ताजा अपडेट »

कोरोनाको कहर : अस्पतालनै सुरक्षित छैनन्

शनिबार, ०८ चैत्र २०७६, १६ : ५२
14 Shares

डाक्टरबाटै उपेक्षित हुन्छन् कोरोना सम्भावित बिरामी

बुटवल । दैनिक हजार बढी बिरामी आउने लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फ रहेको आकस्मिक कक्षमा सेवाग्राहीहरुको ठेलमेल छ । उपचारका लागि आउने बिरामीहरुसँगै तिनका आफन्तहरुका कारण चौबिसै घण्टा भिड-भाड रहने आकस्मिक कक्षमा स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरुको स्वास्थ्य सुरक्षाका लागि भने कुनै व्यवस्था गरिएको छैन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्नका लागि चूनौती बनिरहेका बेला अस्पतालमा सामान्यतया सेनिटाइजर वा साबुन पानीले हात धुने व्यवस्था समेत नहुँदा त्यहाँको अस्तव्यस्त अवस्था सहजै अनुमान लगाउन सकिन्छ । आकस्मिक कक्षको मात्र होइन विभिन्न वार्डमा रहेका बिरामी कुरुवा तथा बिरामी भेट्न आउने तिनका आफन्तहरुका लागि समेत अनिवार्य हात धुनुपर्ने वा सेनिटाइजर प्रयोग गर्नुपर्ने कुनै नियम छैन ।

उपचारमा खटिएका चिकित्सकहरुले सकेसम्म बिरामीहरुलाई नछोएर नै सेवा दिन प्रयास गर्छन् । सामान्य ज्वरो परिक्षणका लागि आउने बिरामीहरुलाई समेत टाढैबाट थर्मोमिटर काखीमा च्याप्न लगाएको दृश्यले सहजै अनुमान गर्न सकिन्छ चिकित्सकहरु सबैभन्दा बढी कोरोना संक्रमणको त्रासमा छन् । अस्पतालमा खटिएका एक स्वास्थ्यकर्मीले गुनासो पोख्दै भने, ‘हामीलाई न सेनिटाइजर छ, न मास्क छ, न त कुनै स्वास्थ्य सुरक्षाका सामग्रीहरु नै छन् । डराउँदै भएपनि बिरामीको उपचारमा खटिनु परेको छ ।’ सामान्य सेनिटाइजर समेत उपलब्ध गराउन नसकेर अस्पतालले आफूहरुको स्वास्थ्यमा खेलवाड गरेको ति चिकित्सकको गुनासो छ ।

अस्पतालकै अर्का स्वास्थ्यकर्मी माथोर सिंह कार्कीले आफूलाई असुरक्षित महशुस गर्दै भने ‘यदि यो अस्पतालमा आएका बिरामीमा कोरोना संक्रमण पोजिटिभ भेटियो भने अस्पतालमा एक जना पनि नरहने अवस्था आउँछ ।’ सेवाग्राही तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि अस्पताल प्रशासनलाई बारम्बार आग्रह गर्दा पनि वास्ता नगरिएको बताउँदै उनले यस्तै अवस्था रह्यो भने स्वास्थ्यकर्मीहरु घरमै बस्ने अवस्था आउन सक्ने बताए । अस्पतालमा ८ जना विशेषज्ञ सहित करिव ७० जना चिकित्सकहरु रहेका छन् ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दा र यसको उच्च जोखिम हुुँदा पनि प्रदेश ५ को प्रादेशिक अस्पताल मात्र होइन अन्य सामुदायिक निजी अस्पतालहरुमा समेत सामान्यतया सेनिटराइज र साबुनले हात धुने सहज व्यवस्था गरिएको छैन । संक्रमण रोकथामका लागि सरकारको आग्रहमै विभिन्न सरकारी तथा निजी कार्यालयहरुमा अहिले सेनिटाइजरले हात धुने व्यवस्था गरिएको पाइन्छ । तर, संवेदनशील मानिएको अस्पतालहरुमा नै यो विधि नअपनाउँदा अस्पताल प्रशासनको हेलचेक्राइ हो भन्ने अनुमान लगाउन गाह्रो हुँदैन । यस क्षेत्रमै नाम कमाएका अस्पतालहरु तिलोत्तमाको क्रिमशन अस्पताल, बुटवलको चौराह अस्पताल, बुटवल हस्पिटल प्रा.लि., आम्दा अस्पताल, भैरहवा मेडिकल कलेज, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, सिद्धबाबा अस्पताल तथा अन्य धेरैजसो अस्पतालहरुमा यो अवस्था रहेको हो । सेवाग्राहीहरुका लागि सेनिटाइजरको व्यवस्था गरिएका केही अस्पतालहरुमा पनि सर्वसाधरणलाई सहजै उपलब्ध हुने गरी व्यवस्था गरिएका छैनन् भने अनिवार्य प्रयोग गर्नुपर्ने नियम पनि राखिएको छैन ।

सेनिटाइजर माग्दा स्वास्थ्यकर्मी भन्छन् ‘हात धुन ट्वाइलेटमा साबुन पानी छ ।’

