्गे युगको दाँजोमा निकै सानो अनुपातमा मानिस मारेको छ। किनकि यस्ता महामारीसँगको सबैभन्दा ठूलो रक्षा प्रणाली आइसोलेसन होइन, इन्फर्मेसन (सूचना) हो। महामारीसँगको युद्धमा मानिसले जित्दै छ, किनकि रोग र डाक्टरबीचको युद्धमा रोग केवल विस्तारमा निर्भर छ भने डाक्टरहरू त्यसको सूचनाको वैज्ञानिक विश्लेषणमा।

रोगविरुद्ध विजय

जब १४ औँ शताब्दीमा ब्ल्याक डेथ आयो, मानिसहरूलाई यो के हो, कसरी आयो र अब के गर्नेबारे केही पनि थाहा थिएन। आधुनिक युगभन्दा अघि मानिसहरू देवता रिसाएको, दानवहरूले यस्तो गरेको भन्थे, अनि ब्याक्टेरिया वा भाइरसको अस्तित्वबारे समेत उनीहरूलाई थाहा थिएन। मानिसहरू परीका कथामा विश्वास गर्थे तर एक थोपा पानीमा यस्ता कीटाणु अनगिन्ती हुन सक्छ भन्ने कल्पना पनि गर्दैनथे। त्यसैले जब ब्ल्याक डेथ वा विफर फैलियो, त्यस बेला झन् उनीहरू एकसाथ भएर प्रार्थन ागर्न थाले, अनि यसले केही फाइदा गरेन। उल्टो सामूहिक प्रार्थना सामूहिक सङ्क्रमण हुन पुग्यो।

तर विगतको शताब्दीमा वैज्ञानिक, डाक्टर र नर्सले विश्वभर सूचना जम्मा गरेका छन् र महामारी कसरी हुन्छ र यससँग कसरी जुध्न सकिन्छ भन्ने बुझेका छन्। उद्भवको सिद्धान्तले कसरी नयाँ रोग आउँछ र पुरानो रोग कडा हुँदै जान्छ भन्ने बताउँछ। जेनेटिक्सका कारण वैज्ञानिकहरूले भाइरसको विकासको ढाँचा पत्ता लगाएका छन्। मध्यकालीन मानिसहरूले ब्ल्याक डेथ के कारण भयो भन्ने कहिल्यै पत्ता लगाएनन्, तर नोभेल कोरोनाभाइरस, यसको जिन संरचना र यसको सङ्क्रमण परीक्षण विधि वैज्ञानिकहरूले दुई हप्तामा पत्ता लगाए।कोरोनाजस्तो भाइरस चमेरोजस्ता जनावरबाट सरेको हो। तर जब भाइरस मानिसमा सर्छ, सुरुमा यी मानव शरीरमा अनुकूलन हुन समय लाग्छ। तर मानिसमा यो विस्तार हुन थालेपछि कमै मात्र यसमा परिवर्तन आउँछ।

जब वैज्ञानिकहरू महामारीको कारण पत्ता लगाउँछन्, तब यसविरुद्ध लड्न सहज हुन्छ। भ्याक्सिन, एन्टिबायोटिक्स, सरसफाइ र अन्य विकसित मेडिकल पूर्वाधारले मानवलाई यस्ता अदृश्य सूक्ष्म कीटाणुको हमलामा सधैँ सजिलो नै बनाएको छ। सन् १९६७ मा विफर डेढ करोड मानिसमा फैलियो र त्यसमध्ये २० लाख मरे। तर अर्को दशकमै विश्वभर विफरविरुद्धको खोप अभियान सफल भयो। सन् १९७९ मा विश्व स्वास्थ्य संगठनले विफर पूर्णतः निवारण गरिएको घोषणा गर्दै मानवताको जितको शङ्खनाद गर्‍यो। सन् २०१९ मा विफरले कसैलाई पनि सङ्क्रमण गरेको वा मारेको छैन।

सीमा नियन्त्रण

अहिलेको कोरोनाभाइरस महामारीबारे इतिहासले हामीलाई के सिकाउँछ?

