May 16, 2022
भैरहवा । कोरोना भाइरसका कारण नेपाल-भारत सीमा नाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकता भन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ । नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न थालेपछि नेपाल आयल निगम भलवारी डिपोले इन्धनको अनावश्यक स्टक नगर्न आग्रह गरेको छ । अहिलेसम्म भारतबाट निर्वाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको र बजारमा पेट्रोलियम पदार्थको कुनै खालको अभाव नरहेको भन्दै निगमले हल्लाका पछाडि लागेर भण्डारण नगर्न आग्रह गरेको हो ।
निरन्तर रुपमा पहिलेकै अवस्थामा इन्धन आयात भइरहेको निगमका भलवारी डिपोका प्रमुख ई. सुरज शाहले जानकारी दिए । नाकाबन्दीका बेला सबै नाका बन्द हँुदा खुल्ला रहेको भैरहवा नाका (बेलहिया) बाट मात्रै आयात भएको इन्धन मुलुकभरीका लागि आपूर्ति व्यवस्था मिलाइएको थियो । अहिले पनि यो नाकाबाट आयात हुने पेट्रोलियम पदार्थमा कुनै कमी नआएको शाहले जानकारी दिए । ‘विगतमा जुन परिमाणमा इन्धन आइरहेको थियो, त्यही परिमाणमा अहिले पनि आइरहेको छ ।’–उनले भने– ‘ट्यांकरमा इन्धन लोड भइरहेको छ, हालसम्म भारतबाट इन्धन ढुवानीका लागि केही समस्या आएको छैन ।’
डिपो प्रमुख शाहका अनुसार भारतबाट शुक्रबार दुई लाख ४० लिटर डिजेल र सात लाख ५२ हजार लिटर पेट्रोल र ३२ वटा एलपीजी ग्याँस बुलेट आएको छ । भलवारी डिपो प्रमुख शाहका अनुसार भारतको बैतालपुर, मुगलसराय, केही मात्रामा गोयन्ड र अमलेखगंजको पाइपलाइनबाट समेत डिजेल, पेट्रोल आयात भइरहेको छ । भारतबाट औसतमा डिजेल दैनिक ४० ट्यांकर र पेट्रोल १५ ट्यांकर आयात भइरहेको छ । काठमाडांैमा पनि पेट्रोलियम पदार्थको अभाव हुन नदिनका लागि दैनिक जसो ८० हजार लिटर पेट्रोल काठमाडौ पठाउने गरेको शाहले बताए । निगमको भलवारी डिपोमा एक लाख १३ हजार लिटर पेट्रोल र २६ लाख लिटर डिजेल मौजदात रहेको प्रमुख शाहले बताए ।
डिपो बाहिर पनि १४ सय ८० केएल डिजेल र चार सय ८० केएल पेट्रोल मौजदात रहेको निगमले जनाएको छ । डिपोको क्षमता डिजेलमा ३० लाख लिटर र पेट्रोलमा एक लाख ४० हजार लिटर रहेको छ । ‘भारतबाट ट्यांकरमा आइरहेको इन्धन ट्यांकरबाटै बिक्री गरिरहेका छौँ’– उनले भने । मौजदात गरिएको इन्धनबाट बिक्री गर्नु नपरेको पनि शाहले बताए । ‘अहिले पनि निर्वाध रुपमा पेट्रोलियम पदार्थको लोड भइरहेको छ’–उनले भने ।
कोरोनाको त्रासले सर्वसाधरणको माग बढ्दा व्यवसायीहरुले बढी मात्रामा माग गरेको उनले बताए । उनले इन्धनको विषयमा अफवाहको पछाडि नलाग्न र आवश्यकता भन्दा बढी इन्धन भण्डारण नगर्न सर्वसाधरण सबैलाई आग्रह गरे । ‘पेट्रोल, डिजेल दजस्तो अत्यावश्यक वस्तु सर्वसाधारणले आवश्यकता भन्दा बढी भण्डारण गर्दा अनावश्यक रुपमा अभाव देखिन सक्छ’–उनले भने ।
भारतबाट एलपिजी ग्याँसका बुलेट पनि निरन्तर रुपमा आइरहेकाले ग्यासको पनि अभाव नहुने भलवारी डिपोले जनाएको छ । भैरहवा नाकाबाट आयात हुने डिजेल, पेट्रोल भलवारी डिपोले रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, बाग्लुङ, स्याङजाका (केही भाग), पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा पठाउने गर्छ । यी बाहेक अति आवश्यक परेको खण्डमा काठमाडौँ, पोखरा लगायत अन्य जिल्लामा पनि पठाउने गरिएको छ । -गोरखापत्र अनलाइन
प्रतिकृया दिनुहोस्