ताजा अपडेट »

राष्ट्रपति भवनमाथि विमान उडाउन नपाइने

सोमबार, १३ फागुन २०७५, ०९ : १०
4 Shares

फागुन १३,

काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरक्षा संवेदनशीलतालाई विचार गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट बाहिरिने र भित्रिने हेलिकोप्टर उडानका लागि ‘हेली लेन’ कार्यान्वयनमा ल्याएको छ ।


‘हेली लेन’ कार्यान्वयनसँगै राष्ट्रपति भवन र भक्तपुर गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलमाथिबाट हेलिकोप्टर उडान गर्न पाइने छैन भने तोकिएको उचाईमा मात्र हवाइजहाजको उडान गर्न पाइने छ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै यी दुई स्थानलाई नयाँ ‘हेली लेन’ भित्र समावेश गरिएको छैन । 


नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले राष्ट्रपति भवन र भक्तपुरको गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारणको माथिबाट हेलिकोप्टर उडान नगर्ने गरी ‘हेली लेन’ कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । सरकारले राष्ट्रपति भवन र गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थललाई सुरक्षा दृष्टिकोणले काठमाडौँ उपत्यकाको प्रमुख संवेदनशील स्थलको रूपमा सूचीकृत गरेको छ ।


उहाँले ‘हेली लेन’ को कार्यान्वयनसँगै राष्ट्रपति कार्यालय, शीतल निवासभन्दा एकहजार फिट माथि हवाईजहाज उडाउन पाइने, तर हेलिकोप्टर कुनै पनि उचाईमा उडान गर्न नपाइने जानकारी दिनुभयो । त्यसैगरी, गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलभन्दा एक हजार पाँचसय फिटमाथि हवाईजहाज उडाउन गर्न पाइन्छ भने हेलिकोप्टर कुनै पनि उचाईमा उडान गर्न पाइने छैन ।” 
राष्ट्रपति कार्यालय र नेपाली सेनाको हातहतियार भण्डारण स्थल बाहेकका हवाइ रुटलाई यथावत राखिएको बताउँदै उहाँले काठमाडौंबाट बाहिरिने हेलिकोप्टरका लागि उपत्यकाको पूर्वमा साँगा र नालामाथिको दुईवटा रुट थप गरिएको जानकारी समेत दिनुभयो । उहाँले भन्नुभयो, “थप गरिएका यी दुई हवाई रुटलाई केही समयका लागि परीक्षणको रुपमा राखिने छ ।” ‘हेली लेन’ कार्यान्वयनका लागि हवाई उडान कम्पनीलाई प्राधिकरणको तर्फबाट परिपत्र भइसकेको जानकारी समेत उहाँले दिनुभयो ।


नयाँ ‘हेली लेन’अनुसार हेलिकोप्टरले बढीमा छ हजार फिटसम्मको उचाईमा काठमाडौँ उपत्यकामा उडान भर्न सक्ने प्राधिकरणले जनाएको छ । यसअघिको ‘हेली लेन’मा चार हजार आठसय फिटको उचाईमा मात्र हेलिकोप्टर उडान गर्न मिल्ने व्यवस्था गरिएको छ । 


त्यसैगरी, यसअघिको ‘हेली लेन’मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका हेलिकोप्टरका लागि पूर्वतर्फ चाँगुनारायणको डाँडा, सुन्दरीजल र साँखु तथा पश्चिमतर्फ थानकोट, सीतापाइला, मनमैँजु र टोखाको रुट निर्धारण गरिएको थियो । - भउचप्रसाद यादव /गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।