ताजा अपडेट »

समृद्ध नेपालको सपना

आइतबार, १२ फागुन २०७५, २२ : ४९
10 Shares

–दलबहादुर गुरुङ



नेपाल सरकारले वर्तमानमा एउटा दूरगामी नारा तय गरेको छ । त्यो हो समृद्ध नेपाल,सुखी नेपाली । हुन त यो सरकारले आफ्नै कार्यकालमा सो नारालाई साकार पार्ने दृढ संकल्प समेत लिएको हुनुपर्छ । समृद्ध नेपालको निर्माण कसरी हुन सक्छ र नेपालीहरु कसरी सुखी हुन सक्छन् ? यो गम्भीर चुनौतीको विषय समेत हो । चुनौतीका पहाडहरुलाई ढाल्न दुईतिहाई सरकारले सक्ला वा नसक्ला हेर्न अझ्ै चारवर्षसम्म कुर्नै पर्ने होला ।


प्रतिव्यक्ति आय बढाउने,चिल्ला बाटाघाटा बनाउने,गगनचुम्बी महल ठडाउने कुराले समृद्ध नेपाल बन्न सक्ला ? यी त समृद्ध नेपालको सूचकहरु मात्र हुन् । सपना पूरा गर्नका लागि कल्पना आवश्यक हुँदो रहेछ । कल्पनाशील क्षमताले नै सपना पूरा गर्न सक्दो रहेछ । समृद्ध नेपालको अभियानमा सरिक हुन र यसलाई साकार बनाउनका निम्ति आम नागरिकका जीविकोपार्जन पहिलो प्राथमिकतामा पर्दोरहेछ । प्राणका लागि गास,बास,कपास र सहवास न्यूनतम सर्तहरु हुन् । पहिचानको यो युगमा नागरिकहरुले शान्ति सुरक्षाको प्रश्न खोजेभने पक्कै पनि समृद्ध नेपालको कोरा सपना थाङ्नामा सुत्ने छ ।


नागरिकले दैनिक रुपमा आफूलाई र आफ्नो वरिपरिको समूहलाई अग्रसर गराउन खोज्दछ । अर्थात् आफ्नो वृत्ति विकासका निम्ति चलायमान अर्थात् गतिशील हुने गर्दछ । गतिशीलताले समृद्धिको मापन गर्न सजिलो हुने गर्दछ । सामाजिक प्राणीका रुपमा रहेको नागरिकले समाजमा सामाजिक दायित्व र सद्भाव खोजि रहेको हुन्छ । नागरिकले परिवारमा आफूलाई अब्बल ठानेको हुन्छ र समाजलाई केही दिन र धेरै लिन उत्सुक हुने गर्छ ।


नागरिकमा काम,नाम,दाम र मामका सवाल प्रशस्तै हुने गर्छन् । त्यसका निम्ति समयमा मनोरञ्जन समेत आवश्यक हुन आउँछ । समृद्ध देश हुनका लागि देशमा हरियाली पार्कहरु,खेलमैदानहरु,आराम गर्ने स्थलहरु,नाट्यशालाहरु,नृत्यशाला र दौतरी क्लवहरु र मनोरञ्जनका साधनहरुको समुचित व्यवस्थापन हुन सकेमा नागरिकलाई मनोरञ्जन प्राप्त हुन सक्छन् ।
समाजमा रहेका हामीहरुमा हाम्रो सुरक्षाको प्रवन्ध हुन सकेमा पक्कै पनि समृद्ध नेपालको छनक प्राप्त हुने छन् । घरदैलामा धारा,स्वास्थ्य सेवा,शिक्षादीक्षा,हुलाक,बैंक,वित्तीय संघसंस्थाहरु,विजुली,टेलिफोन,इन्टरनेट,बजारको व्यवस्था भएमा पक्कै पनि नेपालीहरुले सबै क्षेत्र र औकातमा फड्को मार्नेछ ।


विकासको दीगोपना,समाज परिवर्तनका लागि सकारात्मक तर पृथक सोच,एक आपसमा अन्तर सम्बन्ध,देशी तथा विदेशी सम्बन्ध स्थापना अनि राज्यका नीति नियम र वैयक्तिक स्वतन्त्रताको छायाँ हामीबीच देख्न सकिएमा पक्कै पनि समृद्ध नेपालको कोरा कल्पनाले साकार रुप लिन सक्ने छ ।
देशका तीनै तहका सरकार,सरकारका कर्मचारीहरु,जनप्रतिनिधिहरुका काम र उनीहरुका आर्थिक गतिविधिहरु पारदर्शी हुनु पर्छ । साथै आवश्यक र अपरिहार्य गोपनियताले पनि समृद्ध नेपालको गरिमालाई आड भरोसा दिन सक्छ ।


हामी नेपालीहरु सुखी हुनका लागि कुनै औषधी खानुपर्दैन । सुखी हुनका लागि समृद्ध नेपालको परिकल्पनाले मूर्त रुप लिन सकेमा,नेपालीहरुका बीच भाइचारा र भगिनी सम्बन्ध स्थापना गर्न सकेमा र हामीले गर्न सक्छौं भन्ने दृढ संकल्प र इच्छा शक्ति भएमा पक्कै पनि नेपाल समृद्ध बन्न सक्ने छ र नेपालीहरु सुखी बन्न सक्ने छन्


समृद्ध कुनै अमूर्त कुरा हुँदै होइन । समृद्ध नेपाल हाम्रै आँखाले देख्न पाउन सकिन्छ,हामीले नै अनुभव र अनुभूत गर्न सकिने छ । हामीले आफैलाई सुखी भएको अनुभव गर्न सक्ने छौं तर हामी नेपालीहरुका साझा आवश्यकताहरु पूरा गर्नका लागि दूरगामी योजना,कार्यान्वयनमुखी व्यवहार र दृढ इच्छाशक्ति नै मुख्य तत्वहरु हुन् ।


जव हामी आर्थिक,सामाजिक,राजनीतिक,भौतिक,साँस्कृतिक,नैतिक र मनोवैज्ञानिक रुपले हामी सक्षम हुने अभ्यास गर्नेछौं तव भेट्ने छौं समृद्ध नेपाल र त्यीनै तत्वहरुको समुचित प्रयोग र कार्यान्वयनले बन्ने छौं सुखी नेपाली । त्यतिबेला हामी नेपालीहरुको सपना पूरा हुने छ । हामी सबै नेपालीहरु त्यही नाराको साकार रुप खोजि रहेका छौं वर्तमानमा । धैर्यताले नै धन्यवाद् दिने भएको हुँदा हामी सबै नेपाललाई समृद्ध बनेको हेर्न र अनुभूत गर्न तयार छौं । सुखी त समृद्धिले नै बनाउने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।