ताजा अपडेट »

एटीसीकाे निर्देशन विपरित सिल्क एयरकाे जहाज नेपालमा अवतरण

आइतबार, ०९ चैत्र २०७६, ०६ : ३३
10 Shares

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशनविपरीत सिल्क एयरको जहाज शनिबार अवतरण गरेको छ । अस्ट्रेलियाबाट सिंगापुर हुँदै नेपालका लागि उडेको सिल्क एयर बंगलादेशको आकाशमा आइपुग्दा एटीसीले कोरोनाको सम्भावित प्रकोपका कारण लिइएउको पछिल्लो निर्णयबारे जानकारी गराउँदै जहाज फिर्ता हुन चालक दलका सदस्यलाई आग्रह गरेको थियो ।

तर इन्धन भर्नुपर्ने कारण देखाएर जहाज नेपालतर्फ आयो । त्यसको केही समयपछि साझ ८ बजेर ३० मिनेटमा विमानस्थलमा अवतरण गर्‍यो । तेल भरेपछि जहाज फिर्ता हुन पुन: एटीसीले निर्देशन दियो । तर जहाजभित्रैबाट नेपाली यात्रुहरुले होहल्ला र नाराबाजी गरेपछि चालकले ‘यस्तो वातावरणमा म जहाज उडाउन सक्तिनँ’ भन्दै एटीसीलाई सन्देश पठाए । एटीसीले त्यसपछि जहाजमा कुन देशबाट कति नागरिक आएको भन्नेबारे नागरिक उड्ययन प्राधिकरणका अधिकारी र अध्यागमनसँग सल्लाह गर्‍यो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्य र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितको टोली विमानस्थल पुग्यो ।

आपत्‌कालीन बैठक नै बसेर विमानभित्रका यात्रुबारे जानकारी लिएपछि त्यहाँ भएका सबेलाई ओराल्ने निर्णय भयो । त्यसपछि कागजात र राहदानी प्रमाणीकरण गर्दा ९७ जना नेपाली र १ जना अस्ट्रेलियन नागरिक जहाजमा भएको भेटियो । नेदरल्याण्ड्सबाट आएका एकजना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाउने र अस्ट्रेलियन नागरिकलाई कोरोनामूक्त स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा होटलमै १४ दिन बस्ने गरी तथा बाँकी नेपालीलाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी छाड्ने निर्णय भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।