पहिलो, सीमा स्थायी रूपमा बन्द गर्दैमा तपाईँ आफूलाई पूर्णतः सुरक्षित राख्न सक्नुहुन्न। याद गर्नुहोस्, यस्तो महामारी मध्यकालमा पनि विश्वव्यापीकरणभन्दा धेरै अघि उत्तिकै फैलिएको थियो। त्यसैले सन् १३४८ मा इङ्गल्याण्डले गरेझैँ तपाईँले पूरै विश्वबाट अलग्गिएर बस्नुभए पनि यो पर्याप्त हुनेछैन। आफूलाई आइसोलेसनमा राखेर मध्यकालझैँ गरी बस्नु पनि पर्याप्त छैन। तपाईँ पूरै ढुङ्गे युगसम्म पुग्नुपर्छ, के तपाईँ त्यस्तो गर्न सक्नुहुन्छ?

दोस्रो- इतिहास साक्षी छ, साँच्चिकै सुरक्षा भरपर्दो सूचना आदानप्रदान गरेर र विश्वव्यापी एकताबाट आउँछ। जब एउटा देशमा महामारी फैलिन्छ, उसले आफ्नो सूचना इमानदारिताका साथ खुलाउनुपर्छ, कुनै आर्थिक दुर्गतिको डर नराखी। र, अर्को राष्ट्रले त्यस सूचनामाथि विश्वास गरी उल्टो फाइदा लिने होइन, यथासक्दो मद्दत गर्न सक्नुपर्छ। आज चीनले कोरोनाभाइरसबारे महत्त्वपूर्ण सिकाइ विश्वलाई सिकाउँदै छ, तर यहाँ उच्च स्तरको विश्वास र समन्वय आवश्यक छ।

प्रभावकारी क्वारेन्टाइनका लागि अन्तर्राष्ट्रिय समन्वय आवश्यक हुन्छ। क्वारेन्टाइन र लकडाउन महामारी फैलिनबाट बच्न महत्त्वपूर्ण हुन्, तर देशहरूले एक-अर्कालाई अविश्वास गर्छ र आफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने सोच्छ, तब सरकार यस्तो उपाय अवलम्बन गर्न डराउँछ। मानौँ तपाईँको देशमा १०० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखियो भने तपाईँ तत्कालै सबै सहर र प्रभावित क्षेत्र लडडाउन गर्नुहुन्छ? प्रायः तपाईँ अन्य देशबाट के अपेक्षा गर्नुहुन्छ भन्ने कुराले यसलाई निर्धारण गर्छ। यसरी पूरै सहर लकडाउन गर्दा अर्थतन्त्र डुब्न सक्छ। अरू देशले सहयोग गर्छ भन्ने लाग्छ भने मात्र तपाईँ यस्तो कडा उपाय अपनाउनुहुन्छ। नत्र अरू देशले वास्तै गर्दैन भन्ने लाग्छ भने ढिलो नभएसम्म तपाईँ यसलाई पन्छाउनुहुन्छ।

यस्तो महामारीताका सबैभन्दा महत्त्वपूर्ण कुरा हो- कुनै एउटा देशमा महामारी फैलिनु भनेको सम्पूर्ण मानव जातिमाथि खतरा हो, किनकि भाइरस उद्भव भइरहन्छ। कोरोनाजस्तो भाइरस चमेरोजस्ता जनावरबाट सरेको हो। तर जब भाइरस मानिसमा सर्छ, सुरुमा यी मानव शरीरमा अनुकूलन हुन समय लाग्छ। तर मानिसमा यो विस्तार हुन थालेपछि कमै मात्र यसमा परिवर्तन आउँछ। तीमध्ये प्रायः परिवर्तन हानिकारक हुँदैन, तर प्रत्येकपटक यो परिवर्तनले भाइरसलाई झन् धेरै सङ्क्रमणकारी र मानिसको प्रतिरक्षात्मक प्रणालीविरुद्ध सुदृढ बनाउँछ। प्रत्येक व्यक्तिले यस्ता भाइरस खर्बौँको सङ्ख्यामा बोकिरहेका हुन्छन् र प्रत्येक सङ्क्रमित व्यक्तिले यसलाई सार्ने खर्बौँ नयाँ अवसर दिन्छन्।महामारीविरुद्ध जित्न हामीले वैज्ञानिकमाथि विश्वास गर्नुपर्छ, नागरिकले सरकारी अधिकारीमाथि विश्वास गर्नुपर्छ र देशहरूले एक-अर्काको विश्वास गर्नुपर्छ।