स्थलगत अनुगमनका क्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक कर्मचारीले अस्पतालमा सेनिटाइजरको व्यवस्था छैन भन्ने प्रश्न गर्दा, ट्वाइलेट तिर देखाउँदै भने ‘उ त्यहाँ हात धुनका लागि साबुन राखिएको छ । गएर धुन सक्नु हुन्छ ।’ अस्पताल प्रशासनले तपाइँहरुको स्वास्थ्यका लागि के सुरक्षा नीति लिएको छ भन्ने कुरामा उनि अनविज्ञता प्रस्तुत गर्दै, कोरोना संक्रमणपछि हुन सक्ने सम्भावित दुर्घटनाका बारेमा तल्लो तहका स्वास्थ्यकर्मीहरुसँग कुनै छलफल तथा प्रशिक्षणको व्यवस्था नगरिएको गुनासो गरे ।

सिद्धबाबा अस्पतालका एक स्वाथ्यकर्मीले आफ्नो क्याविनबाट सेनिटाइजर निकाल्दै सेवाग्राहीले मागेको अवस्थामा मात्रै दिने गरिएको बताए । अस्पतालको प्रवेशद्वारमै राखेर अनिवार्य प्रयोग गर्नुपर्ने चिजलाई स्वास्थ्यकर्मीको क्याविनमा राख्नुले कति व्यवहारिक र सर्वसाधारण्को पहुँचमा हुन सक्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । कोरोना संक्रमणकाबाट बच्नका लागि स्वास्थ्यकर्मीहरुको सुरक्षाका बारेमा जिज्ञासा राख्दा उनले अस्पतालमा त्यस्तो कुनै तयारी नगरिएको अनुभव सुनाए । आफूले प्रयोग गरेको मास्क देखाउँदै उनले अस्पतालले गुणस्तरीय मास्क समेत नदिएको बताउँदै आफैले किन्नु परेको गुनासो व्यक्त गरे ।

अस्पतालको मूख्य गेट अगाडी नै सेनिटाइजर राखिएको बुटवलको तिनाउ इन्टरनेश्नल हस्पिटल प्रा.लि. का स्वास्थ्यकर्मीहरुले पनि कोरोना संक्रमणको आशंका गरिएका विरामी अस्पतालमा आए भने के गर्नु हुन्छ भन्ने प्रश्नमा अल्मलिए । स्वास्थ्यकर्मीको सुरक्षा तथा महामारी फैलिएको अवस्थामा अपनाउनु पर्ने विधिका बारेमा अस्पताल प्रशासनले तल्लो तहका कुनै पनि स्वास्थ्यकर्मीसँग छलफल नगरिएको गुनासो त्यहाँ एक स्वास्थयकर्मीले व्यक्त गरे । तत्कालका लागि आवश्यक पर्ने मास्क समेत प्रयाप्त उपलब्ध नभएको ति स्वास्थ्यकर्मीको गुनासो थियो ।

भारतीय सिमा नजिकको शहर बुटवलमा कोरोना संक्रमित आशंका गरिएका बिरामीहरुको संख्या बढी रहेको बेला अस्पतालको गैर–जिम्मेवारी र लापरवाहीले थप समस्या सिर्जना हुने देखिन्छ । लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना संक्रमण सम्बन्धि फोकल पर्सन डा. सुदर्शन थापाले कमजोरी स्विकार गर्दै २/४ दिनमा सबै व्यवस्था गर्ने जनाए । प्रवेश गेटमा हात धुने व्यवस्था मात्र होइन कोरोनाको आशंका गरिएका बिरामीहरुको उपचारका लागि छुट्टै स्वास्थ्यकर्मीको व्यवस्थ हुन नसक्दा थप संकट निम्तिन सक्ने देखिन्छ । फोकल पर्सन डा. थापाले स्वास्थ्य सतर्कता अपनाइएको कुरालाई जोड दिए पनि अन्य बिरामीहरुलाई उपचारका लागि खटिने चिकित्सकहरुबाट नै कोरोना संक्रमणको आशंका गरिएका विरामीहरुको उपचारमा संलग्न हुने गरेको बताए । संक्रमण आशंका गरिएका विरामीको उपचारमा खटिने चिकित्सकहरुले आवश्यक सम्पूर्ण सुरक्षा सामाग्री लगाएर खटिनेहुँदा समस्या नहुने उनले उल्लेख गरे ।

प्रदेश ५ मा हालसम्म १० जना कोरोना संक्रमणको आशंका गरिएका विरामीहरु फेला परेकामा ९ जनाको नेगेटिभ रिपोर्ट आएको र एक जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश ५, अस्पताल विकास महाशाखाका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले जानकारी गराए । नेपाल–भारत सिमा नाका क्षेत्रमा संक्रमण रोकथामका लागि १७ वटा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य परीक्षणको काम जारी रहेको उनले बताए । बिहीबार साँझसम्म ४२ हजार जनाको स्वास्थ्य परीक्षण गरिएको जानकारी गराउँदै उनले शंकास्पद बिरामीहरुका लागि प्रदेशका १९वटा सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुमा १ सय १४ वटा आइसोलेशन बेड तयार पारिएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।