ताजा अपडेट »

८५ प्रतिशत विषादी तरकारीमा प्रयोग

सोमबार, १३ फागुन २०७५, ०९ : १५
8 Shares

फागुन १३,

काठमाडौँ । आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । त्यही तरकारी हरेक छाक नेपालीका भान्सामा पाक्छ । सरकारले अर्ग्रानिक खेती प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । तर बालीनालीमा विषादी प्रयोगदर बढ्दै गएको छ ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार वार्षिक ७५ करोड रकम विषादी खरिदमा बाहिरिन्छ । वार्षिक ६ सय ३५ टन कीटनाशक विषादी आयात हुने गरेको छ । विषादी प्रयोगको अवस्थाबारे प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको प्रतिवेदनमा उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रले दुई वर्ष लगाएर अध्ययन गरेको थियो ।

अध्ययन अनुसार बालीनालीमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी प्रयोग हुन्छ । तरकारीमा प्रतिहेक्टर १६ सय ५ ग्राम विषादी प्रयोग हुन्छ । कुल विषादीको ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए । सरकारले पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता भन्ने नारासहित फागुन ६ देखि आइतबारसम्म विषादी प्रयोगमुक्त सप्ताह विभिन्न कार्यक्रम गरी मनाएको छ । कृषि उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य गर्नुपर्ने भन्दै साताव्यापी कार्यक्रमलाई देशभर मनाउँदै आइतबार समापन गरेको छ ।

विषादी प्रयोग गर्नेलाई दण्डसजायको व्यवस्था छैन । तर केन्द्रले विषादी व्यवस्थापनमा अनुगमन, सचेतीकरण, दर्ता प्रक्रिया र बिक्रीवितरणमा नियमन गर्दै आएको सुवेदीले बताए । सर्वोच्च अदालतले तरकारीमा जथाभावी कीटनाशक औषधि प्रयोग गर्ने तथा त्यस्तो तरकारी उपभोक्ताकहाँ पुर्‍याउने कार्यमा तत्काल रोक लगाउन ०७४ माघ १६ गते परमादेश जारी गरेको थियो । तर कार्यान्वयन भएको छैन ।-अन्नपूर्णबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।