यो कुनै अनुमान मात्र होइन। रिचार्ड प्रेस्टोनको पुस्तक ‘क्राइसिस इन द रेड जोन’ले सन् २०१४ मा इबोला प्रकोप फैलिँदा यस्तै विवरण दिएका छन्। इबोला पनि चमेरोबाट मानिसमा आएको हो। यसले मानिसलाई निकै बिरामी पार्छ, तर यो भाइरस अझै मानिसमा भन्दा चमेरोमा राम्रोसँग बाँच्थ्यो। इबोलाजस्तो असामान्य भाइरस ठूलो महामारीको रूपमा फैलियो, त्यो पनि पश्चिम अफ्रिकाको मकोना क्षेत्रको कुनै स्थानमा एकजना व्यक्तिमा एउटा इबोलाको भाइरसको एउटा जिनको एकपटकको परिवर्तनबाट। त्यो परिवर्तनले इबोलालाई मानिसको कोशाणुको कोलेस्ट्रोल ट्रान्स्पोर्टरमा जोड्यो, फलतः मानिसको कोशाणुले कोलेस्ट्रोलको साटो इबोला प्रत्येक कोशाणुमा पुर्‍याउँदै गयो। यो मकोना स्ट्रेन मानिसमा चार गुणा बढी सङ्क्रमणकारी देखियो।

यो पढ्दै गर्दा यस्तै परिवर्तन तेहरान वा मिलानमा कोही कोरोना सङ्क्रमित बिरामीको एउटा जिनमा भइरहेको होलो। यदि यस्तै भइरहेको छ भने यो इरानी वा इटालियनलाई मात्र होइन, तपाईँ-हामीलाई पनि खतरा हो। विश्वभर मानिसहरू कोरोनाभाइरसलाई यस्तो अवसर दिन चाहँदैनन्, त्यसैले हामीले प्रत्येक देशमा प्रत्येक नागरिकलाई सुरक्षित पार्नुपर्छ।

सन् १९७० मा मानवले विफर भाइरसमाथि विजय प्राप्त गर्‍यो, किनकि प्रत्येक देशमा यो खोप पुर्‍याइयो। यदि एउटा देश मात्र यसमा विफल भएको भए यसले सम्पूर्ण मानव जातिलाई खतरा हुन्थ्यो। जबसम्म विफरको भाइरस कतै बाँच्छ वा कतै विकसित हुन्छ, तबसम्म यो जहाँ पनि फैलिन सक्छ।

भाइरसविरुद्ध लडाइँमा मानवताले सीमालाई नजिकैबाट नियन्त्रण गर्नुपर्छ, तर दुई देशबीचको सीमा होइन, बरु भाइरसको विश्व र मानवको विश्वबीचको। पृथ्वीमा यस्ता अनगिन्ती भाइरस छन् र जिनमा परिवर्तनसँगै नयाँ-नयाँ भाइरस निरन्तर विकसित हुँदै छन्। भाइरसको विश्व र मानिसको विश्वको सीमाना प्रत्येक व्यक्तिको शरीरमा छ। यति पृथ्वीमा कतै पनि खतरनाक भाइरसले यो सीमा नाघ्छ भने यसले सम्पूर्ण मानव जातिलाई नै खतरा निम्त्याउँछ।

गएको शताब्दीदेखि मानिसहरूले आफ्नो सिमानालाई अहिलेसम्मकै सुदृढ बनाएका छन्। आधुनिक स्वास्थ्य सेवा प्रणालीले त्यो सिमानामा पर्खाल लगाएको छ अनि डाक्टर, नर्स र वैज्ञानिकहरूले त्यसको बचाउ गरिरहेका छन्। तर यस सिमानाको लामो क्षेत्र अझै खुल्ला नै छ। विश्वभर लाखौँ–करोडौँ मानिसहरू स्वास्थ्य सेवाबाट वञ्चित छन्। यो हामी सबैको लागि खतरा हो। हामी स्वास्थ्यलाई राष्ट्रिय रूपमा हेर्न अभ्यस्त छौँ, तर इरानी र चिनियाँले राम्रो स्वास्थ्य सुविधा पाउनु इजरायली र अमेरिकी पनि महामारीबाट जोगिनु हो। यो सामान्य सत्य सबैमाझ छर्लङ्ग छ, तर विश्वका केही महत्त्वपूर्ण नेतृत्व पक्षले यसलाई देखेका/सुनेका छैनन्।

