ताजा अपडेट »

कोरोना सतर्कता : नेपाल प्रवेश गर्न लागेका भारतीयलाई फिर्ता

शनिबार, ०८ चैत्र २०७६, २१ : २७


सुमन के.सी.
दाङ्ग । भारतबाट नेपालगञ्ज हुँदै तुलसीपुर आउन लागेका २६ जना भारतीय नागरिकलाई फिर्ता गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जाँचका लागि स्थापना गरिएको हेल्थडेस्क तुलसीपुर १३ दमारगाउँबाट उनीहरुलाई फिर्ता पठाईएको हो । शनिबार नेपालगञ्जबाट तुलसीपुर तर्फ आउँदै गरेको बसमा सवार उनीहरुलाई सोधपुछ गर्दा भारत हुँदै नेपाल आएको खुलेपछि फिर्ता पठाईएको हो । उनीहरुले बिजौरीका विभिन्न ईट्टाभट्टामा काम गर्नका लागि तुलसीपुर आएको बताएका छन् । तर उनीहरुले आफुहरुको घर नेपालगञ्ज भने पनि स्थायी ठेगाना खुलेको छैन । उनीहरु शनिबार भारतको नानपारादेखि नेपाल आएको खुलेको हो ।

हेल्थडेस्कमा जाँच तथा सोधपुछ गर्ने क्रममा उनीहरुलाई फिर्ता पठाईएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धनका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए । कोरोना भाईरस रोकथाम तथा उच्च सर्तकताका लागि तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा हेल्थडेस्क स्थापना गरी जाँच गर्न सुरु गरेको छ । विशेषगरी भारतको नाकासँग जोडिएको जिल्ला भएकाले नेपालगञ्जदेखि तुलसीपुर आउने यात्रुहरुका लागि दमारगाउँ र हवाई यात्रा प्रयोग गर्नेहरुलाई लक्षित गदै टरिगाउँ एयरपोर्टमा हेल्थडेस्क स्थापना गरिएको छ । भारतमा समेत कोरोनाको संक्रमण देखिएको हुँदा उनीहरुलाई हाल तुलसीपुर आउन रोक लगाईएको हो । हालसम्म दुईवटा हेल्थडेस्कमा गरी झन्डै ११ हजार बढि नागरिकमा जाँच गरिएको छ । तर हालसम्म पनि कसैमा कोरोना भाईरस संकास्पद फेला नपरेको जनस्वास्थ्य निरीक्षक केसीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।