ताजा अपडेट »

काेराेना संक्रमण : पछिल्लाे २४ घण्टा भित्र इटलीमा ८ सयकाे मृत्यु

आइतबार, ०९ चैत्र २०७६, ०६ : ५३
6 Shares

बुटवल । कोरोना भाइरस (काेभिड–१९) काे सङ्क्रमणका कारण इटलीमा एकैदिन झण्डै आठ सय मानिसको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा थप सात सय ९३ जनाको ज्यान गएर इटलीमा ज्यान गुमाउनेको सङ्ख्या चार हजार आठ सय २५ पुगेको बीबीसीले जनाएको छ । यस्तै एकैदिन ६ हजार पाँच सय ५७ जना नयाँ बिरामी थपिएर इटलीमा सङ्क्रमितको सङ्ख्या ५३ हजार पाँच सय ७८ पुगेको छ ।

सङ्क्रमणका कारण अवस्था खराब बन्दै गएपछि इटलीले लोम्बार्डी लगायतका क्षेत्रमा थप प्रतिबन्धहरु लगाएको छ । अत्यावश्यक आपूर्ति बाहेक सबै व्यवसाय बन्द गराएको छ भने मानिसलाई घरबाहिर निस्कन पनि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ । अस्पताल, सडक र रेलमा काम गर्ने बाहेक निर्माण लगायतका सबै काम रोकिएको छ भने खुला बजारहरु पूर्णरुपमा बन्द गरिएका छन् ।

यस्तै स्पेनमा शनिबार एकैदिन दुई सय ८५ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ७८ पुगेको छ । इरानमा पनि एकैदिन एक सय २३ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा एक सय १२ जना, बेलायतमा ५६ र अमेरिकामा ६८ जनाले ज्यान गुमाएका छन् । विश्वका एक सय ८८ देश र एउटा पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै तीन लाख पाँच हजारमा सङ्क्रमण भएको छ ।

सङ्क्रमितमध्ये ९४ हजार सात सय ९३ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप एक हजार ६ सय १४ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको सङ्ख्या १३ हजार २५ पुगेकाे छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।