नेतृत्वविहीन विश्व

आज मानवताको सबभन्दा ठूलो सङ्कट कोरोनाभाइरस मात्र होइन, मानव-मानवबीच विश्वासको सङ्कट पनि हो। महामारीविरुद्ध जित्न हामीले वैज्ञानिकमाथि विश्वास गर्नुपर्छ, नागरिकले सरकारी अधिकारीमाथि विश्वास गर्नुपर्छ र देशहरूले एक-अर्काको विश्वास गर्नुपर्छ। गत केही वर्षयता राजनीतिज्ञहरूले जानीजानी विज्ञानलाई, सरकारी अधिकारीलाई र अन्तर्राष्ट्रिय समन्वयमाथि अविश्वास गरेका छन्। फलतः हामी विश्वव्यापी समाधानतर्फ संयोजन र प्रायोजन गर्न सक्ने विश्व नेता नभएको यो सङ्कटबाट गुज्रिरहेको छौँ।यस्तो सङ्कटको घडीमा सबैभन्दा ठूलो सङ्घर्ष मानवतामै हो। यदि यो महामारीले मानिसबीच विखण्डन र अविश्वास निम्त्याउँछ भने यो भाइरसको सबैभन्दा ठूलो जित हुनेछ।

सन् २०१४ मा इबोला महामारीताका अमेरिकाले नेतृत्वदायी भूमिका खेलेको थियो। यस्तै भूमिका सन् २००८ मा आर्थिक मन्दीमा पनि यस्तै भूमिका खेलेको थियो। तर केहीयता अमेरिकाले विश्व नेतृत्वको भूमिकाबाट सन्न्यास लिएकोजस्तो देखिन्छ। अमेरिकी प्रशासनले विश्व स्वास्थ्य संगठनजस्ता अन्तर्राष्ट्रिय संस्थाप्रति सहयोग कटौती गरेको छ र प्रष्ट रूपमा जताएको छ- अमेरिकाको साँच्चिकैको मित्र कोही छैन, मात्र आफ्नो स्वार्थ छ। कोरोनाभाइरस सुरु हुँदा अमेरिका पर सर्‍यो र हालसम्म पनि नेतृत्वदायी भूमिका लिन सकेको छैन। यदि उसले नेतृत्व लिन चाहे पनि अमेरिकी प्रशासनप्रतिको विश्वास गुमिसकेको अवस्था छ वा थोरैले मात्र विश्वास गर्छन्। के तपाईँ त्यस्तो नेतृत्वको पछि लाग्नुहुन्छ जसको नारा नै आफू पहिला भन्ने छ?

अमेरिकाले छोडेको यो खाडल कसैले पूरा गरेको छैन। उल्टो- एक्लोपना र अविश्वासले आजको अन्तर्राष्ट्रिय प्रणालीलाई निर्देश गर्छ। विश्वास र विश्व एकताबिना कोरोनाभाइरस महामारी रोक्न सम्भव छैन र यस्ता महामारी अझ भविष्यमा कति देख्न बाँकी होला। तर प्रत्येक सङ्कट एउटा अवसर पनि हो, आशा गरौँ यो महामारीले मानवतालाई विश्व विखण्डनवादको खतरा पनि देखाउँला।

एउटा महत्त्वपूर्ण उदाहरण लिऔँ- यो महामारी युरोपेली युनियनका लागि आफ्नो पुरानो साख पुनः प्राप्त गर्ने सुनौलो अवसर हुन सक्छ। युनियनका धनी सदस्यहरूले आर्थिक, प्राविधिक र स्वास्थ्य सामग्रीको सहयोग पर्याप्त रूपमा अन्य सबैभन्दा नराम्रोसँग प्रभाव परेका सदस्यलाई दिने हो भने युरोपेली आदर्शको यसले कुनै भाषणभन्दा बढी बयान गर्ला। तर यदि प्रत्येक देशलाई आफै आफ्नो लागि गर्न छोडियो भने यो महामारीसँगै युनियनको पनि अन्त्य हुने निश्चित छ।

यस्तो सङ्कटको घडीमा सबैभन्दा ठूलो सङ्घर्ष मानवतामै हो। यदि यो महामारीले मानिसबीच विखण्डन र अविश्वास निम्त्याउँछ भने यो भाइरसको सबैभन्दा ठूलो जित हुनेछ। जब मानिस बाँडिन्छौँ, तब भाइरस डबलिन्छ। तर ठीक उल्टो, यदि यो महामारीले विश्वव्यापी समन्वय निम्त्याउँछ भने यो कोरोनाभाइरस तथा भविष्यका सबै सङ्क्रमणविरुद्ध मानवताको विजय हुनेछ। - टाइमबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।